Friday, December 12, 2014

न्याय हराएको देश


पृष्टभूमि भन्नुपर्दा न्याय खोज्दाखोज्दै प्राण आहूति दिनुभएका नन्दप्रसाद अधिकारीलाई जोड्न चाहन्छु मेरो कवितामा । गोरखा फुजेलका नन्दकृष्ण अधिकारी र गङ्गामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको १८ बर्षको कलिलो उमेरमै निर्मम हत्या भएको थियो । उनकै हत्यारालाई न्यायको कठ्घरामा ल्याउन उनका बुबा आमा करिब ११ महिना अनसन बसे र अन्ततः अनसनकै क्रममा न्याय नपाउँदै आफ्नो प्राण पनि त्याग्नुपर्‍यो उनका बुबाले । आमा अझैँ पनि न्याय पाउँने फगत आँस सहित अनसनमै छिन् । यसै सन्दर्भमा उनका स्वर्गीय छोरा कृष्णप्रसादले स्वर्गलोकबाट नियालिरहँदा यो न्याय हराएको देशप्रति उत्पन्न भएका उनका भावनाहरूलाई समेट्न खोजिएको छ ।



         न्याय हराएको देश

मर्श्याङ्दीतटमा फुजेल गउँमा हिमालको काखमा
बस्थ्या खुसी भएर गाउँघरमा बुबामुवा साथमा ।
त्यै विद्यालय ग्राममा पढिलिया एस्.एल्.सी. जाँचै दिया
ज्यादै हर्ष विभोरमा परिगए उमङ्ग मनमा लिया ।।

आफैँ जाँउ भनेर भेटकन ता बाजेबज्यैका घर
हाँसो रोदनको भयो निमिषमा पुगे यमैका घर ।
बाँधी पट्टी नयन्, लगेर दूरमा दिए चरम् यातना
ठोकी बारुद शरीरशिरमहाँ फ्याँकी दिए खोल्सेमा ।।

पुत्रैशोक पर्‍यो  बुबा अनि मुवा बाजेबज्यै साथमा
रित्तै भो अश्रुकेन्द्र त्यो नयनको दाजु नुरै शाेंंकमा ।
न्यायै माग्न भनेर अनसन बसे बुबा मुवा सँगमा
क्या सुन्थ्यो सरकार पार्टी मुखियाँ खेद्यो भुइँफुट्टमा ।।

जिउँदो लास भई दिनानुदिनै पीडा त थप्दै बसे
आए पार्टी नेताहरु सबसबै राजनीति गर्दै रहे ।
भन्थे अनसन तोड्नलाई तिनले आश्वासनै बाँड्दिए
आमा रुन्थिन शोकमै डुबिरही बुबा नखाई मरे ।।


सुक्यो बोली सबै विनम्रपनमा पेटै सुक्यो भोकमा
क्या किन्तु भो अमङ्गल अहो आमा डुबिन् शोकमा ।
खोइ हत्यारा कहाँकन लुक्यो सरकार यो निर्जीव
देख्दैनौ किन काठमाण्डु तिमीले आँसु बगेको भल ।।


भैग्यो एक दशक पूरापूर अहो खै न्याय कहाँ गयो
न्यायै पाउन जानुपर्छ गोरखा, त्यो उक्ति व्यर्थै भयो ।
मै गोर्खे हेर आज न्याय खोजँदै दौड्दैछु है शेषमा
क्या लुट्यौ भो समयचक्र तिमीले न्यायै नभा देशमा ।।


Saturday, August 30, 2014

मलेसिया भ्रमण : नियात्रा

एयरएसियाको विमान क्वालालम्पुर विमानस्थलमा ओर्लिदा स्थानीय समय अनुसार बिहानको ७ : १५ भएको थियो । अवतरण गर्ने बित्तिकै मनमा नयाँ जोश र उमङ्ग प्रक्षेपण भएको थियो । बिहानको झिसमिसेमा सुताहा अपितु कान्तिपय अनुहार दर्शाउँदै अध्यागमनतिर लम्कियौ । हिजो जहाज चढ्नुभन्दा अघिको असहजताले गर्दा यहाँ पनि मन असहज भैरहेको थियो ।

मलाया विश्वविद्यालय, क्वालालम्पुर, मलेसियाले अगष्ट २० र २१ मा आयोजना गर्न गइरहेको 12th IMSPQ (१२ औं अन्तर्राष्ट्रिय अन्तरमेडिकल स्कुल फिजियोलोजी हाजिरीजवाफ प्रतियोगिता) मा भाग लिन हामी त्यस तर्फ लागेका थियौँ नेपालको प्रतिनिधित्व गर्दै ।

पहिलो पटकको अन्तर्राष्ट्रिय उडान हुनाले होला, मन आफ्नो वशमा थिएन । हामी करीब १० बजेतिर एयरपोर्ट पुगिसकेका थियौ । त्यहाँबाट हामी आगमन कक्षतिर लाग्यौ । हाम्रा सामानहरु एक एक गरी एक्सरेमा जाँच हुन थाले । त्यहाँबाट हामी अगाडि बढ्यौ, अध्यागमनको औपचारिकता पूरा गर्‍यो,  बोर्डिङ्ग पास लियौ अनि प्लेनतर्फ डेग चलायौ  । घडीमा नेपाली समय अनुसार १२ : २५ बजिसकेको थियो । हाम्रा पाइला छिटो छिटो कुदिरहेका थिए । लागिरहेको थियो, हामीले कुनै युद्ध जितेका थियौँ भनेर । एकछिनको पर्खाइपछि जहाजले इन्धन भर्यो र उडानका निम्ति तयार भयो । केहीबेर जमिनमा घिस्रिदै खुला पन्छीसरह माथि आकासमा उड्न थाल्यो । मेरा आँखा झ्यालबाहिर थिए भुगोल हेर्ने पर्खाइमा तर रातको सयम भएकाले निस्पष्ट्ट अन्धकार बाहेक अरु केही देखिन । रातको समय त्यसमाथि एयर कन्डिस्नर चालु भएकाले गर्दा जहाज भरी जाडोले भने निमोठ्यो साह्रै, तर पनि असिमित कौतुहलताबीच निम्तिएको जाडोको महसुस हुन पाएन जसरी युद्ध मैदानबाट फर्किएको सिपाहीलाई नगण्य हुन्छन् ससाना घाउका खटिराहरु अनि हराउँछ चन्द्रमाको दागको कुरा उसको कान्तिका सामुन्ने, र प्रतिक्षा गरिरह्यौ अवतरणको ।

हामीले हाम्रा सामानहरु संकलन गर्‍यौ र ट्याक्सी खोजेर हाम्रो गन्तव्य मलाया विश्वविद्यालयतर्फ लम्क्यौ । अबको सफर लोकल अर्थात मलेसियन सफर थियो हाम्रा लागि । रङ्गीचङ्गी मलेसिया, पुष्पक विमान चल्ने राजमार्ग जस्ता लाग्ने आकासले गोरेटाहरु आँखा सेकी रहेका थिए ।

त्यसै दिन साँझ हुने सांस्कृतिक कार्यक्रममा हामीले पनि हाम्रो कुशलता देखाउने मौका पाएका थियौँ । जम्मा ९० वटा कलेजहरु मध्ये १५ वटा कलेजले मात्र प्रर्दशन गर्ने मौका पाएका थिए र त्यसमध्ये हामी पनि परिएकोमा निकै खुसी भयौँ, तर जिम्मेवारी पनि त्यत्तिकै थपिएको थियो । हामीलाई लागेको थियो, हाम्रो देशलाई चिनाउने मौका यही हो, विश्वको ध्यान नेपालतिर तान्नैपर्छ, नेपाललाई विश्वमाझ चिनाउनै पर्छ । हामीले नेपालको तर्फबाट 

नेपाललाई चिनाउन प्रस्तुति (Power Point presentation) गर्ने निर्णय गर्‍यौ ।

साँझ ७ : ३० बजेदेखि कार्यक्रम सुरु भयो । त्यससँगै बिभिन्न कलेजहरुले आआफ्नो प्रस्तुति देखाउन थालेका थिए । मैले नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर प्रस्तुति दिने तयारी गरेको थिए । हाम्रो कलेज अनि देशको नाम लिएर हामीलाई बोलाए कार्यक्रम सञ्चालकले । डराइरहेको मुटुलाई दरिलो पार्दै उँभिए करीब ८०० जना जमातको अगाडि । सबै मलाई कुरेर बसेका थिए । म जाने बित्तिकै तालीको ओइरो बज्यो । दौरासुरुवालमा सजिएको अनि नेपाली झण्डा र खुकुरी देख्दा त झन् तालीको गड्गडाहट सुनिथ्यो । अनि मैले “नमस्कार सबैलाई, नेपालमा तपाईलाई स्वागत छ” भनेर आफ्नो प्रस्तुति श्रीगणेश गरे । नेपाललाई विश्वका सामु चिनाउने चिनारीहरु प्रस्तुत गर्दै अनि मनमोहक फोटाहरु देखाउँदै गए । अन्ततः नेपालमा सबैलाई फेरी स्वागत गर्दै बिदा भए नेपाली झण्डा फर्फराएर । तालीको गड्गडाहट बजिनै रहेको थियो । जे होस् राम्ररी नै आफ्नो प्रस्तुति दिन पाएकोमा खुसी लागिरहेको थियो । उताबाट मलेसियन साथी यान जिङ भन्दै थिइन्, “Navin Your presentation was so nice I liked it, Hope to be in Nepal soon”। म खुसीले गद्गद् भए र सिटमा बस्न नपाउँदै ब्रुनाइँका सहभागी साथीहरु मेरो समीप आए अनि नेपालको सुन्दरता देखि मन्त्रमुग्ध भएको कुरा बेलिविस्तार लगाए, छिट्टै नेपाल आउने बाचा दिए ।

आयोजकले हरेक कलेजका लागि एकजना गाइड सहयोगीको रुपमा छुट्याएका थिए । यसै अनुरुप हाम्रो कलेजको गाइडको रुपमा मलाया विश्वविद्यालयकी एम्बीबीएस् दोस्रो वर्षकी छात्रा यान जिङ रहेकी थिइन् । उनले नै हामीलाई खाना खानलाई देखि लिएर कलेज भ्रमण लगायत अरु कुराहरुमा सहयोग गरीरहेकी थिइन् । कार्यक्रम सकिएपछि नजिकैको मुख्य बजार घुमाउन लग्ने उनको प्रण अनुसार उनले नै हामीलाई घुमाउन लगिन् । उनले ठाउँठाउँमा मुख्यमुख्य आकर्षक कुराहरु देखाउँदै लगिन् । साथै मलेसियन संस्कृति, खानेकुराहरुका विभिन्न परिकारहरु अवगत गराइन् । उनीसँगै हामीले केही मलायन भाषाका शब्दहरु सिकिरहेका थियौ । साथै हामीले पनि उनलाई नेपाली भाषा अलिअलि सिकाइरह्यौ । उनी बेलाबेला नेपालीमा भन्ने गर्थिन्, “नवीन मेरो नाम यान जिङ् हो र मेरो घर पहाङ हो” । मलाई निकै खुसी लाग्थ्यो, उनलाई नेपाली भाषा अलिअलि भएपनि सिकाउन पाएकोमा अनि उनको नेपालप्रतिको रुचि देखेर । भन्थिन्, नेपालको बारेमा उनमा यस्तो अमिट छाप परिसकेको छ कि उनलाई अहिले नै नेपाल उडौँउडौँ जस्तो लागिरहेको छ ।

त्यसदिनको रात हाम्रा लागि विशेष भयो, जुन कुरा मलेसिया बसाइको सम्झनलायक क्षण थियो । होस्टेल अगाडिको सेमिनार हलमा नयाँ साथी बनाउने उद्देश्यले भेला भयौँ । मुख्यतः त्यहाँ म्यानमार, थाइल्याण्ड, ताइवान, भियतनाम, मलेसिया, सिंगापुर, चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बेलायत, पोल्याण्ड, श्रीलंका, कम्बोडिया, इन्डोनेसिया, जापान, ब्रुनाइँ, लाओस, इराक, अष्ट्रेलिया, लगायत देशहरुका सहभागी साथीहरु थिए । हामी सबै परिचय गर्दै गफ गर्दै गयौँ । तिनीहरु पनि हामी जस्तै नयाँ साथी बनाउन लालयित थिए । मैले प्रस्ताव राखे, “सबैले आ–आफ्नो देशका राम्रा र नराम्रा पक्षहरुबारे अनि आफ्नो कलेजको मेडिकल शिक्षा प्रणालीका बारेमा भन्ने” भनेर । सबैले सहमति जनाए अनि सबैभन्दा पहिला सुरु गर्‍यो भियतनामको साथीले । त्यसपछि म्यानमार, पाकिस्तान, भारत, थाइल्याण्ड हुँदै सबैले आफ्नो देश र मेडिकल शिक्षाको बारे कुरा राखे । त्यहाँ Uncle Ho अर्थात होचि मिन्ह देखि आङ साङ सुकी सम्मका कुरा सुनियो । कतिले आफ्नो देशका पर्यटकीय क्षेत्रहरुको फोटोहरु मोबाइलबाटै देखाए इन्टरनेटको सहायताले । सबै चाख दिएर नियाल्थे अनि वाहवाहीको तारीफ हुन्थ्यो । 


अन्तिममा पालो हाम्रो थियो, नेपालको थियो । मसँग नेपालको वर्णन गर्न यति धेरै शब्द थिए कि कहाँबाट सुरुवात गर्ने, निकै गाह्रो पर्‍यो । अनि मैले सगरमाथा देखि बुद्धसम्मका कुरा, हिमालदेखि पहाड, पर्यटन देखि रोमाञ्च अनि वीर गोर्खालीदेखि नेपाली स्वाभीमानका कुरा सबैको बेलिविस्तार लगाए । सबै चाख मानेर सुनिरहेका थिए । तिनीहरुको कौतुहलता छ्यापछ्याप्ती देखिन्थ्यो । हामी सुन्दर नगरी नेपाल, बुद्धको भूमि नेपाल, सगरमाथाको देश नेपाल, वीर गोर्खालीको देश नेपाल भन्दा तालीको बाजा बजाउँथे । वास्तवमा नेपाल त्यहाँ उपस्थित धेरैका निम्ति एक पवित्र एवं अलौकिक भूमि थियो । किनभन्दा तिनीहरुले पुज्ने, तिनीहरुका संस्कारका जन्मदाता भगवान् गौतम बुद्धको जन्मथलो हो नेपाल । अनि उत्तिकै चासो थियो नेपालमाथि किनभन्दा वीर गोर्खा रेजिमेन्टका क्यान्टोनमेन्टहरु ब्रुनाइँ, वर्मा लगायत देशहरुमा अहिले पनि यथावत छन् । अनि त्यत्तिकै शानको विषय थियो नेपाल किनकि जुन सगरमाथाको उचाइ छुने सपना देख्छन् तिनीहरु, त्यो नेपालमै थियो । त्यही रहेको भारतीय मित्रले मुख खोल्यो, “हामीसँगै जोडिएको हाम्रो छिमेकी नेपालबारे मलाई यति कुरा थाहै थिएन, वल्ल आज थाहा पाए । अबको साल यो स्वर्गको खानीको म स्वाद चाख्न चाहन्छु । बुद्धको भूमिमा रमाउन चाहन्छु । म छिट्टै नेपाल जाने योजना बनाउँछु” । अरु देशका साथीहरुले पनि नेपाल एकचोटि आउनैपर्छ भन्ने कुरा राखे । “हामी छिट्टै स्वर्गानुभूति आभाष गर्न चाहन्छौ,  बुद्धलाई नमन गर्न चाहन्छौँ । यी सबै कुरा अनि सबैको प्रतिक्रिया सुन्दा मेरो प्रसन्नताले आकाश छोइसकेको थियो ।

हामीले नयाँ साथीहरुका लागि भनेर पोष्टकार्डहरु अनि नेपालको पर्यटनबारेका आकर्षक पर्चा एवं पोष्टकार्डहरु लगेर गएका थियौ । हामीले त्यहाँ उपस्थित सबैलाई बाड्यौ । त्यसपछि त झन् तिनीहरुको हर्षको कुनै लक्ष्मणरेखा थिएन । सबैले धन्यवादको आशिष जपे । कसैले सगरमाथाका कार्डहरु नियाले, कसैले बुद्ध, कसैले स्वर्गीय पोखरा, आदि इत्यादि । यसरी आफ्नो देशलाई चिनाउन पाउँदा मनमा आनन्दानुभूति महशुस भयो, तन–मन देदीप्यमान भयो ।

त्यसैगरी अर्को कुराले पनि हामीलाई निकै खुसी बनायो । त्यो थियो, अरु देशको मेडिकल शिक्षा प्रणालीको तुलनामा हामीलाई धेरै माथि पाए । कुनै देशमा ६ वर्ष, कसैमा ८ वर्ष, अनि त्यसमा पनि हरेक वर्ष विषयगत हिसाबमा अध्ययन हुँदो रहेछ ।

तर हाम्रोमा भने भिन्न छ यस अर्थमा कि हाम्रो Integrative पाठ्यक्रम छ । हामीले विषयगत भन्दा पनि प्रणालीगत हिसाबमा पढ्छौ जुन एकदमै वैज्ञानिक एवं उच्चस्तरको लाग्यो मलाई । तिनीहरु हाम्रो यो प्रणालीबारे जानकार भएर त झन् बढी नजिकिए नेपालसँग अनि आफ्नो कलेजमा त्यसो नभएकोमा गुनासो गरे ।

जे होस्, विकासमा पछाडि परे पनि नेपालमाथि गर्व गराउन सकेकोमा निकै आनन्दित भएका थियौँ । तिनीहरुको दिमाग नै फेरिएको थियो त्यसबेला देखिन् कि तिनीहरुको आफ्नो देशको तुलना नेपालसँग हुन्थ्यो जसरी हाम्रो नेपालको तुलना हुने गर्छ स्वीट्जरल्याण्ड वा सिङ्गापुरसँग तर स्वमं सिङ्गापुर नेपालसँग तुलना गरिरहको थियो, यसभन्दा गर्वको विषय के हुनसक्छ र हाम्रा लागि ।

मलाया विश्वविद्यालयलाई चटक्कै छाडेर जान मन थिएन । तर पनि छोड्नैपर्ने थियो । हरेक समय मनको इच्छा कहाँ पो पूरा हुन्छ र ? हामीले २ दिन अरु बस्नुपर्ने भएकाले होस्टेलको व्यवस्था मिलाइसकेका थियौँ फर्नलफ्ट होस्टेलमा ।

निकै नै आल्हादित पारेको थियो मलाया विश्वविद्यालयले, अझ बढी त्यहाँको आतिथ्यले । मलेसियनहरुको आतिथ्यले हामी पहिले नै द्रवित भैसकेका थियौँ । उनीहरुको प्रशंसाका शब्दहरु मात्र थिए मसँग । तिनीहरु कै सहयोगले गर्दा हामीले कुनै बेला पनि विलखबन्दमा पर्नुपर्ने स्थिति आएन । अर्को कुरा,  उक्त विश्वविद्यालय वा सिङ्गो मलेसियाकै कुरा हुनसक्छ,  त्यहाँ पुरुषभन्दा पनि महिलाहरु बढी सक्रिय थिए । केटा मानिसहरु आक्कलझुक्कल मात्र देखिन्थे । आतिथ्यदेखि लिएर कार्यक्रम संचालनका कार्यहरुमा समेत केटीहरुको सक्रियता निकै थियो । अनि मेरो तुलना हुन्थ्यो नेपालसँग, कतिबेला अलि नरमाइलो पनि लाग्थ्यो, आरक्षण भएर समेत नेपालमा महिला जनशक्ति, महिला सशक्तीकरण अतिकल्प भएकाबारे ।

जे होस् विदेश आविष्कार गरिरहेका थियौँ, त्यसैमा हामी रमाएका थियौँ । त्यहीँ बस्दा हाम्रो भेट खानाखादाताका मार्था भोसेन भन्ने आइमाईसँग भयो । बेल्जियम पुर्ख्यौली घर रहेकी उनी नेदरल्याण्डमा काम गर्ने अनि बेलायतमा बस्ने रहिछन् । उनीसँगको हाम्रो भेट अविस्मरणीय भयो । १–२ वर्ष अघि देखिन् विश्व भ्रमण यात्रामा लागेकी उनी भ्रमणकै क्रममा मलेसिया पुगेकी रहिछन् । हामी नेपालबाट भएको भन्ने परिचय दिने बित्तिकै उनमा हर्षको सीमै रहेन । “अहो तिमीहरु नेपालबाट आएको, सुन्दर नेपाल वाह” । उनी भन्दै गइन्, “अहिलेसम्मको मेरो भ्रमणमध्ये मैले सबैभन्दा मन पराएको देश हो नेपाल, प्रकृतिको अनुपम वरदान । वीर गोर्खाली, सहृदयी नेपाली” । हाम्रो नेपाली पर्यटनलाई अथितिदेवोः भवः बाट सुसज्जित गर्ने पुरानै चोला फेरी दोहोर्‍र्‍यायौँ, नेपालका पर्यटकीय स्थलहरुको बारेमा जानकारी भएका किताब एवं पर्चाहरु उनलाई दियौँ । उनी निकै खुशी भईन् अनि हरेक तस्वीरहरु हेर्दै आफैँ वर्णन गर्थिन्, “साँच्चै यो ठाउँ स्वर्ग नै छ, मलाई धेरै मन परेको थियो”, आदि इत्यादि । उनीसँग बिदा हुन नपाउँदै हामी नेपालको भन्ने थाहा पाएर टर्कीका सेल्कुक ब्यारन हामीसामु आए अनि नेपालको वर्णन गर्न थाले । “नेपाल, सुन्दर नेपाल, म नमन गर्छु नेपाललाई अनि नेपालीहरुलाई । तिमीहरुसँग भेट भएर म धन्य भए । म काठमाडौं, पोखरा, मुस्ताङ्ग, चितवन धेरै मिस गरिरहेको छु । त्यहाँका मान्छेको आदर्श अनि आतिथ्य मिस गरिरहेको छु । म अझै नेपाल जाने योजना बुन्दै छु । सायद अबको ६ महिनामा पछि म नेपाल मै हुनेछु” । २ वर्ष अघि नेपाल घुम्न आएका ब्यारनका वाणीहरुले हामीलाई धन्य बनायो अनि आफैँ माथि गौरव गर्‍यौ नेपाली हुन पाएकोमा ।

हामीले थोरै समयमा धेरै ठाउँहरु भ्याउनुपर्ने थियो । हरेक स्टेसनहरु चढ्दा होस् या अरु कुनै ठाउँ होस्, जताततै कुदिरहने भर्‍याङ थिए । सामान्य भ¥याङहरु त खोजेपनि भेट्न गाह्रो हुन्थ्यो । त्यस कुदिरहने भर्‍याङलाई उकालो या ओरालो घचेटिरहेको पाउन सकिन्छ । त्यसमा उँभिनुपर्छ, आफैँ सुतुतुतु बग्दै माथि वा तल पुर्‍याइदिन्छ । रेलको टिकट काट्न समेत कुनै जनशक्तिको प्रयोग भएको देखिदैन । त्यो सबै काम स्वचालित कम्प्युटरहरुले गर्छन् । कुन ठाउँ कति जना जाने हो त्यसमा छुने बित्तिकै निर्देशन दिन्छ अनि भनेको रकम तलरहेको प्वालभित्र छिराउनु पर्छ लगत्तै जतिजना छन् त्यति नै टोकनहरु खस्छन् माथिबाट । त्यो टोकन स्टेशनको सुरुमा र अन्त्यमा नछिराई जान र निस्किन सकिँदैन । कति राम्रो प्रणाली थियो, जनशक्तिको धेरे बचत । निकै आरामदायी हुँदोरहेछ उक्त बिजुली रेल । साथै स्टेसन पुग्नुपूर्व स्वचालित आवाज सुनिन्थ्यो स्टेसनबारे । अनि रेल चल्ने रुट पनि भित्रै टाँसिएको हुन्थ्यो । यात्रा गर्नेहरुका लागि निकै सजिलो बनाएको थियो त्यसले । साँच्चै नै मन जितिसकेको थियो मलेसियाको विकासले । अनि याद आउँथ्यो नेपालको, मगजमा तुलना हुन थाल्थ्यो नेपाल र मलेसियाको । यस्तै रेल नेपालमा पनि भैदिएको भए कति रमाइलो हुन्थ्यो होला । पूर्वी धरानबाट घर पश्चिम महेन्द्रनगर पुग्न पुरानो बसमा कोचिँदै यात्रा गर्नुपर्छ । त्यसमाथि बसको यात्राले पेट नै बाहिर आउँलाझैँ गर्छ । यदि यस्तै बिजुली मेट्रो रेल नेपाल नगरीमा भैदिएको भए कति सजिलो हुनेथियो होला । एकैचोटि सयौँ जनाले आरामदायी यात्रा गर्न पाउने थिए छोटो समयमा तर देशको स्थिति हेर्दा आधि दशक अगाडि नै पूर्व–पश्चिम रेलमार्गबाट जोड्ने भन्ने कुरा अहिलेसम्म कागजमै सिमित रहेको छ । यै अवस्थाबाट त नेपालीहरुले नेपालमै रेल देख्न अर्को जीवनकाल समेत जन्मिनुपर्ने देखिन्छ । यही सोँच्दासोच्दै आँखा रसाएछन्, सुक्कसुक्कको आवाज नथामिँदै हाम्रो गन्तव्यमा रोकिसकेछ रेलले ।


ऐतिहासिक भवनहरु, सङ्ग्राहलय एवं क्वालालम्पुर सिटी ग्यालरी रहेको मर्डेका स्क्वायर घुम्दा हरेक ठाउँ, हरेक पसल, हरेक गल्लीहरुमा मलेसियन झण्डा फहरिरहेको देखिन्छ । साँच्चै नेपालले पनि यस कुरामा ध्यान दिए हुन्थ्यो कि भन्ने लाग्थ्यो । त्यस्तै क्वालालम्पुरका मुख्य पर्यटकीय क्षेत्र सहित पूरै शहरको नक्सा हरेक ठाउँमा उपलब्ध हुँदो रहेछ । जसले गर्दा हामी जस्ता नवआगन्तुकहरुलाई निकै नै राहत पु¥याउँछ । मलेसियामा फस्टाइरहेको पर्यटन व्यवसायबाट नेपालले सिक्ने धेरै कुरा रहेको भान भयो । दुई दिनको अन्तरालमा हामीले मलेसियाका मुख्य मुख्य पर्यटकीय क्षेत्र घुमिसकेका थियौँ । हाम्रो नेपाल फर्किने टिकट मलेसियन समय अनुसार राति १० : २० को थियो । तसर्थ करीब ६ बजेतिर होटेलबाट बिदा भईबरी हामी हिड्यौ एयरपोर्टतिर ।

उडानका निम्ति २० मिनेटभन्दा कम समय थियो । मलेसिया भ्रमण एउटा इतिहासमा परिणत हुँदै गइरहेको थियो । अझै घुम्ने रहर हुँदाहुँदै  पनि मलेसिया छोड्नै पर्ने थियो

। मोबाइलमा म्यासेज पाए, १२ औं  IMSPQ का सञ्चालक प्रा. चेङ् हुई मिङ्ले पठाउनु भएको रहेछ, “Have a pleasant trip home, घरको यात्रा आनन्ददायी होस्” भनेर । त्यसको लगत्तै अर्को म्यासेज पाए यानजिङ को  ह्वाट्सएप (whatsapp) मा “नवीन, तिमीहरु जाँदा नरमाइलो लागिरहेको छ । जे होस्, यात्रा रमाइलो र सुरक्षित होस्, छिट्टै नेपाल मै भेट्न पाइयोस्” । मैले पनि मलेसिया मिस गरेको कुरा भने अनि विशिष्ट आतिथ्यका लागि धन्यवाद फर्काए ।

जहाज उड्ने बेला भयो । जहाजले इन्धन भरिसकेपछि बिस्तारै रनवेमा घिस्रियो र वेगवान उड्यो आकासतिर मलेसियालाई तल पार्दै,  बिदाइका पखेटा हल्लाउँदै । म भने टोलाइरहे यसैयसै अतीत र बर्तमानको कन्फ्युजनमा ।







Monday, June 30, 2014

देशको माैनता

सीमाको बाँधले जोडिएका
असङ्ख्य वस्तीहरू
सगर छुने चुचुराका फेदले 
कोरेका सीमा रेखाहरू
गतिशील नदीका भुगोलले
छुट्याइएका समथरहरू            
घनीभूत तृणभूमिले    
बनाएका साँधहरू
यिनै रेखाहरूबीच 
ठडिएको मेरो राष्ट्रियता 
र म ।

इतिहास साँचेर बसेका
कथित आदिवासीहरू
आफ्नोपन अपनत्व गरेका
तमाम रैतीहरू
बर्षौबर्ष मुठ्ठी बनेका
एउटै हूलमा मिसिएका
कयन् जातिहरू ।

आज आकाशवाणी भएछ 
अनि नदीशका ज्वारभाटाझैँ
मलिन आवाज चर्किएछन्
यहाँ नारा दिइएछ
आकाश छुने परिवर्तनको
जनताका छोराछोरी मालिक बन्ने कथाको
अनि उठाइएछ आवाज
तथाकथित दबिएका, हेपिएकाहरुको 
बिगुल बनेर ।

त्यहाँ नौलोपन झल्कन्छ
वाहवाहीको थपडी बज्छ 
अनि बल्ल आभाष गर्छन्
आफू दबिएको, हेपिएको कुरा
अरु कसैले सम्झाइदिएपछि
अनि त्यही सपनामा मिसिन्छन्,  मिसाइन्छन्
आफू मालिक हुने सपना देख्छन्
लहराउछन् आँखाहरू
सल्बलाउछन् ओठहरू
देख्न थाल्छन् फरक फरक
होचा नीचा बीजहरू, जातिहरू ।

कतै कसैलाई अपनत्व नभएको गुनासोे
अधिकार कुण्ठित भएको गुनासो
संविधानले नछुट्याएको 
अरुले नअलग्याएको
जीर्ण मानसिकताको बास ।

“श्रीमान् गम्भीर....” ले जोडेको पुरातन देशमा
अहिलेको  “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली” गुनेपनि
नेपाली मनहरू “सयौँ थुङ्गा फूलका हामी फरक फरक जातजाति” भन्न रुचाउँछन् 
अनि राष्ट्रियताका धर्षाहरु कोर्न खोज्छन्
सीमाका बाँध, सगर छुने चुचुरा
गतिशील नदी अनि घनीभूत तृणभूमिले
कोरेका सीमारेखाहरू बीच पनि
नयाँ रेखाहरु कोर्न थाल्छन् 
गणितीय ज्यामिति जस्तै
एउटै बिन्दुबाट कोर्न मिल्ने
अनगिन्ति रेखाहरू, कोणहरू
अनि कोरिन्छन् यिनै रेखाहरू
एकअर्का प्रति
मानवीय संवेदनाको उचाइभन्दा माथि ।

सायद आज देश नुहेको छ
यही त्रिविभोक्ष हेरेर
आफ्नो जिजिविषाको आयु गणना गर्दै
झोक्राएको छ
आफ्नो लुछाचुडी पछि बन्ने 
अनेकन् नयाँ रक्तबीज सम्झेर
आफ्ना आडमा रहेका चन्द्रसूर्य झोक्राएको देखेर
आफू पनि झोक्राएको छ
त्यसैले त ऊ आज मौन छ 
र सधैँसधैँ
सदा सदाका लागि 
मौन बसिरहने सङ्कल्प गर्दैछ ।

Monday, March 10, 2014

गर्मी

असङ्ख्य वस्तीहरूमा 
आशातीत हत्तलहरूमा 
खिसीको मनासिब 
विकरालताको पराकाष्ठा 
प्रचण्ड गर्मी 
ॐ सूर्य देवाय नम: भन्दै
सुत्रपातित दिन 
मिर्मिरेको झझल्को दिदै 
कान्ति फिजाएको रोष 
भएको छ कुनै 
प्रचण्ड प्रतापि 
प्रचण्ड गर्मी 
कयौँको आँश खोसिदिएको गर्मी 
कयौँका निम्ति चर्मको चर्माइ 
विद्यार्थीका निम्ति पढाइको तर्साइ
किसानको सासको फड्काइ 
यौवनाको प्रदर्शनको पर्खाइ 
हरेक पर्खाइ अनि हरेक वितण्डाको जड 
यही प्रचण्ड प्रतापि गर्मी ।।