Sunday, March 1, 2015

तिमी


समर्पणः जीवनका स्वर्णीम स्वप्नील स्मृतिहरूप्रति

सङ्गीत सुशेलीमा भिजिरहँदा                                  
नक्षत्रहरू आकाशगङ्गामा पौडिरहँदा                           
बादलको घुम्टो आकाशमा लुकामारी खेल्दै गर्दा
अनि यौवनाहरू आफ्नो काकलीमा रमाइरहँदा
म तिमीलाई सम्झदै बस्थेँ
तिमीसँगै काकलीमा रमाइरहन्थेँ
तिम्रो सुशेलीको सङ्गीत बनिदिन्थेँ
हो प्यारी दायादी
म तिमीसँगै हुन्थेँ
म तिमीसँगै हुन्थेँ ।।

मोहिनी पद्मिनीसँगको भेट जस्तै
पहिलो भेटमै बिमोहित बनायौ
तिम्रो भलाद्मीपनाले अनि मृदुल मन्दमुस्कानले लट्ठ्यायौ
शान्त र स्निग्ध मनले तानी ल्यायाै
सुन्दरता र सरलताको तीर रोप्यौ
अनि त लटि्ठ्ए म
तिमी सँगै सधैँ सधैँ ।।

म तिमीलाई भेनस भन्न रुचाउँछु
अनि अफ्रोडाइटलाई तिमीसँग तुलना गर्न थाल्छु
जब म तिमीलाई भेट्छु
शीतलता अनि ऊर्जाको नवीन आभा झल्कन्छ
सँगै हिड्न मज्जा लाग्छ, अझ तिम्रो साथ
झन् उकाली ओराली गर्न पाए
यात्रा कति रमाइलो हुँदो हो
अनि पो यो मन यसै यसै बहकिन्छ
अझ तिम्रा लागि धड्किन्छ
खै तिम्रा लागि धड्किन्छ ।
तिम्रो चञ्चलतामा म अभिनय गर्छु
तिम्रो मृदुलतामा म अनुभव गर्छु
तिम्रो सुन्दरतामा म लट्ठ हुन्छु
तिम्रो मौनतामा म बुद्ध हुन्छु
तिम्रो विद्धतामा म विचरण गर्छु
तिम्रो मन्दहाँसमा म मुस्कुराउँछु
तिम्रो आवेगमा म ज्योत्स्ना हुन्छु
तिम्रो कठोरतामा म मृदुल हुन्छु
यी सबै सबैमा म तिमी हुन खोज्छु
अनि पो त तिमी सँगै हुन खोज्छु
तिमीलाई नै महसुस गर्छु
मात्र तिमीलाई ।।

तिम्रो सुनामलाई म आफैँ अथ्र्याउन खोज्छु
सन्धि विग्रह गर्न थाल्छु, अनि सुनै सुनको भण्डार भेट्टाउँछु
अनि सुनै सुनको भण्डार भेट्टाउँछु
साँच्चै “सुन” छौ“ र “सुन” रहिरहनू, सदाकाल सधैँभरि
बाँचिरहनू सुनगाभा र सुनाखरी रहेसम्म
सुनकोशी बगेसम्म
सुनकल्च्छेलाई साक्षी राखी 
तिम्रो स्वागतार्थ
कयन् सुनकिरीहरू परिक्रमा गरिरहून् सधैँसधैँभरि ।

स्वप्नील आभामण्डल तिम्रो भविष्य होस्
म तरङ्गीत हुनेछु
प्यारी दायादी
तिम्रो विशाल हृदयको कुनै कुनामा
मेरो वासस्थान भेट्टाए भने
मेरो वासस्थान भेट्टाए भने ।।