Monday, November 11, 2019

हजुरबुबा र म

समयका हरेक बाछिटाहरूसँग
सिँगौरी खेल्दै
मेरो तत्व लाई अस्तित्व बनाउन
मेरो गाँसलाई पोषक बनाउन
मेरो ज्ञानलाई प्रवाह बनाउन
मेरो चिन्तालाई चिन्तन बनाउन
मेरो हिँडाइलाई उद्देश्य बनाउन
मेरो अप्ठ्यारोलाई आत्मबल बनाउन
मेरो जीवनलाई अपनत्व दिलाउन
अहोरात्र चिन्तनमा लीन रहेका
तपाईंका ऊर्जाशील फाल्साहरूप्रति
ऋणी छु
माकुरोको जालोजस्तै सङ्ग्रहित यादहरू
गुराँसको बास्नाजस्तै तुवाँलो छर्छन्
गुम्सिएका अरण्यरोदन विस्तारित गरिदिन्छन्
आँखाका डिलबाट
जब कंशको कृष्ण वधको वक्रता सम्झन्छु
उहाँका रसाएका आँखा झुल्किन्छन्
जब अभिमन्यु वधको कुटिलता सम्झन्छु
उहाँको किक्लिक्क गरेको रूद्रघण्टी झुल्किन्छ
इतिहासका गौरवगाथा गुनिरहँदा
उहाँको एकरस गाम्भिर्यता सम्झिन्छु
देउडाका पाइलागान हेरिरहँदा
उहाँका ठाडो खेल, धमारी ढुस्को सम्झिन्छु
नैतिकताका उदासीन कठघराहरू देखिरहँदा
उहाँका अटल ऋतम्भरा सम्झिन्छु
इलाजका अवयवहरू विचरण गर्दा
डाक्ढर डाक्टरका रीतहरू सम्झन्छु
समय छिटो हिड्यो कि ढिलो भएँ
जीवन गतिशील भयो कि ऊर्जाहीन भएँ
अझै विलखबन्दमा छु

No comments:

Post a Comment