पुस्तक समीक्षा
धरा, अर्थात
धरती । धरा शब्दको दोस्रो अर्थ शब्दकोशमा थपिने भएको छ, “काव्यिक उत्कर्षको अनुपम नमुना” । र
यसलाई थप्न बाध्य पारेको छ, डा नवराज लम्सालद्वारा लिखित महाकाव्य
धराले ।
वर्षौंदेखि रेडियोमा सुनिएको जनप्रिय
स्वर, मधुवनका स्रष्टा, प्रसारक, कवि
एवं गीतकार डा नवराज लम्सालको काव्यिक क्षमताको उत्कर्ष हो धरा महाकाव्य । धरा
उनको छैटौं कृति हो भने महाकाव्यका रूपमा दोस्रो । तर काव्यफाँटको उत्कृष्ट नमुना धरा
नै हो भन्दा कुनै अत्युक्ति हुँदैन । धरा त्यो धरतीको कथा हो जुन पौरस्त्य
देशहरूको वैचारिक नेतृत्वदाता र पूर्वीय ज्ञानधाराको आदिभूमि हो । डा लम्सालकै
शब्दमा धरा त्यो धरणी हो जो वैरीको पाउ नपरेको कुमारी माटो मात्र होइन, विचार
र भूगोलमा संसारकै सर्वोच्चता पनि हो ।
तर यति हुँदाहुँदै पनि यस धराका
रैतीहरूमा चिन्तनभन्दा चिन्ता सर्वोपरी भएकोमा चिन्तित छन् कवि । २६ सर्गमा
विस्तार गरेर लेखिएको धरामा, क्रमसँगै
मिलाएर सर्गहरू राखिएका छन् । डा लम्साल सबैलाई आव्हान गर्छन्,
“देशमा देश खोज्दैछु
वंश वान्धवले सुन
यो धर्ती सबको भन्ने
नबुझ्ने सबले सुन ।”
डा लम्सालले आफैँलाई पनि कविताको विषय
बनाएर महाकाव्यमा नयाँ प्रयोग त ल्याएका छन् नै, साथै
आफूलाई जनस्तरमा समेत भिजाएका छन् । राष्ट्र अधोगति तर्फ जानुको दोषको हिस्सेदार
आफू पनि हुँ भन्दै आफैँलाई कठघरामा उभ्याएका छन् । यस अर्थमा यो उनको इमानदारीको करारनामा
पनि हो । उहाँ आफैँलाई प्रश्न गर्छन्,
“ए नवराज लम्साल
तँ कस्तो देश देख्दछस् ?
लेख्नैका लागि लेख्छस् कि
देखेकै सत्य लेख्दछस् ?”
हल्लैहल्लाको देश भन्दै भूपि शेरचनले
गरेको व्यङ्ग्यलाई स्वीकार्दै डा लम्साल पनि नेपालीहरू सतही कुरामा मात्र
रुमल्लिरहेकोमा निराश देखिएका छन् । हामी फगत बाँचेका मात्र छौँ र बाँच्नुकै
निरन्तरतामा प्राप्तिको सरलरेखा भेट्टाउछौँ । सधैँ बिरोध मात्र गरिरहने, यो
भएन त्यो भएन भन्दै एकअर्कालाई सरापिरहने नेपालीको बानीले आजित भएका छन् ।
अहिले मान्छेहरू आलस्यका दास भएको भन्दै
सुतेको बाघको मुखमा मृग आफैँ नगएझैँ आफूले मिहिनेत नगरीकन केही कुरा पनि सम्भव
नहुने भन्छन् । भनिन्छ पनि,
“उद्यमेन हि सिध्यन्ति कार्यणि न
मनोरथै
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे
मृगाः”
शान्ति खोज्दै भौँतारिरहेको मान्छे
सङ्कटपिच्छे फेरिन्छ, भीडबाट भागेपनि भीडमै निरन्तर हुन्छ र
भीड खोजिरहेझैँ लाग्छ भन्दै सच्चिदानन्दको प्रसङ्ग पनि झिक्छन् र चित्तचौतारोको
कुरा गर्दै पीपलसँग तुलना गर्न थाल्छन् ।
“सच्चिदानन्दको यो चित्तचौतारोमा
पीपलको फेदमा
र शान्ति मात्रै खोज्न हिँडेका हौ भने
सम्झ–
पीपलमुनि बस्दैमा सबै बुद्ध हुँदैनन्
बुद्ध हुँदैनौ तिमी पनि
जति बुद्ध जन्माए पनि बुद्ध हुन्न मै
पनि
बुद्ध आफैँ पनि बुद्ध भएकामा खुसी
नहोलान् अचेल, बुझ्यौ ।”
कवि, काव्य
र कविता बीचको अन्तरसंवादको सेरोफेरोमा टहलिएको छ धरा । उनले देशलाई आमाको
संज्ञा दिएका छन् र सुनाएका छन् देशाटनका कलेवरहरू । अन्तरसंवादमै कवि कहिले
राजधानी पुग्छन् त कहिले बसन्तपुर । कहिले मातातीर्थमा रुमल्लिन्छन् त कहिले
प्रेमका उक्तिहरूमा । देशको खोजी गर्दै कहिले सडकयात्राहरूमा सविस्तार भेटिन्छन् त
कहिले बस्तीको बयान गर्दै जन्मथलो धादिङ पुगेका भेटिन्छन् डा लम्साल ।
डा लम्साल राजधानी आउनेहरूलाई प्रश्न
गर्छन्ः
“बेलाबेला आउँछन् मान्छेहरू
पल्टाउँछन् ढुङ्गा र खोज्न खोज्छन्
इतिहास
ने मुनिको
मञ्जुश्रीको
गोपाल, आहिर, किराँत, मल्ल
र शाहहरूको
इतिहास खोज्नेहरू शासककै मात्र खोज्छन्
खोज्छन् तिनकै तिथिमिति र राजपाटका कथा
तर किन खोज्दैनन्
यही ढुङ्गामा कुँदिएका जनताका
पाइला–डाम ?”
मान्छेहरू भ्रमदौड र भागदौडमा रहेका
छन् भन्दै भ्रम खाने, भ्रममा सुत्ने र भ्रममा बाँचेर भ्रममै
मर्नेहरूको सपना सहरझैँ छ दिनहुँ यो काठमाडौँ सहर भन्दै आश्चर्यचकित हुन्छन् ।
यहीँ भाग दौडमै चमक र चाँदनी भेट्छन्, पौरख
र वीरता देख्छन्, द्रव्य शाहले लिगलिगे दौडमा दौडेजस्तै
यी कथाको पात्र हुने सपना बोकेर मान्छेहरू दौडिरहेका छन् ।
“देशसँग केही माग्नुअघि यत्ति भनिदेऊ
वीर र वैभवशाली हुने काम हामीले के के
गर्यौ
देशकै छातीमा उभिएर यत्ति भन–
कति इन्च छाती दिएका छौ यो देश उभिन ?”
उनी प्रतिप्रश्न गर्छन्,
“हिजो देश बनेकामा आज गौरव गरेझैँ
भोलिले गौरव गर्ने काम हामीले के के गर्यौ ?”
त्यस्तै देश र सरकार भनेका फरकफरक
कुराहरू हुन् । माग्नुको नाममा हामी देशसँग मागिरहेका छौँ र देश र सरकार एउटै हो
भन्ने भ्रान्तिमा छौँ । सन्की शासकहरूको पागलपन र त्यसको क्षतिको जिम्मा सधैँ
देशले नै लिनुपर्छ र ? भन्दै उनी भन्छन्,
“देशले नदिने के छ
के रोक्छ देशले कहाँ
छेक्ने शासक हुन् जान
के छेक्छ देशले यहाँ ।”
संसार अन्ततः प्रेममै अडिएको छ भन्दै
प्रेम प्रसङ्ग जोड्छन् डा लम्सालः
“मलाई ताज महलमा विश्वास छैन
हृदयभन्दा ठूलो ताज महल कुन छ प्रेमको
मरेपछिको मुनामदन ! मर्नेलाई के अर्थ !
लैला मजनु वा रोमियो जुलियट
यी त केवल दुनियाँका रुन्चे प्रशंसा
हुन्
प्रेम त बाँचेर गर्ने हो
प्रेम त हाँसेर गर्ने हो
तोडेर बन्धनहरू
पन्छाएर बाधाहरू
जिउँदैमा जोडिनुपर्छ धुकधुकी
जीवनभर तड्पेर मरेपछिको फुस्रो कथा के
जीवन, के प्रेम ?
दुईचार कविको गन्थनको फूलजडी होइन
ब्युँझिएको चेतनामा खोज
असली प्रेमको दिव्य कथा !
र सम्पूर्ण देशभक्तिको विराट काव्यगाथा
।”
हामी आज ससाना कुरालाई लिएर विभाजित
भएका छौँ कौरव र पाण्डव जस्तै । चिनोमा विवाद, चिन्हमा
विवाद, पद्धतिमा विवाद, पहिचानमा विवाद र विवाद शृङ्खला कै
शृङ्खलामा विवाद गरिरहेकाछौँ ।
देश बदल्न हिँडेकाहरू आफैँ बदलिए तर
देश बदलिएन । के वर्तमानका मान्छेहरूसँग इतिहासबोध र भविष्यबोध नभएकै हो त ? देश
हाँक्ने ड्राइभरले यात्रा सुरक्षित बनाउन नसक्दा सँगै हिँडिरहेका हामी यात्रुहरूको
गन्तव्य के होला भन्दै चिन्ता व्यक्त गर्छन् कवि ।
यी तमाम चिन्ताका बाबजुत पनि
दार्चुलाका दूरदराजदेखि ताप्लेजुङका तन्नमबस्तीसम्मका, तराईदेखि
हिमालसम्मका, सम्पूर्ण जातजातिदेखि तिनका
पहिचानसम्मका, ऐतिहासिक धरोहरदेखि इतिहास
उत्खननसम्मका र त्यसभित्र अटाउने दार्शनिक चेतनाका कुरा बडो मार्मिक एवं कलात्मक
पारामा झल्काएका छन् ।
राष्ट्रका अगाडि व्यक्ति केही पनि
नभएको र एउटै राष्ट्रिय छातामा सबै अटाउनुपर्छ भन्ने अठोट छ । यही सहिष्णुता र
अनेकतामा एकता जनाउँदै सबैको साझा म नेपाली हुँ भन्दै उनी भन्छन्,
“लार्के मै हुँ किसान हुँ मगर हुँ माली
हुँ घर्ती म हुँ
थारू पश्चिम दाङ वा धनगढी सौका र
डोट्याल हुँ
गुप्ता, यादव, झा
र राजपुत हुँ, डोल्पो र ताङ्वे म हुँ
मै छन्त्याल कुमाल झाँगड दुरा बोटे र
भोटे म हुँ
तोप्के, धानु, जिरेल, ताजपुरिया, हायू
र ह्यल्मो म हुँ
डा लम्सालको देशको परिकल्पना बृहत्तर छ । उनले एक आम नेपाली नागरिकको दृष्टिविन्दु बाट देश लेखेका छन् । नेपाली जनजीवनका मिहिन पक्षको उजागर गरेका छन् । उनी भन्छन्, मान्छेको चेतनास्तर माथि नउठ्दासम्म देश कदापि माथि उठ्न सक्दैन ।
डा लम्सालको अर्को सबल पक्ष भनेको
देशका शीर्ष नेतृत्वलाई धरा मार्फत काव्यिक आँखाबाट देश चिनाउने प्रयत्न
गर्नु हो । यसका निम्ति डा लम्साललाई धन्यवाद दिनैपर्छ । एउटा आम नेपालीको
परिकल्पनामा रहेको देश र देश हाँक्ने रथीहरूको चिन्तनमा रहेको फरकपन पनि धराले
समेट्ने प्रयास गरेको छ र स्मरण गराएको छ नेपाली कथाव्यथाहरू । धराले राजनीतिज्ञलाई पनि स्पष्ट संदेश दिएको छ, जनताका
सपना, विश्वास र कलापूर्ण वाणी मिसिएपछि मात्रै कुनै पनि देश पूर्ण देश
बन्छ । यसकै फलस्वरूप, एउटा खास राजनीतिक पार्टीको अभियानले
मात्रै नपुगी कलासाहित्य, विज्ञान, दर्शन
र बौद्धिक क्षेत्रमा समेत नवीन चिन्तन हुनुपर्छ भन्दै राजनीतिज्ञहरूले आत्मबोध
गर्नु खुसीको कुरा हो ।
कविता र आमसञ्चारका माध्यमबाट देश र
मान्छे पढेका डा लम्सालको सपनाको सुन्दर आकृति हो धरा । समालोचक महेश
पौड्यालले भनेझैँ धरा, डा लम्सालको हृदयको कोमलता, व्यवहारको
सरलता, अध्ययनको गाम्भीर्य र चिन्तनको उच्चताको समागम हो । रचनागर्भका
सन्दर्भमा डा लम्साल भन्छन्, “जतिखेर नेपालीले नेपाली हुँ भन्न
बिर्सेर गुरुङ, राई, लिम्बु, मधेसी, पहाडी
भनेर चिनाउन थाले, त्यहीँबाट सुरु भयो धराको
रचनागर्भ । अरू जाति हुन् भने नेपाली महाजाति । त्यसैले यो सबैभन्दा अगाडि आउँछ र
त्यसपछि मात्रै अरू आउँछन् ।”
एउटा कविले विवरण र वर्णनका नीरस
थुप्रोबाट कवितालाई जोगाएर त्यहीँभित्र चिन्तन उठाउनुपर्छ भनी स्वयं डा लम्साल
भन्छन् । यस अर्थमा पनि धराको ओजन धेरै माथि रहेको छ । ठाउँठाउँमा प्रयोग
गरिएका विम्ब एवं अलङ्कारले महाकाव्यलाई मीठासपूर्ण एवं कर्णप्रिय बनाएका छन् ।
गद्य एवं पद्य शैली, त्यसमाथि भिन्नाभिन्नै छन्दहरूको
प्रयोगले काव्यको रोचकता त बढाएकै छन्, साथै
श्राव्य पनि उत्तिकै बनाएका छन् ।
अन्तमा भन्नुपर्दा, जीवन
र मानव महिमाका कवि, कोमलता र सरलताका कवि, कवि
सँगसँगै गीतकार र कलापत्रकार डा लम्सालद्वारा रचित धरा महाकाव्य काव्यिक
क्षेत्रको उच्चतम् नमुना हो । यो पुस्तक राष्ट्रिय मिलन, राष्ट्रिय
चिन्तन एवं देशभक्तिको बेजोड दृष्टान्त हो ।