Monday, November 11, 2019

जीवनगीत


जीवनका इन्द्रधनुषहरूको आकाङ्क्षामा
समयका अभीप्सित पलहरूमा भुलिनु
परिस्थिति कै दासता हो या
मगजको अस्वभाविक कायाकल्प
अझै बिलखबन्दमा छु,
पोहोर, हिजो हरेकपल्ट भएजस्तै
मेरो जिगीषाका आयतनहरू
कति हूलका जिजीविषामा अडिएका छन्
मेरो मापनको आधार क्रमबद्धता
कति न्यायोचित समयका अभीष्ट पलहरूसँग
अझै बिलखबन्दमा छु,
पोहोर, हिजो हरेकपल्ट भएजस्तै
श्लाघा, आत्मश्लाघा अन्तरश्लाघा वरिपरि
मुक्ताकाश जस्तै टहलिरहने विचार विचरणहरू
अस्वभाविक भावभङ्गीका अनेकन् पत्रहरू
के कति समाहित छन्, जीवनगीतहरूसँग
अझै बिलखबन्दमा छु,
पोहोर, हिजो हरेकपल्ट भएजस्तै
मेरो कविताजस्तै
जटिलताको लेपनले लिपिएका सम्बन्धहरू
हराएको जीवनको एकसुर लयजस्तै
जीवन घिसारिरहेको जटिल समय
आफैँ बिलखबन्दमा पर्यो कि भनी
अझै बिलखबन्दमा छु,
पोहोर, हिजो हरेकपल्ट भएजस्तै

No comments:

Post a Comment