(सामाजिक न्यायको पर्खाइमा रहेका तमाम कुष्ठरोगीहरूप्रति समर्पित)
समयको रूखरेखाले
बेलगाम बनाएको मेरो जीवनको रथसँगै
आदिम युगसभ्यताबाट
युगानुयुग हस्तान्तरण भइरहेको
कुष्ठरोगको बीजले थलिएको छु ।
समयका हरेक बाछिटाहरूसँग
सिँगौरी खेल्दै
मेरो 'म' तत्व लाई अस्तित्व बनाउन
मेरो गाँसलाई पोषक बनाउन
मेरो ज्ञानलाई प्रवाह बनाउन
मेरो चिन्तालाई चिन्तन बनाउन
मेरो हिँडाइलाई उद्देश्य बनाउन
मेरो अप्ठ्यारोलाई आत्मबल बनाउन
मेरो जीवनलाई अपनत्व दिलाउन
अहोरात्र चिन्तनमा लीन रहेका मेरा फाल्साहरूले
आज दुर्मनायित महसुस गरिरहेका छन् ।
मेरो कुरूप कायाको बनोटमा
बेचैन रहेका मेरा आशाहरू
बोधो घाउका लेपनहरू लगाएर
पीडाका महलहरू सजाएको छु ।
अनुहारभरि विकारका गाँठाहरू बोकेर
अस्तित्वको आँचल पहरेको छु ।
शरीरभरि विकलाङ्ग पाटपूर्जा भिरेर
अचल अस्थिपञ्जरलाई ठड्याएकै छु ।
मेरो उपस्थितिमा कसैका बालबच्चालाई छल लाग्छ रे
मेरो उठबसले कसैको घरमा कुलच्छिन हुन्छ रे
मैले छोएको खाएमा चाँडै काल पल्किन्छ रे
मैले हिँडेको बाटो हिँडेमा यात्रा अधुरै हुन्छ रे
मैले मन्दिरभित्र पसेमा देवता रिसाउँछन् रे
मैले अपर्झट देखेमा अगेनोमा आगो बल्दैन रे
मैले टेढो हेरेमा, गाईले दूध दिन छाड्छ रे
मैले अट्टहास हाँसेमा प्रेतहरू भड्किन्छन् रे
र त यिनै कुराहरूको फेहरिस्तमा अडिएर
म आफू हुनुको, बाँच्नु नबाँच्नुको बोध समेत बिर्सन्छु ।
मेरो सौभाग्य,
औषधिमुलो पाएँ र निको भएँ
तर मेरो निम्ति बनेका सोचहरू फेरिएनन्
त्यसैले, कहिलेकाहीँ मलाईं लाग्छ,
म छु तर पनि आफैँभित्र हराएको छु
मलाईं सधैँ बुझ्ने मेरो मुटु समेत सशङ्कित भएको छ ।
तथापि
म सोच्छु,
मेरो शरीर मात्र त विकलाङ्ग छ
तर मान्छेको त मगज नै विकलाङ्ग रहेछ ।
मेरो त शरीरले कुष्ठरोग बोकेको थियो
तर मान्छेको त मुटुमै कुष्ठरोग गुम्सिएछ
र त भावनाविहीन, पीडाविहीन र संवेदनाविहीन छन् ।
अत:एव,
हिमाल पहाड र तराई हुँदै
समुन्द्र भेट्न बेपर्बाह आतुर नदीहरू जस्तै
म आतुर छु र बगिरहेको छु
जिगीषा र जिजीविषा राखेर ।
म लम्किरहेछु, लम्किरहनेछु
धिपधिपे बनेर
मलाईं अरूले आफ्नो वरिपरि देख्न नचाहेँ पनि
म घुमिरहनेछु समाजको दर्पण बनेर
तिनीहरूले सुन्न नचाहेँ पनि मलाईं
म भनिरहनेछु
मेरो शरीरको धुकधुकी रहेसम्म
म हिँड्नेछु, चिच्याउनेछु,
र बचाउँनेछु अरूलाई
मेरो परिवेश भोग्नबाट
फुक्ने छु बिगुल
बजाउनेछु दुन्दुभि
शिक्षाको, सोचको, र समयको
चिर्नेछु कुविचार
असमानता, अज्ञानता र अमानवताको ।
मलाई थाहा छ,
मेरो महाअभियानमा
मेरो देश पनि त मैसँग छ
त्यसैले त भट्याइरहेछ,
चोकचोकमा नारा र उद्घोषहरू
चिरिरहेछ कुरीति र अन्धविश्वास
र बाँडिरहेछ
नि:शुल्क औषधिमुलो र शिक्षा ।
मेरो विचरणको नेपाल
कुष्ठरोगरहित होस्,
तर त्यो तब मात्र साकार हुनेछ,
जब मान्छेले शरीरको कुष्ठरोग होइन,
मुटु र मगजभित्र गुम्सिएको कुष्ठरोग निको पार्न सक्नेछन् ।
No comments:
Post a Comment