Monday, November 5, 2012

वर्तमान अवस्थामा बाल अधिकारप्रति सरकारको दायित्व

र्तमान अवस्थामा बाल अधिकारप्रति सरकारको उत्तरदायित्व सुन्दर, शान्त र विसालको उपमा गँँसिएको गौतम बुद्धको जन्मथलो र भगवान पशुपतिनाथद्वारा रक्षित मानिएको नेपालमा विगत १०–११ वर्षसम्म चलेको आन्तरिक द्वन्दले राष्ट्रलाई वर्षै पछाडि धकेलिदिएको छ । विविध जातजाति, धर्मसंस्कृति तथा सम्प्रदायका मानिसहरु भौगोलिक रुपमा विखण्डित परिवेशमा अवस्थित यस मुलुकभित्र बसोबास गर्दछन् । आर्थिक एवं सामाजिक रुपमा विभेदपूर्ण तरिकाले छरिएका राष्ट्र भित्रका मानवहरुले समानता, मौलिक हक, अधिकार र स्वतन्त्रताको चाहना गर्नु स्वभाविकै ठहर्छ । यसैको अभावमा चर्केको आन्तरिक द्वन्द्वमा सबैभन्दा बढी प्रभावित रहेको बालबालिकाहरुको अवस्था सम्बन्धमा द्वन्दरत पक्ष र सरकारी पक्षबाट उचित ध्यान दिइएको पाइदैँन, जसका कारण बालबालिकाहरु मारिनु, बेचिनु, देह व्यापर गर्न वाध्य हुनु र बालश्रममा लाग्नु परेको तितो यथार्थ छर्लङ्ग छ ।
नेपाल अधिराज्यको पछिल्लो जनगणना वर्ष २०५८ का अनुसार कुल संख्याको ४० प्रतिशत भन्दा बढी संख्या १६ वर्ष मुनिका बालबालिकाले ओगटेको पाइन्छ । नेपालमा हालसम्म बालबालिका सम्बन्धी शिक्षा, स्वास्थ्य, स्याहार सुसार जस्ता आधारभुत कुराहरुको अधिकारका सुनिश्चितताका लागि नियमहरु नबनेका होइनन् तर व्यवहारमा अभिभावक, समाज र राज्यले त्यसबारे उचित ध्यान पुर्‍याइएको पाइँदैन । जसका कारण बालबालिकाहरुले बाल अधिकारको उपभोग गर्न नपाई तपसिलका दुर्ब्यवहार भोगिरहनु परेको छ ।

१. अभिभावकबाट खान लाउन र शिक्षादिक्षासम्बन्धी उचित प्रबन्ध नपाउँदा विस्तापित हुनु परेको ।

२. उच्च आमदानी भएका वर्गहरु र समाजमा प्रतिष्ठित भनाउँदाहरुले गरिब, असहाय, बालबालिकाहरुलाई घरेलु नोकरको रुपमा काममा लगाउनु ।

३. गरिबी र बेरोजगारीका कारण १६ वर्षमुनिका बालिकाहरुलाई देह ब्यापारका लागि बेचिन बाध्य बनाउनु ।

४. हली र कमैयाका रुपमा बसेका व्यक्तिहरुका बालबालिकाहरुको जमिनदारहरुले श्रमशोषण गरिरहनु ।

५. होटल, कलकारखाना, उद्योगहरुमा कम ज्यालमा जोखिमपूर्ण काममा बालबालिकाहरुलाई लगाउनु ।

बाल अधिकार, बालबालिकाहरुको अवस्था हामी हाम्रो स्थानीय ठाउँमा स्पष्ट देख्न सक्छौं । काठमाडौँका प्रायःजसो होटलहरुमा बालश्रमिकहरु भाँडा माझिरहेका भेटिन्छन् । गाउँमा ठूला भनाउँदाहरुको घर खेतमा काम गर्ने र घर नोकरको रुपमा काम गरिरहेका छन् । यहाँ बुद्धिजीवी भनाउँदाहरुले बालबालिकाहरुलाई आफ्नो घरमा नोकर बनाएर राखेका छन् । यो अवस्था हेर्दा धनी, गरिब, उच, नीच सबैको रगत रातो भएको र सबैले समान रुपमा पढ्न लेख्न पाउनु पर्नेमा विपन्न वर्गका बालबालिकाहरु बञ्चित भएर बसेका छन् । बाल अधिकारको कुरा गर्ने गैरसरकारी संस्थाहरु डलर पचाउनमा व्यस्त छन् । सरकारी नेताहरु भाषण गर्नमा व्यस्त छन् र न्यायका ठेकेदारहरु ऐन कानुनका पानामा मात्र अधिकारको कुरा देख्छन् तर स्वयं आफैँ घरमा बालबालिका नोकर बनाएर राख्छन् । यो कुरा तपाईंहरुलाई पत्यार लाग्दैन भने यो जोखिमपूर्ण कुरा हो किनभने देशमा यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् । यसमा हामी एउटा वास्तविक घटना समेत लिन सक्छौं । आजभन्दा केही वर्ष अगाडि काठमाडौंमा एक न्यायाधिशले घरमा काम गर्न एउटी सानी बालिकालाई राखेका थिए जो पछि गएर न्यायाधिशकै छोराको बलात्कारको शिकार हुन पुगिन् ।


यसरी विस्तापित र बिखण्डित रहेका बालबालिकाहरुको अधिकारको रक्षा गर्न सरकारी पक्षबाट बालअधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धिका पारित नियमहरु पालना, बाल अधिकारको उलङ्घन गर्नेलाई उचित दण्ड दिइनुपर्ने, रोजगारीको व्यवस्था एवं निःशुल्क र सहज रुपमा सम्पूर्ण बालबालिकाहरुलाई शिक्षा र स्वास्थ्य उपचारको सुविधा प्रदान गरिनुपर्दछ । अभिभावक, द्वन्द्वरत पक्ष र राष्ट्रको नेतृत्व तहमा बसेका व्यक्तिहरुले “आजका वालक भोलिका कर्णधार” हुन् “राज्य संचालन गर्ने महान् हस्ती” हुन् भन्ने सोच राख्नु अपरिहार्य हुन आउँछ ।

यसका लागि समाजमा ठूलो क्रान्तिको आधिँ सृजना गरेर बालबालिकाको अधिकार दिलाउन र समानताको अनुभूति दिलाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट जुरमुराउन ढिला गर्नुहुँदैन र सबैले तपसिल कुराको मर्म बुझ्नुपर्छ ।

हाँस्ने खेल्ने बेला हाम्रो
पढ्ने लेख्ने उमेर हाम्रो
ननिमोठ निर्दयीहरु टाउको हाम्रो
नभाच दुष्टहरु हो ! हातखुट्टा हाम्रो

फरक नै के छ र ? ति तिम्रा लालाबाला र हामीमा
काटी हेर रगत रातै हुनेछ !
जन्म र मृत्य हेर, एक नास नै हुनेछ !!