आवरण चित्रमा मक्किएको, चर्चराएको घर । अनि किताबको शीर्षक “खलङ्गामा हमला” । यी दुबै हेर्दा लाग्छ यो कुनै छापामार युवतीको डायरी हो । तर १३५ पृष्ठ लामो त्यो संस्मरण पढिसक्दा लाग्छ, यो कुनै प्रगाढ ईच्छाशक्ति र दृढ आत्मविश्वास बोकेकी एक देशभक्त महिलाको कथा हो । दीनदुःखीको सेवामा होमिएकी एवम् तन्नम बस्तीका वेदनाहरूमा प्रलेप लगाउन जन्मिएकी एक युग महिलाको कथा हो । र यसका निम्ति यस पुस्तककी लेखिका राधा पौडेललाई नमन गर्नैपर्छ ।
२०७० सालको मदन पुरस्कार प्राप्त पुस्तक “खलङ्गामा हमला” एक कर्मठ नर्सको डायरी हो । नाता सम्बन्ध र व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्रनिर्माणको प्राथमिक कार्यमा होमिएकी एक स्वास्थ्य सेवकको डायरी हो । सधैँ राज्यबाट अपहेलित एवं विकासनिर्माणमा समेत जर्जर अवस्थामा रहेको कर्णालीलाई आफ्नो कर्मथलो बनाई सामाजिक एवं स्वास्थ्य क्षेत्रमा एउटा पहलकदमी रोप्ने नर्सको डायरी हो “खलङ्गामा हमला” । देश जर्जर द्वन्द्वमा होमिएको अबस्थामा समेत नडगमगाई अविचलित रुपमा आफूलाई मार्गदर्शकको रुपमा उभ्याउन सफल राधा पौडेललाई बुझ्न र हरेक जिजीविषालाई आत्मसाथ गर्न एकपल्ट “खलङ्गामा हमला” पढ्नै पर्ने हुन्छ ।
पुस्तकको बारेमा भन्नुपर्दा, पुस्तकको शीर्षकमा जनाईएको “खलङ्गा” कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदरमुकाम हो । द्वन्द्वकालमा सरकारी सेना र माओवादी सेनाबीच खलङ्गामा भएको भीडन्तले नै यस पुस्तकको शीर्षक जन्माएको हो । लमजुङ जिल्लामा जन्मिएकी राधाले आफ्ना गरीब बा लाई “हामी कति गरीब है बा” भनी सोध्ने बालमनोरथको प्रश्नको उत्तरमा “होइन, हामी भन्दा गरीब त कर्णालीका मान्छे छन्” भन्ने पाउँथिन् । अनि त्यही प्रश्न उनको जिन्दगीको मार्गदर्शक भएर बस्यो । सधैँ आफूभन्दा गरीब कर्णाली भन्ने उत्तर पाइरहँदा उनको मनमा कर्णालीबारे अनेकथरी प्रश्न उब्जिन्थे अनि कर्णाली कस्तो होला, “ हामी भन्दा गरीब मान्छे रहेछन् है” भन्ने मानसिकताले सताइरहन्थ्यो उनलाई । र त्यही “सताहा” उनका लागि जीवनको नवीन घुम्ती सावित भयो ।
उनले लेखेको पुस्तकमा छुट्टै शीर्षकमा जुम्लाको भोगाइ, जुम्लीहरूको वास्तविक दशालाई बडो मार्मिक ढङ्बागबाट प्रस्तुत गरेकी छिन् । आफ्नै आँखा अगाडि युद्ध भइरहँदा उब्जित त्रासको वातावरण अनि जीवन र मृत्युको दोसाँधको मनोदशालाई निकै मर्माहक पारामा झल्काएकी छन् । यी विविध दोसाँध, विपत् एवम् क्षयकारी अवस्था रहेर पनि पूरा गाउँलाई दृढ आत्मविश्वासका साथ जिजीविषा दिन सक्नु उनको सबैभन्दा आकृष्ट कुरा हो । द्वन्द्वको घाउपश्चात् पनि जुम्लाबाट फर्किने सबैको आग्रहलाई लत्याउँदै फेरि जुम्लामै काम गर्न जानु एक महिलाको सलामी निर्णय हो ।
“खलङ्गामा हमला” त्यो कथानक हो जो भत्किएका मनहरूलाई पनि दिलग्गी दिनसक्ने अथक माने राख्छ । यो ऊर्जाको बिगुल हो जो सुतेका नश्वरलाई ब्युँझाउन सक्ने हेक्का राख्छ । र त मदन पुरस्कार गुठीले गरेको निर्णय उचित एवं विचारणीय छ र सयौँ भीडमा एक्लो टाकुरो साबित भयो “खलङ्गामा हमला” ।
अन्तमा भन्नुपर्दा, यो राधा पौडेलको भोगाइको कथानक हो जो महिला भएर पनि ईच्छाशक्तिमा विश्वास गर्छिन् । पुस्तक पढिसक्दा, पुस्तकको लेखाइ एकदम सरल, सरस र कारुणिक छ । यस पुस्तकभन्दा निकै अघि लेखिएको नारायण वाग्लेको पुस्तक ‘पल्पसा क्याफे’ ले दर्शाएको द्वन्द्वको घाउलाई पनि उछिनेको भान हुन्छ र द्वन्द्वको मनोदशालाई झन् भावनात्मक तरिकाले उतारेको छ “खलङ्गामा हमला” ले । अपितु पुस्तक लेखाइमा देखिएको अलि ठाडोपनलाई चिर्न सकेको भए पुस्तकले अझ बढी भावना तरङ्गित गर्न सक्ने थियो जस्तो लाग्छ । त्यसैगरी आवरण चित्रको चर्चराएको भग्न घरको तस्बीरले शीर्षक अनुरुप खलङ्गामा हमलाको वर्णन गरे पनि अझै यसमा कर्णालीका कुनै तन्नमबस्तीका जनताको कारूणिक तस्वीर उतारेको भए अझ सशक्त हुने थियो कि ?
यद्दपि छोटो, मीठो, सरल, सरस एवं कारूणिक गाथाले हरियो भरियो भएको “खलङ्गामा हमला” एक सशक्त लेखिकाको सशक्त प्रतिबिम्ब हो । र यो कथानक हरेक नेपालीको प्रतिध्वनि हो र यस पुस्तकको विचरणबिना पाठकको पाठकीय पठन अपूरो नै ठहर्छ ।