Monday, June 30, 2014

देशको माैनता

सीमाको बाँधले जोडिएका
असङ्ख्य वस्तीहरू
सगर छुने चुचुराका फेदले 
कोरेका सीमा रेखाहरू
गतिशील नदीका भुगोलले
छुट्याइएका समथरहरू            
घनीभूत तृणभूमिले    
बनाएका साँधहरू
यिनै रेखाहरूबीच 
ठडिएको मेरो राष्ट्रियता 
र म ।

इतिहास साँचेर बसेका
कथित आदिवासीहरू
आफ्नोपन अपनत्व गरेका
तमाम रैतीहरू
बर्षौबर्ष मुठ्ठी बनेका
एउटै हूलमा मिसिएका
कयन् जातिहरू ।

आज आकाशवाणी भएछ 
अनि नदीशका ज्वारभाटाझैँ
मलिन आवाज चर्किएछन्
यहाँ नारा दिइएछ
आकाश छुने परिवर्तनको
जनताका छोराछोरी मालिक बन्ने कथाको
अनि उठाइएछ आवाज
तथाकथित दबिएका, हेपिएकाहरुको 
बिगुल बनेर ।

त्यहाँ नौलोपन झल्कन्छ
वाहवाहीको थपडी बज्छ 
अनि बल्ल आभाष गर्छन्
आफू दबिएको, हेपिएको कुरा
अरु कसैले सम्झाइदिएपछि
अनि त्यही सपनामा मिसिन्छन्,  मिसाइन्छन्
आफू मालिक हुने सपना देख्छन्
लहराउछन् आँखाहरू
सल्बलाउछन् ओठहरू
देख्न थाल्छन् फरक फरक
होचा नीचा बीजहरू, जातिहरू ।

कतै कसैलाई अपनत्व नभएको गुनासोे
अधिकार कुण्ठित भएको गुनासो
संविधानले नछुट्याएको 
अरुले नअलग्याएको
जीर्ण मानसिकताको बास ।

“श्रीमान् गम्भीर....” ले जोडेको पुरातन देशमा
अहिलेको  “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली” गुनेपनि
नेपाली मनहरू “सयौँ थुङ्गा फूलका हामी फरक फरक जातजाति” भन्न रुचाउँछन् 
अनि राष्ट्रियताका धर्षाहरु कोर्न खोज्छन्
सीमाका बाँध, सगर छुने चुचुरा
गतिशील नदी अनि घनीभूत तृणभूमिले
कोरेका सीमारेखाहरू बीच पनि
नयाँ रेखाहरु कोर्न थाल्छन् 
गणितीय ज्यामिति जस्तै
एउटै बिन्दुबाट कोर्न मिल्ने
अनगिन्ति रेखाहरू, कोणहरू
अनि कोरिन्छन् यिनै रेखाहरू
एकअर्का प्रति
मानवीय संवेदनाको उचाइभन्दा माथि ।

सायद आज देश नुहेको छ
यही त्रिविभोक्ष हेरेर
आफ्नो जिजिविषाको आयु गणना गर्दै
झोक्राएको छ
आफ्नो लुछाचुडी पछि बन्ने 
अनेकन् नयाँ रक्तबीज सम्झेर
आफ्ना आडमा रहेका चन्द्रसूर्य झोक्राएको देखेर
आफू पनि झोक्राएको छ
त्यसैले त ऊ आज मौन छ 
र सधैँसधैँ
सदा सदाका लागि 
मौन बसिरहने सङ्कल्प गर्दैछ ।