Wednesday, November 11, 2015

खलङ्गामा हमलाः समीक्षा

आवरण चित्रमा मक्किएको, चर्चराएको घर । अनि किताबको शीर्षक “खलङ्गामा हमला” । यी दुबै हेर्दा लाग्छ यो कुनै छापामार युवतीको डायरी हो । तर १३५ पृष्ठ लामो त्यो संस्मरण पढिसक्दा लाग्छ, यो कुनै प्रगाढ ईच्छाशक्ति र दृढ आत्मविश्वास बोकेकी एक देशभक्त महिलाको कथा हो । दीनदुःखीको सेवामा होमिएकी एवम् तन्नम बस्तीका वेदनाहरूमा प्रलेप लगाउन जन्मिएकी एक युग महिलाको कथा हो । र यसका निम्ति यस पुस्तककी लेखिका राधा पौडेललाई नमन गर्नैपर्छ ।

   २०७० सालको मदन पुरस्कार प्राप्त पुस्तक “खलङ्गामा हमला” एक कर्मठ नर्सको डायरी हो । नाता सम्बन्ध र व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्रनिर्माणको प्राथमिक कार्यमा होमिएकी एक स्वास्थ्य सेवकको डायरी हो । सधैँ राज्यबाट अपहेलित एवं विकासनिर्माणमा समेत जर्जर अवस्थामा रहेको कर्णालीलाई आफ्नो कर्मथलो बनाई सामाजिक एवं स्वास्थ्य क्षेत्रमा एउटा पहलकदमी रोप्ने नर्सको डायरी हो “खलङ्गामा हमला” । देश जर्जर द्वन्द्वमा होमिएको अबस्थामा समेत नडगमगाई अविचलित रुपमा आफूलाई मार्गदर्शकको रुपमा उभ्याउन सफल राधा पौडेललाई बुझ्न र हरेक जिजीविषालाई आत्मसाथ गर्न एकपल्ट “खलङ्गामा हमला” पढ्नै पर्ने हुन्छ ।


   पुस्तकको बारेमा भन्नुपर्दा, पुस्तकको शीर्षकमा जनाईएको  “खलङ्गा” कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदरमुकाम हो । द्वन्द्वकालमा सरकारी सेना र माओवादी सेनाबीच खलङ्गामा  भएको भीडन्तले नै यस पुस्तकको शीर्षक जन्माएको हो । लमजुङ जिल्लामा जन्मिएकी राधाले आफ्ना गरीब बा लाई “हामी कति गरीब है बा” भनी सोध्ने बालमनोरथको प्रश्नको उत्तरमा “होइन, हामी भन्दा गरीब त कर्णालीका मान्छे छन्” भन्ने पाउँथिन् । अनि त्यही प्रश्न उनको जिन्दगीको मार्गदर्शक भएर बस्यो । सधैँ आफूभन्दा गरीब कर्णाली भन्ने उत्तर पाइरहँदा उनको मनमा कर्णालीबारे अनेकथरी प्रश्न उब्जिन्थे अनि कर्णाली कस्तो होला, “ हामी भन्दा गरीब मान्छे रहेछन् है” भन्ने मानसिकताले सताइरहन्थ्यो उनलाई । र त्यही “सताहा” उनका लागि जीवनको नवीन घुम्ती सावित भयो ।


   उनले लेखेको पुस्तकमा छुट्टै शीर्षकमा जुम्लाको भोगाइ, जुम्लीहरूको वास्तविक दशालाई बडो मार्मिक ढङ्बागबाट प्रस्तुत गरेकी छिन् । आफ्नै आँखा अगाडि युद्ध भइरहँदा उब्जित त्रासको वातावरण अनि जीवन र मृत्युको दोसाँधको मनोदशालाई निकै मर्माहक पारामा झल्काएकी छन् । यी विविध दोसाँध, विपत् एवम् क्षयकारी अवस्था रहेर पनि पूरा गाउँलाई दृढ आत्मविश्वासका साथ जिजीविषा दिन सक्नु उनको सबैभन्दा आकृष्ट कुरा हो । द्वन्द्वको घाउपश्चात् पनि जुम्लाबाट फर्किने सबैको आग्रहलाई लत्याउँदै फेरि जुम्लामै काम गर्न जानु एक महिलाको सलामी निर्णय हो ।

“खलङ्गामा हमला” त्यो कथानक हो जो भत्किएका मनहरूलाई पनि दिलग्गी दिनसक्ने अथक माने राख्छ । यो ऊर्जाको बिगुल हो जो सुतेका नश्वरलाई ब्युँझाउन सक्ने हेक्का राख्छ । र त मदन पुरस्कार गुठीले गरेको निर्णय उचित एवं विचारणीय छ र सयौँ भीडमा एक्लो टाकुरो साबित भयो “खलङ्गामा हमला” ।


   अन्तमा भन्नुपर्दा, यो राधा पौडेलको भोगाइको कथानक हो जो महिला भएर पनि ईच्छाशक्तिमा विश्वास गर्छिन् । पुस्तक पढिसक्दा, पुस्तकको लेखाइ एकदम सरल, सरस र कारुणिक छ । यस पुस्तकभन्दा निकै अघि लेखिएको नारायण वाग्लेको पुस्तक ‘पल्पसा क्याफे’ ले दर्शाएको द्वन्द्वको घाउलाई पनि उछिनेको भान हुन्छ र द्वन्द्वको मनोदशालाई झन् भावनात्मक तरिकाले उतारेको छ “खलङ्गामा हमला” ले । अपितु पुस्तक लेखाइमा देखिएको अलि ठाडोपनलाई चिर्न सकेको भए पुस्तकले अझ बढी भावना तरङ्गित गर्न सक्ने थियो जस्तो लाग्छ । त्यसैगरी आवरण चित्रको चर्चराएको भग्न घरको तस्बीरले शीर्षक अनुरुप खलङ्गामा हमलाको वर्णन गरे पनि अझै यसमा कर्णालीका कुनै तन्नमबस्तीका जनताको कारूणिक तस्वीर उतारेको भए अझ सशक्त हुने थियो कि ?

   यद्दपि छोटो, मीठो, सरल, सरस एवं कारूणिक गाथाले हरियो भरियो भएको “खलङ्गामा हमला” एक सशक्त लेखिकाको सशक्त प्रतिबिम्ब हो । र यो कथानक हरेक नेपालीको प्रतिध्वनि हो र यस पुस्तकको विचरणबिना पाठकको पाठकीय पठन अपूरो नै ठहर्छ ।


Thursday, October 22, 2015

दशैँ

देशको दशामा

दशैँ मनाउँदाको थकथक
अत्यास लाग्दो हुँदो रैछ साँच्चै 
समुद्रका ज्वारभाटाझैँ 
उद्देलित हुँदा रैछन्, मनका आतुरित बेगहरू
आकाशको चन्द्रमा साक्षी छ 
यी सबै विचान्तर देशान्तरहरूको 
हो, यसपालीको दशैँ 
खल्लो नै सही 
गोरखा दरवारको जमरा र टीका
पनि त पुगेन हनुमान ढोका यसपालि 
अनि मोदि चाचाजीको कुआशिर्वादले 
पनि त फलिफाप पारेकोछ 
के के बन्दी गरेर यसपालि ।
थाहा छ, संविधानको थकथकी
अनि निहत्था जनताको वीरगति 
भुकम्पले उब्जाएका घाउका डोबहरू
सुक्न कहाँ पो पाएका छन् र ? 
दशैँको उल्लास 
अनि टीका र जमराको आशिर्वाद थाप्न
कोशौ पारिको थकथकी यात्राका 
यात्रुहरूको थकथकी
र निहत्थाको मृत्युवरण 
पनि त थाहा छ 
अनि मोदी चाचाकै कुआशिर्वादले उब्जाएको 
अनिकालको संकट टार्न 
मट्टीतेलको यात्रा गराइरहेका यात्रुहरूको दुर्घटना
यी सबै सबै थाहा छ,
अनि कहाँ हुन्छ र रौनक
उल्लास र टीकाको 
हारको उद्दानमा 
विजयको प्रत्याभूतिको 
कहाँ कसरी मनाओस् दशैँ 
लालबहादुरले त्यो शुकुम्बासी झुपडीमा 
अनि उसकी अर्धाङ्गनीले आफ्नो माइतीको झुपडीमा 
दशैदशाको पोखरीमा
आफूले पगरेको बर्खी नउतार्दै 
अनि कसरी मनाऊ मैले दशैँ
आफ्ना दाजुभाइको यो हालत देख्दा देख्दै 
अनि कसरी मनाऊ मैले दशैँ
देशको यो दशामा
अनि बेचैन मनमा ।

म आशातीत छु
मैले उल्लास साथ मनाउने दशैँ
अनि टीका, जमरा र आशिर्वाद थाप्ने दशैँ
कुन बर्षको कुन दशैँ हुने हो 
कृपया 
बर्ष किटानीका साथ
पक्कै पनि लेखियोस्
नयाँ संविधानका नयाँ धाराहरूमा
पक्कै पनि लेखियोस्
नयाँ संविधानका नयाँ धाराहरूमा ।।।


Tuesday, July 14, 2015

भानुभक्त्त आचार्य


जन्मे डाँडा वन चहुरमा रम्घा चुँदी वेसीमा
बित्यो शैशवकाल त्यो अति निको ज्ञानै लिए धर्ममा ।
निकै बुद्धिमता धरी मगजमा चेला यी श्रीकृष्णका
भैगे आदिकवि समस्त जनका, हुन् प्रेरणा सर्वका ।।


घाँसीका वचनै दिमाग भरिमा, मिल्यो ठूलो प्रेरणा
लेखे काव्य धेरै त्यसै बखतमा ऊर्जा लिर्इ साथमा ।
लेखे काण्ड सबै नेपाली जनकै त्यो प्यारो रामायण
चिनाए मोतिरामले सबमहाँ ठूला यी उदाहरण ।।



हौ हाम्रा तिमी नै कविवर हरे, भाषा कला औंतारी
नेपाली जग भो फराकिलो अहो साझा ठूलो चाैतारी ।
छन्दै छन् हृदयै विदारक सबै राम्रा र उत्कृष्ट यै
भानुभक्त रह्याै अमर जनममा युगाै र युगाै कनै ।।


देउता नै गनियाै तिमी कविवरे हे भक्त्त हो रामको
तिम्रै स्मृतिको दिवा लगन यो २९ असार वर्षको ।
श्रद्धा अर्पण गर्दछाै तिमी कनै हे भानुभक्त्तै कवि
नेपाली विभूति सदा शिखरमा कालजयी तिम्रो छवि ।।

Saturday, April 25, 2015

धरहराको अवसान

धरहरा
तिम्रो त अवसान भएछ
तिमी त मक्कियाै रे धरहरा
वर्षाैवर्षदेखिको तिम्रो इतिहास ध्वस्त भएछ
भीमसेन थापाको उल्ल्याहट भएछ
तिमीलाई समवेदना छ धरहरा
मनैदेखि ।


तिम्रो टुप्पोमा पुग्ने मेरो लक्ष्य एकादेशको कथा भैदियो
भविष्यका भ्रमरहरूलाई तिम्रो शिर टेकेको
अदम्य साहसको गाथा सुनाउन नपाउने भएँ
तिमी सङ्लो ठाडो थ्याै भन्न नपाउने भएँ
धरहरा
समवेदना छ तिमीलाई तिम्रो अवसानको ।


विचार गर्दैछु, धरहरा
अब तिम्रो शान दिएर नेपाल चिनाउन नपाइने भयो
नेताको बोली बेकम्मा ठहरिने भयो
तिम्रो नाम बेचेर डलर कहाँ पो कमाउन सकिने भयो र ?
हुन त तिम्रा दाैँतरी बसन्तपुर र पाटनले पनि धोका दिइहाले ।
मलाई थाहा छ
बसन्तपुरको नाै तले दरबारको उच्चो सिँढीमा
कुनै भ्रमर फक्रेको देख्न नपाइने भो
तिम्रो शीरमा सजिएका टुँडाल र झ्यालका बुट्टाको प्रशंसा गर्न नमिल्ने भो
त्यो बिचरा बसन्तपुर
बिचरा तिमी धरहरा ।

धरहरा
मलाई थाहा छ
माननीयले तिमीलाई पुनर्जन्म दिन खोज्लान्
पुनर्जन्मका लागि मन्थन गर्नुपर्ला ।
मन्थनबाट अमृत र बिष निस्केलान्, समुन्द्र मन्थनबाट निस्केजस्तै
बिष पान गर्न त काठमाडाैँ खाल्टाबासी शिवस्वरूपा भैदेलान्
तर अमृतपानका लागि माननीयहरू देवगण बन्न लछारपछार गर्नेछन्
अनि बर्षाैबर्षसम्म तिम्रो पुनर्निर्माण, पुनर्जन्म भैराख्नेछ
नाति पनाति कालसम्म
धरहरा, समवेदना छ तिमीलाई
तिम्रो अवसानको ।


धरहरा
तिम्रो अवसानको समय
कतिजना तिम्रो उचाइ जित्न खोज्दै थिए होलान्
तर अफसोच, उहिल्यै देखिको तिम्रो वेग
ज पोखि पो दियाै
निहत्था जनताको सासको आशसम्म बाँकी राखेनाै
माधुर्यताको प्राकृतिक वासस्थानलाई अस्थिपञ्जर बनाइगयाै ।
भीमसेन थापाले फ्नो कलङ्क देख्न नसकी
विरक्तिएर त्महत्या गरेका थिए रे
सायद तिमीले पनि त्यही बाटो रोजेको हुनुपर्छ
नेपाल नगरीको कुभलो देख्न सकेनाै होला
माननीयहरूको भोला प्रवृतिले विरक्तियाै होला
त्यसैले त तिमीले पनि तिम्रा निर्माताको बाटो रोज्याै
बधाई छ तिमीलाई
तर पनि मेरो समवेदना भने छँदैछ
तिम्रो अघोषित अवसानको ।।

Sunday, March 1, 2015

तिमी


समर्पणः जीवनका स्वर्णीम स्वप्नील स्मृतिहरूप्रति

सङ्गीत सुशेलीमा भिजिरहँदा                                  
नक्षत्रहरू आकाशगङ्गामा पौडिरहँदा                           
बादलको घुम्टो आकाशमा लुकामारी खेल्दै गर्दा
अनि यौवनाहरू आफ्नो काकलीमा रमाइरहँदा
म तिमीलाई सम्झदै बस्थेँ
तिमीसँगै काकलीमा रमाइरहन्थेँ
तिम्रो सुशेलीको सङ्गीत बनिदिन्थेँ
हो प्यारी दायादी
म तिमीसँगै हुन्थेँ
म तिमीसँगै हुन्थेँ ।।

मोहिनी पद्मिनीसँगको भेट जस्तै
पहिलो भेटमै बिमोहित बनायौ
तिम्रो भलाद्मीपनाले अनि मृदुल मन्दमुस्कानले लट्ठ्यायौ
शान्त र स्निग्ध मनले तानी ल्यायाै
सुन्दरता र सरलताको तीर रोप्यौ
अनि त लटि्ठ्ए म
तिमी सँगै सधैँ सधैँ ।।

म तिमीलाई भेनस भन्न रुचाउँछु
अनि अफ्रोडाइटलाई तिमीसँग तुलना गर्न थाल्छु
जब म तिमीलाई भेट्छु
शीतलता अनि ऊर्जाको नवीन आभा झल्कन्छ
सँगै हिड्न मज्जा लाग्छ, अझ तिम्रो साथ
झन् उकाली ओराली गर्न पाए
यात्रा कति रमाइलो हुँदो हो
अनि पो यो मन यसै यसै बहकिन्छ
अझ तिम्रा लागि धड्किन्छ
खै तिम्रा लागि धड्किन्छ ।
तिम्रो चञ्चलतामा म अभिनय गर्छु
तिम्रो मृदुलतामा म अनुभव गर्छु
तिम्रो सुन्दरतामा म लट्ठ हुन्छु
तिम्रो मौनतामा म बुद्ध हुन्छु
तिम्रो विद्धतामा म विचरण गर्छु
तिम्रो मन्दहाँसमा म मुस्कुराउँछु
तिम्रो आवेगमा म ज्योत्स्ना हुन्छु
तिम्रो कठोरतामा म मृदुल हुन्छु
यी सबै सबैमा म तिमी हुन खोज्छु
अनि पो त तिमी सँगै हुन खोज्छु
तिमीलाई नै महसुस गर्छु
मात्र तिमीलाई ।।

तिम्रो सुनामलाई म आफैँ अथ्र्याउन खोज्छु
सन्धि विग्रह गर्न थाल्छु, अनि सुनै सुनको भण्डार भेट्टाउँछु
अनि सुनै सुनको भण्डार भेट्टाउँछु
साँच्चै “सुन” छौ“ र “सुन” रहिरहनू, सदाकाल सधैँभरि
बाँचिरहनू सुनगाभा र सुनाखरी रहेसम्म
सुनकोशी बगेसम्म
सुनकल्च्छेलाई साक्षी राखी 
तिम्रो स्वागतार्थ
कयन् सुनकिरीहरू परिक्रमा गरिरहून् सधैँसधैँभरि ।

स्वप्नील आभामण्डल तिम्रो भविष्य होस्
म तरङ्गीत हुनेछु
प्यारी दायादी
तिम्रो विशाल हृदयको कुनै कुनामा
मेरो वासस्थान भेट्टाए भने
मेरो वासस्थान भेट्टाए भने ।।