Monday, November 11, 2019

रारा



तिम्रो कायाको सम्मोहनले
प्लवित मेरा नयनहरूमा
के तिलस्मी रोप्यौ हँ, रारा?
तिम्रो नीलिमाका लहरहरूमा
लहरमा परावर्तित लालिमाहरूमा
सर्वकालीन रङ्गिन छालहरूमा
शीतोष्ण प्राज्ञिक चालहरूमा
म यसै यसै मग्न भएँ ।

कुनै बेला कि राधा तिमी, रारा भएपनि
कृष्णकि राधाजस्तै प्रेमको सुवास छरिरहन्छौ
मोहित पारिरहन्छौ हामीजस्ता भ्रमरलाई
हरेकपल्ट आफ्नो कामुकताले
भर्जिन रारा बनेर ।


सूर्यका आभायुक्त किरणहरूले
तिम्रा छालहरूमा
गतिशील लहरहरू सृजना गर्नु
नीलाम्बर आकाश र
सेताम्य विशाल हिमालहरूलाई
आफ्नो विशाल छाती दिनु
तिम्रो सुन्दरताको उच्चता हो ।
वायुको वेगसँगै पिङ खेलिरहेझै लाग्छन् तिम्रा वरिपरि
खच्चड र घोडाहरू ।
एकतमास तिम्रो छाया पछ्याइरहेझै लाग्छन्
धुलौटे गोरेटा र घोडेटाका पदचापहरू ।
हावाले सल्लाका पात हल्लाउँदा सुसाएको सुसेली
डाँफेले चिरबिर चिरबिर गर्दै गाएको ध्वनिगीत
तिमीसँगै तिमी वरिपरि ढुकेर बसेका छन्
सुन्दरतामा तिम्रो एकछत्र राजको प्रमाण दिन ।

कालिमाको जतिसुकै मजेत्रो ओढेर आएको भएपनि
तिम्रो एक स्पर्शले शीतलता ओढाइदिन्छ ।
तिम्रो एक मुस्कानले स्वान्तसुखायःको वाणी छर्छ ।
तिम्रो एक हेराइले हर भ्रमरको जठराग्नि शान्त पार्छ ।
तिमीसँगको एक उत्तम भेटले सुचिन्तन थपिदिन्छ ।
तिमीसँगको एक सहवासले नूतन विचार सृजना गर्छ ।

कर्णालीको
अभावमा वैभव बनेर
आत्मविश्वास र सामर्थ्य बोकाएकी छौ ।
विकट मुगुको दरिद्रता छोपेर
ऊर्जा र सुन्दरताको लेपन लगाएकी छौ ।
खच्चड र घोडाहरूसँग मितेरी लगाएरै भएपनि
आफ्ना रैतीहरूको गर्जो टारेकै छौ ।
र साक्षी राखेकी छौ सिङ्गो मुर्मा गाउँलाई
जसको दरिद्रतालाई समेत आदिम सुन्दरता भराएकी छौ ।

कुनै दन्त्य कथाकी राजकुमारी जस्तै
तिम्रो बेजोड सुन्दरताले म एक टक भएँ रारा,
मलाई तिमीमै समाहित गर ।।

दसैँ

अस्पतालको शैय्याबाट
उपचारको याचना गर्दै
दशाले थलिएका प्राणभीरुहरू
निस्सार छन् दसैँको उत्सवबाट ।

आफ्नै शरीरसँग
जीवन र मरणको लुकामारी खेल्दै गरेकी
कोकिला परियारका निम्ति
दसैँको रौनक
उनको विकलाङ्ग शरीरको
पर्यायवाची मात्र भएको छ । 

दसैँको उल्लासमा
आफ्नो परिवारको रङ्गिन कलेवर थप्न
दोजिया श्रीमती र आउन लागेको नयाँ खुसीका निम्ति
झोलाभरि नयाँ भोटो, लुगा र खेलौना बोकेर
परदेशबाट घर आइपुगेका लहरे सार्की
जब अस्पतालको प्रसूति कक्षमा
मृत्युसँग सङ्घर्ष गर्दै गरेकी श्रीमती र
मृत जन्मेको शिशुको साक्षी हुन्छन्
उनको दसैँको उल्लास छताछुल्ल पोखिन्छ ।

साँझको पेट पाल्न जङ्गल बारी छिर्दा
भालु आक्रमणमा परेकी धौलीमाया
र गाईबस्तुको जोहो गर्न जाँदा
भीरबाट झरेर करङ भाँचेका नरपति
अस्पतालको आकस्मिक कक्षमा पल्टेर
टोलाइरहन्छन् दसैँ सम्झेर ।

कोकिला, लहरे सार्की, धौलीमाया र नरपति जस्तैका
मनग्य कथा र जीवनीहरूको तन्नम साक्षी भएर
परेला भिजाएका आँसु र निन्याउरो अनुहारलाई छोपेर
उनीहरूलाई फगतको ढाडस र आशा बाँड्दै हिँडेको म
मेरा निम्ति दसैँ
यी र यिनै परिवेशको साक्षीकर्ता भएर बित्छ ।
उनीहरूका आर्तपूर्ण यात्राको सहपाठी म
मेरो निस्सार दसैँलाई तजबिजमा राखिरहन्छु
र खिल्ली उडाइरहन्छु
आफूले आफैँलाई
जसरी उल्ल्याइँ रहन्छ
दसैँ, दशा र देशको दिशाले हरेक साल ।