Monday, November 11, 2019

दशैँ


मनग्य
वाचालहरूका बीचमा
मनको ढकनीलाई साक्षी राख्दै
देशाटनको शिलशिलेवारमा रम्दा
दशैँ उत्साहित हुन्छ ।

प्रेतात्माका निछ्याम लवजहरूमा
शक्तिपीठका मायावी विश्वासहरूमा
घत बुझाउने मनग्य प्रेक्षाहरूमा
बालापनका मृदुल यादहरूमा
दशैँ उत्साहित हुन्छ ।

अपितु
जब श्वास केवल वायु भैदिन्छ
आत्मा केवल शरीर भैदिन्छ
शक्तिपीठहरू तामसका पहरेदार भैदिन्छन्
सम्बन्धहरू केवल रक्तसाइनोमा सीमित भैदिन्छन् ।

तब त
प्रेक्षित सपनाहरू निर्दयी लाग्न थाल्छन्
जीविकाहरू धर्मराउन थाल्छन्
सृष्टिगोचरहरू थिल्थिलाउन थाल्छन्
अनि पो
दशैँ निर् उत्साहित हुन्छ
सगोलको दशैँ दशा भैदिन्छ ।

म नियालिरहन्छु
नेपथ्यको प्रेक्षालयबाट
र मनन गर्न थाल्छु
दशैँ दिग्विजयको प्रतीक हो कि दिग्दाहको
प्रलम्भको उत्साह हो कि प्रलम्बको ?



No comments:

Post a Comment