धरहरा
तिम्रो त अवसान भएछ
तिमी त मक्कियाै रे धरहरा
वर्षाैवर्षदेखिको तिम्रो इतिहास ध्वस्त भएछ
भीमसेन थापाको उल्ल्याहट
भएछ
तिमीलाई समवेदना छ धरहरा
मनैदेखि ।
तिम्रो टुप्पोमा पुग्ने
मेरो लक्ष्य एकादेशको कथा भैदियो
भविष्यका भ्रमरहरूलाई तिम्रो शिर टेकेको
अदम्य साहसको गाथा सुनाउन
नपाउने भएँ
तिमी सङ्लो ठाडो थ्याै भन्न नपाउने भएँ
समवेदना छ तिमीलाई तिम्रो
अवसानको ।
विचार गर्दैछु, धरहरा
अब तिम्रो शान दिएर नेपाल
चिनाउन नपाइने भयो
नेताको बोली बेकम्मा ठहरिने
भयो
तिम्रो नाम बेचेर डलर कहाँ
पो कमाउन सकिने भयो र ?
हुन त तिम्रा दाैँतरी बसन्तपुर र पाटनले पनि धोका दिइहाले ।
मलाई थाहा छ
बसन्तपुरको नाै तले दरबारको उच्चो सिँढीमा
कुनै भ्रमर फक्रेको देख्न
नपाइने भो
तिम्रो शीरमा सजिएका टुँडाल र झ्यालका बुट्टाको प्रशंसा गर्न नमिल्ने भो
त्यो बिचरा बसन्तपुर
बिचरा तिमी धरहरा ।
धरहरा
मलाई थाहा छ
माननीयले तिमीलाई पुनर्जन्म दिन खोज्लान्
पुनर्जन्मका लागि मन्थन गर्नुपर्ला ।
मन्थनबाट अमृत र बिष
निस्केलान्, समुन्द्र मन्थनबाट निस्केजस्तै
बिष पान गर्न त काठमाडाैँ खाल्टाबासी शिवस्वरूपा भैदेलान्
तर अमृतपानका लागि माननीयहरू
देवगण बन्न लछारपछार गर्नेछन्
अनि बर्षाैबर्षसम्म तिम्रो पुनर्निर्माण, पुनर्जन्म भैराख्नेछ
नाति पनाति कालसम्म
ओ धरहरा, समवेदना छ तिमीलाई
तिम्रो अवसानको ।
धरहरा
तिम्रो अवसानको समय
कतिजना तिम्रो उचाइ जित्न
खोज्दै थिए होलान्
तर अफसोच, उहिल्यै देखिको
तिम्रो आवेग
आज पोखि पो दियाै
निहत्था जनताको सासको आशसम्म बाँकी राखेनाै
माधुर्यताको प्राकृतिक वासस्थानलाई अस्थिपञ्जर बनाइगयाै ।
भीमसेन थापाले आफ्नो कलङ्क देख्न नसकी
विरक्तिएर आत्महत्या गरेका थिए रे
सायद तिमीले पनि त्यही बाटो
रोजेको हुनुपर्छ
नेपाल नगरीको कुभलो देख्न
सकेनाै होला
माननीयहरूको भोला प्रवृतिले विरक्तियाै होला
त्यसैले त तिमीले पनि
तिम्रा निर्माताको बाटो रोज्याै
बधाई छ तिमीलाई
तर पनि मेरो समवेदना भने
छँदैछ
तिम्रो अघोषित अवसानको ।।