Friday, October 28, 2016

म, तिमी र समय


समयले माग्यो
मेरो कौतुहलता
मैले मागे तिम्रो समय
तिमीले भविष्यका लागि साँच्यौ


समय त्यही न हो
जसको म प्रतीक्षा गरिरहेछु
समय उही त हो 
जसको तिमीले सदुपयोग गरिरहेछौ 



तिम्रो सुनौलो वर्तमानमा
समयकै त हात छ
जसरी मेरो अप्रत्याशीत आगतमा
समयकै लगाम छ ।
थाहा छ, तिमीले कल्पेको स्वप्नमा
समय रमाइरहेछ 
र रमाइरहेछाै तिमी सँगसँगै 
तर ऊ बेखबर छ, आफ्नो पावन्दीको ।
ऊ तौलिरहन्छ तिमी र मलाई
एउटै तराजुमा
यही सोच्दै, कि तिम्रो र मेरो अस्तित्व 
एउटै हो भनेर ।
समय त्यत्तिकै बलवान् रहेनछ ।।।

Monday, October 24, 2016

मैले कविता किन लेखेँ


मेरा कविता
तिमी पढ्नू भनेर लेख्छु
आफ्ना मनका अन्तरकुन्तर खोल्छु
आफूलाई पखाल्छु
यो सन्देश तिमीलाई पुर्याउन ।
मसँग बोल्ने शब्दहरू छैनन्
नत बोल्ने विषयहरू नै छन्
ती सबै विषयहरू
जहाँ म मेरा खुसीहरू लत्पतिएको देख्थेँ
ती सबैले उत्तर पाइसकेका छन्
स्वयम् बाट ।

मनमा असिमित पीडाहरू छन्
अनगिन्ती शब्दहरू छन्
कयन् भावहरू छन्
श्रेयस्कर स्मृतिहरू छन्
तर मेरो बोली फुट्दैन
म निःशब्द हुन्छु ।
पहिले, जब म बोल्थेँ
मेरो मगजले प्रसोधन गर्थ्यो
र मुखबाट प्रसारण गर्थ्यो
अहिले, मेरो मुटु प्रसोधन गर्न थालेको छ
र आँखाबाट प्रसारण गर्छ ।
आशा छ, तिम्रो प्रतीक्षा मात्र
मेरो कविता नहोस्
मेरो कविता मात्र
तिम्रो जीवनी नहोस्
समयले डोर्‍याउने दिनहरूमा
मैले मेरो उत्तर पाउनेछु
जब तिमीले कविताको अर्थ बुझ्नेछौ
तब मेरो थकित मगजले
चैनको सास फेर्नेछ
र मेरा खुसीहरू दोहोरिनेछन्
मेरो बोलीले गति लिनेछ ।
नेपथ्यमा तिमीले सधैँ
आफूलाई प्रश्न गरिरहनेछौँ
हरेक जिन्दगीको पात्र म नै किन भनेर ?

(यस कविताका पात्रहरू काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ )