Tuesday, November 22, 2016

सल्लीपिरः हिमालका सीमान्तकृतहरूको गाथा


अनौठो नाम “सल्लीपिर”। पुस्तक विमोचन हुनुपूर्व नै किताबको बारेमा जानकारी पाएँ । नाम चलेका, चर्चित आख्यानकार नयनराज पाण्डेले लेखेको भन्ने सुन्दा पक्कै पनि गतिलै हुनुपर्छ भन्ने भयो तर शीर्षक हेर्दा भने त्यसलाई सावित गर्न अलिकति मन अन्कनाइरहेको थियो । तर लेखकका अघिल्ला औपन्यासिक कृति “उलार” र “लू” पढ्दा उनका बारे बनेको व्यक्तित्वले झक्झक्याइरहन्थ्यो र अन्ततः सल्लीपिरमा आफुलाई भिजाउन थाले ।
        शीर्षकको अर्थ अर्थात “भुई+मा झरेका सल्लाका सुकेका पात” । मेरो कल्पनामा थियो त्यो कथा पक्कै पनि प्रकृतिको वर्णन हुनुपर्छ । तर कथामा डुब्दै जाँदा मेरो कल्पनालाई लगाम लगाइदियो र लग्यो त्यो फरक, अकल्पनीय यथार्थको धरातलमा जुन मैले कल्पना पनि गरेको थिइनँ ।
        सल्लीपिर हिमाली क्षेत्रका सीमान्तकृतहरूको कथा हो । हिमाली क्षेत्रमा रहेको गरिबी, त्यहाँको भौगोलिक कठिनाई एवं त्यहाँका समस्याहरूलाई बडो मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् उपन्यासकार पाण्डेले । उपन्यासको कथामा प्रवेश गर्दा २ बालक पेमा र कर्माको बाल्यमित्रताबाट सुरु हुन्छ । पेमाका वुवाको कितावप्रतिको मोह र त्यसले निम्त्याएको घर कलहको मार्मिक चित्रण गरेका छन् । पेमाको दावासँगको बिहे, जीविकोपार्जनका निम्ति तिनीहरूको दैनन्दिनको सङ्घर्ष, हिमाल यात्राहरू, पढ्ने व्यग्र चाहना, त्यही मात्सल्य एवं पढाइप्रतिको विश्वासले काठमाडौँ सम्मको कठिन यात्रा र काठमाडौँदेखि फर्किदाको संघर्ष, यिनै यिनै कथावस्तुमा रुमल्लिएको छ सल्लीपिर ।
        उपन्यासको पहिलो चित्रित कुरा हो, त्यहाँका जनताको संघर्षपूर्ण जीवनी । हाम्रो काँचो मगजमा हिमाल भन्ने बित्तिकै उज्यालो कान्तिको प्रतिविम्ब सृजना हुन्छ, हिमालका मान्छेका सुखपूर्ण जीवन, सगरमाथा आरोहीका रोमाञ्चक कथाहरूमै रुमल्लिन्छौँ तर यथार्थमा त्यहाँको कष्ट हामीले कहिल्यै नबुझेका रहेछौँ । सदाकालको हिउँमय जीवन, भौगोलिक कठिनाई, अन्नपात, नुन, सरसामानको अभाव, यी सबै त्यहाँका सधैँका अफ्ठ्यारा हुन् । उनीहरूको जीवनको सहारा त केवल चौरीले गरेको छ, जसबिना त्यहाँको जीवनको कल्पना निकै ओजपूर्ण हुन्छ । तिब्बत जाने क्रममा जब दावा र उसका साथीहरू हिमपहिरोमा फस्छन्, एउटा साथीले भन्छ, पहिला चौरी बचाऊ । अनि आफू बाँच । हिमालका तिमी जस्ता गरिब मान्छे भन्दा चौरी महत्पूर्ण हो । यी चौरी होइनन्, हाम्रा जीवन हुन् । हामी गरिब शेर्पा बाँच्ने आधार हुन् ।” यो उनीहरूको १–२ दिनको दैनिकी होइन, यो तिनीहरूको युगको कथा हो । जीवनमा धेरैपटक जमीनमा छँरिदै, पोखिदै र फेरि उठ्दै गरेका गोठाला हुन् उनीहरू । उपन्यासकारले मन दुखाउने किसिमले बोलेका छन्, त्यहाँका दुःखका लवजहरू । खुम्बुबासीहरू आफुलाई पशुसँग समेत तुलना गर्न पछि पर्दैनन् । भन्छन्, हामी कहिले पो मान्छे भएका थियौँ र ? हामी त सिङ र पुच्छर नभएको पशु नै त हौँ नि ।” तथापि खुम्बुबासीहरू निडर छन् । उनीहरूमा भविष्यप्रति आशा भने जीवितै छ । उनीहरूका लागि अब दुःख, दुःख रहँदैन । उनीहरू भन्छन्, हाम्रा आँसु हिउँका डल्ला भए पनि हाम्रा सन्तानले ती डल्लाहरू फोड्लान् नि ।”
        पेमाले आफू सानो हुँदा आफ्नो बुवा छिरिङलाई कथा सुनाउन भन्थिन् तर बुवाका कथाहरू जहिल्यै दुःखका हुन्थे । पेमा निराश भएर सोध्थिन्, पालु(बुवा) यति दुःखी कथा किन सुनाएको मलाई ? तिमीले पढ्ने किताबमा के सुखको एउटा पनि कथा थिएन ? वास्तवमा सुखका कथा भन्नका लागि त सुखको अनुभव बटुलेको हुनुपर्ने तर उनीहरूको जिन्दगीले सँधै दुःखको झोलामात्र
भि
¥यो, अनि बिचरा कहाँबाट भनोस् त सुखका कथाहरू ।

सल्लीपिरमा भिज्दै पाठक
        अर्को प्रसङ्ग यस उपन्यासले जोडेको महिला पात्र पेमालाई यस कथाको मुख्य पात्र बनाएर हो । दुःखलाई सजिलैसँग आत्मसात गर्ने, आफ्नो परिवार र कामप्रतिको उनको लगाव र जस्तोसुकै कठिन परिस्थितिमा पनि हिम्मत नहार्ने साहसी पेमाको संघर्षलाई बडो रोमाञ्चकारी ढङ्गले दर्शाएका छन् उपन्यासकारले । पेमाले किताबलाई तर्साउने भूतको संज्ञा दिन्थी, किनभन्दा उनकी आमाले उनलाई त्यसै सिकाउँदै आइरहेकी थिइन् । तर जब बिस्तारै उनले किताबको महत्व बुझिन्, छोरालाई जसरी पनि किताब सिकाउनुपर्छ भन्ने हेतुले र छोराको किताबप्रतिको मोहको तलतल मेट्न काठमाडौँसम्मको संघर्षपूर्ण यात्रा गर्छिन् ।
        कथानकको अर्को पाटो हो राजनीतिको फोहोरी खेल, त्यहाँका गरिब जनता माथिको उपेक्षा र उनीहरूकै नाममा भएको राजनीति । नेताहरू भोट माग्न मात्र त्यहाँका जनताको उठीबास लगाएरै भएपनि प्रयोग गर्ने तर चुनाव जितिसकेपछि चिन्दै नचिन्ने परम्परा ।
        सल्लीपिरले माओवादी जनयुद्दको सेरोफेरो पनि छोएको छ । सल्लीपीर पेमा र दावाको कथामा रुमल्लिरहदा माओवादी द्वन्दकाल चलायमान नै हुन्छ र त्यही सरकार पक्ष र माओवादी पक्षको भीडन्तले गरिब जनतामा पारेको असरको खुलेरै चित्रण गरेका छन् ।
        उपन्यासकार नयनराज पाण्डेले एउटा कुशल चित्रकारले झै चौरीखर्कको, सगरमाथा हिमक्षेत्रको कथा दुरुस्तझैँ उतारेका छन् । यस उपन्यासको अर्को सबल पक्ष भनेको त्यही खुम्बुक्षेत्रका रैतीहरूको जनजीविका, तिनीहरूको चालचालन, संस्कार, संस्कृतिमा भिजेर लेख्नु हो । लाग्छ उपन्यासकार नयनराज पाण्डे नभएर नयन शेर्पा हुन् र उनले आफूले जन्मदेखि भोग्दै आएका जीवनीलाई सजीव कथामा उतारेका छन् र यस उपन्यास मार्फत उनले चिनाएका छन् सबैलाई शेर्पा संस्कृति । उनी लेख्छन्, हरेक घरमा भेटिन्थे झ्याली र डम्फूजस्ता बाजा, भेटिन्थे स्याब्रु नाचका निम्ति जतन गरेर राखिएका बक्खु, स्यमु, सिमला, हङ्जु र छ्याप्पा रेजी जस्ता रङ्गीन पोसाक र गहना ।” बडो सुन्दर ढंगले प्रस्तुत गरेका छन् यी संस्कार र संस्कृतिहरू ।
        अन्तमा भन्नुपर्दा, सल्लीपिर” हिमाली र खुम्बुक्षेत्रका सल्लीपिरमा लडिबुडी खेल्दै हुर्केका वासीहरूको कथानक हो । एकातिर उपन्यासकारले “दरिद्राणां मनांसि उत्पधन्ते विलियन्ते च” को अर्थलाई यस कथामा स्पष्ट्याएका छन्, अर्थात पानीमा उठेका थोपाहरू एकछिन् उठेर बिलाएझैँ गरिबका इच्छाहरू पनि बिलाएरै जान्छन्, तिनका सपनाहरू कहिल्यै पुरा हुँदैनन्” र त्यही अर्थलाई आफ्ना पात्रहरूमा झल्काएका छन् ।
        पाण्डेले आफ्नो अघिल्लो उपन्यास “लू” मा तराईको नेपालगञ्जको सेरोफेरोमा सीमामा बस्ने नेपालीहरूका समस्या इंकित गरेका थिए भने अहिले सल्लीपिरमा उनी हिमाल उक्लेका छन् र सजीव उतारेका छन् हिमालवासीहरूका समस्या र साथै उठाएका छन् हामीमाझ गौण रहेका चीनसँगका सीमा समस्याका कुरा समेत । यस अर्थमा पनि यस उपन्यासको सार्थकता झल्किन्छ ।
        सल्लीपिरमा उपन्यासकार पाण्डेले कथाहरु बुनेका छन् आफ्नै लयमा, ढंगमा र मिठासपूर्ण शब्दमा । ठाउँठाउँमा रहेका लयपूर्ण मनछुने कविताले उपन्यासको शोभा झङ्ग्याएका छन् । यद्दपि, उपन्यासकारले प्रयोग गरेका अधिक अलंकारले भने कथा पढ्दा कुनैबेला यथार्थ र कल्पनाको सीमारेखा छुट्याउन गाह्रो पर्छ । यसबाहेक किताबमा कुनै खोट देखाउन सकिनँ, खोट देखाउन सकिने ठाउँ देखिदैन ।
        कहिले खस्ला हे खुम्बुका देवता, त्यस्तै एउटा प्वाँख, हामी गरिबहरूको बस्तीमा....” । यसरी आफ्नो उपन्यासको श्रीगणेश गरेका पाण्डे अन्ततः उपन्यासको इतिश्री पनि त्यही खुम्बुका देवताहरूलाई नै सम्झिदै गरेका छन् ।

        अन्तिममा भन्नुपर्दा, सरल, सरस, मीठासपूर्ण, कारुणिक यथार्थ गाथाले भरिपूर्ण सल्लीपिर एक सशक्त लेखकको सशक्त प्रतिबिम्ब हो । यो कथानक जहाँसुकै रहेका सीमान्तकृतहरूको समान दुःखको कथा, सामाजिक सहिष्णुता, एवं साहसपूर्ण संघर्षको गाथा हो । यस उपन्यासको रसोस्वादन बिना हरेक पाठकको जिजीविषाको प्रेरणा अपुरो नै रहनेछ ।

Friday, October 28, 2016

म, तिमी र समय


समयले माग्यो
मेरो कौतुहलता
मैले मागे तिम्रो समय
तिमीले भविष्यका लागि साँच्यौ


समय त्यही न हो
जसको म प्रतीक्षा गरिरहेछु
समय उही त हो 
जसको तिमीले सदुपयोग गरिरहेछौ 



तिम्रो सुनौलो वर्तमानमा
समयकै त हात छ
जसरी मेरो अप्रत्याशीत आगतमा
समयकै लगाम छ ।
थाहा छ, तिमीले कल्पेको स्वप्नमा
समय रमाइरहेछ 
र रमाइरहेछाै तिमी सँगसँगै 
तर ऊ बेखबर छ, आफ्नो पावन्दीको ।
ऊ तौलिरहन्छ तिमी र मलाई
एउटै तराजुमा
यही सोच्दै, कि तिम्रो र मेरो अस्तित्व 
एउटै हो भनेर ।
समय त्यत्तिकै बलवान् रहेनछ ।।।

Monday, October 24, 2016

मैले कविता किन लेखेँ


मेरा कविता
तिमी पढ्नू भनेर लेख्छु
आफ्ना मनका अन्तरकुन्तर खोल्छु
आफूलाई पखाल्छु
यो सन्देश तिमीलाई पुर्याउन ।
मसँग बोल्ने शब्दहरू छैनन्
नत बोल्ने विषयहरू नै छन्
ती सबै विषयहरू
जहाँ म मेरा खुसीहरू लत्पतिएको देख्थेँ
ती सबैले उत्तर पाइसकेका छन्
स्वयम् बाट ।

मनमा असिमित पीडाहरू छन्
अनगिन्ती शब्दहरू छन्
कयन् भावहरू छन्
श्रेयस्कर स्मृतिहरू छन्
तर मेरो बोली फुट्दैन
म निःशब्द हुन्छु ।
पहिले, जब म बोल्थेँ
मेरो मगजले प्रसोधन गर्थ्यो
र मुखबाट प्रसारण गर्थ्यो
अहिले, मेरो मुटु प्रसोधन गर्न थालेको छ
र आँखाबाट प्रसारण गर्छ ।
आशा छ, तिम्रो प्रतीक्षा मात्र
मेरो कविता नहोस्
मेरो कविता मात्र
तिम्रो जीवनी नहोस्
समयले डोर्‍याउने दिनहरूमा
मैले मेरो उत्तर पाउनेछु
जब तिमीले कविताको अर्थ बुझ्नेछौ
तब मेरो थकित मगजले
चैनको सास फेर्नेछ
र मेरा खुसीहरू दोहोरिनेछन्
मेरो बोलीले गति लिनेछ ।
नेपथ्यमा तिमीले सधैँ
आफूलाई प्रश्न गरिरहनेछौँ
हरेक जिन्दगीको पात्र म नै किन भनेर ?

(यस कविताका पात्रहरू काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ )

Sunday, September 25, 2016

तिम्रो प्रतीक्षा


मलाई थाहा छ तिम्रो बाध्यता
तिमी भित्र गुम्सिएका  कुन्तरकान्तर
हर आवेश, हर भावभङ्गी, हर मनोभावहरू
यी सबै सबै थाहा छ
र त चित्त बुझाइरहेछु
अग्राख पलाउने प्रतीक्षामा ।

थाह छ, जलाधारबाट उम्रेका बाफहरूको तछाडमछाड
त्यसैले त कहिले,
गर्जिन्छ बादल बनेर
कहिले धरधरी रून्छ पानी बनेर
र अन्ततः रङ्गीन इन्द्रेणी बर्साइछाड्छ ।
हो त्यही इन्द्रेणीको कल्पनामा
कहिले मेरा सपनाहरू रून्छन्
कहिले सम्झनाहरू गिज्याउछन्
कहिले आँसुका भेल कालजयी भैदिन्छन्
र पनि म सम्हालिन्छु
त्यही घमाइलो दिन सम्झेर ।
मलाई थाहा छ राम्ररी
तिम्रा समस्याका बेलिविस्तार
तिम्रा मनमा पलाएका हरेक टुसाहरू
सम्बन्धका जालझेलमा अड्केका
तिम्रा वायूपङ्खी दुविधाहरू
र त चुप छु म
दीयो बल्ने प्रतीक्षामा
सपनाका चाङलाई साक्षी राखेर
सम्झनाको दलीनमा सुइरा रोपेर
र उडिरहेछु
बाध्यतामा बाँधिएको मुक्ताकाशमा
तिम्रो आगमनको प्रतीक्षा गरेर ।।

Tuesday, September 20, 2016

के म लायक छैन र ?


समय घन्किदै जाँदा
बारीका डील अनि हातका खील सम्झँदै
मौसमे न्वाँगी भित्र्याउँदा
लेकतिर बज्ने सोरठीको तालमा
मनखुस नाच्न,
के ऊ लायक छैन र ?

सबेरै गाईवस्तु हालेर
दिनको जोहोको सत्कार्य निम्ट्याएर
पानी नचल्ने काजीको आँगनको डीलमा रहेको
सुकुलमा थकान बिसाउँदै
भरपेट सम्म खान पनि,
के ऊ लायक छैन र ?

मनमा इच्छित प्रेमरागलाई
कल्पनाको बुट्यानमा सिँगार्न
अपनत्वको शब्दकोशमा
स्वीकार्यता पाउन,
के म लायक छैन र ?

Friday, September 16, 2016

रिस


सायद दुर्वासालाई पनि केही कारण थियो होला
आफ्नो रिसको प्रदर्शनीको
नत्र कहाँ उठ्थ्यो र ती बुझक्कीको रिस
विनासित्तिको प्रहसनबाजीको ।
सायद समुद्रका ज्वारभाँटा पनि
कहिलेकाही त गमक्क रिसाउँदा हुन्
आफ्ना रैतिका चर्तिकला देखेर
र त बजारिन्छ कहिलेकाही
सुनामीका छाल फलाक्दै ।
सायद मेरो रिस
नत भूमण्डलको क्षय थियो
न त दुर्वासाको दिग्विजयी रिस
भावनाका पत्रहरू फाट्दा
मनको उद्वेग नसम्हालिने रिस थियो होला
घत् दुख्दा मगजको संसोधित रिस थियो होला
आशाको दीप निभ्दाको पीडा थियो होला
सायद मेरो रिस
प्रेमासीन संसारका अबुझ चेतनाको अचेत बिम्बमा थियो कि
सम्बन्धहरूको प्रहसनले निम्त्याएको
भावनाको तिक्ष्ण प्रहारमा,
म निरन्तर सोच्दैछु ।।

Friday, September 9, 2016

आँसु




यदि आँसुको कुनै मूल्य हुन्थ्यो भने
सायद समुद्र पनि निष्प्राण रूने थिएन होला
हरेक निमेषमा बनेका वाफहरू
फेरि आएर उसकै माथमा थुप्रिएको
कहाँ चित खान्थ्यो र समुद्र ?
त्यही आँसु
कहिले नदी बनी बग्दो हो
कहिले खहरे बनी उर्लदो हो
त कहिले समुद्रझैँ स्थीर तर दूरगहिरो हुँदो हो ।
आँसु पनि सायद
आँखाका परेली वरपरै समाहित हुन्छन् होला
अनि सकिन्छन् त्यसमा भरिएका व्यथा, वेदना अनि मायाका अवशेषहरू
पुरिन्छन् होला हर भ्रमरका जिजीविषा
निमोठिन्छन् निहत्थाका न्याय पाउने आशाहरू
चुडिन्छन् होला अबोध तन्नमका विद्यार्जनका सपना
जसरी मेरा भावनाका ढिक्का फुटेर
तप्प तप्प बग्छन्
आँसुका बलीन्द्र धारा
म सम्झन्छु
ती स्मृतिहरूलाई
जसले यी आँसुको गर्भाधान गरे ।

यी आँसु त फगत हुन्
पानीका निर्जीव थोपा
आस्थाका कण
मार्गदर्शनका मुल्यहीन वस्तु ।
सायद आँसुको मूल्य हुन्थ्यो भने
कतिका घरवार चुँडिन्नथें होला
कतिका प्रेमासीन संसार भाँचिन्नथें होला
कतिका आस्था छट्पटाउन्नथे होला ।

खैर,
यी आँसु त केवल 
पानीका निर्जीव थोपा न हुन्
जसले तिमीलाई के नै पो फरक पार्न सक्थ्यो र ?

सपना


अन्तर्हृदयका भावसँग
पौँठेजोरी खोज्दै
म एकलयात्रीलाई
सपनाको यात्री बनाइदियौँ
ए सपना
मेरा अव्यक्त भावहरू
मेरा अप्रस्फुठित विचारहरू
मेरा स्वप्नील चाहनाहरू
अनि मेरा गम्भीर भावभङ्गीहरू
यी सबै सबै
तिमीले बोक्ने निधो गरेछौ ।
विद्यार्जनका अनेक चौबाटाहरूमा
विश्राम लगाउँदै
फेरि मुकुण्डे आशा फलाक्दै
तिमी त छौ
जो स्वप्नील असम्भवलाई
अवश्यम्भावी बनाउछौँ
तिम्रै यात्रामा मात्र भए पनि ।

हे सपना
सक्छौ भने नमार मेरा विपनाका सपनालाई
नरोक मेरा अन्तर्निहित मनोभावलाई
र नगराऊ मलाई तिम्रो विभीषण सपनाको यात्रा
किनकि
म सपना यात्री बन्न चाहन्न ।।।

सम्झना


सम्झनाहरूले सधैँ सधैँ
दिग्भ्रमित तुल्याइरहन्छ
आँखाका नागबेलीहरू रसाइदिन्छ 
हरेक कुइँनेटाहरूमा
जरा रोपिदिन्छ
हे सम्झना
के तिम्रो छुट्टै अस्तित्व छैन र ?
के तिमीले मगजका हरेक गिर्खाहरूसँग
लिसोझैँ चोप लाइरहनुपर्छ र ?
कृपया सम्झना
कि तिम्रा तरङ्गहरूका नागबेली
फलीभूत पार
होइन भने किन ऐंठेजोरी खोजिरहन्छौ ?
हर पल हर समय दैनन्दिन ?
कृपया आफ्नो अंशभाग छुट्याई जाऊँ
आफ्नै समानान्तर आकाशमा
निकै निकै पर
जहाँ हाम्रो अस्तित्व छुट्टा छुट्टै छ
भावविहीन, घतविहीन अनि
सम्झनाविहीन छ ।

Saturday, August 27, 2016

मोतीबिन्दु











निस्पट्टै भयो अन्धकार जगतमा अय्या र आत्थुकन
मोतीबिन्दु लिएर रोग जगमा पैदा भए मानव ।।

मोतीबिन्दु लिएर जन्म उसको हे दैव यो के गर्यौ
मोती हातमहाँ दिनु त उसको आँखा महाँ पो भर्यौ ।।

जन्मैजात हुने कुनकुनै, कोही त जन्मै पछि
थुप्रै रूप हुने सफेद रङको यो रोग नै दुर्गति ।।

के के सोच्दछ मानिस अहिले के दुर्दशा भैगयो
सारा सृष्टि गोचर गरने यो दृष्टि धीमा भयो ।।

धेरै पो छिरिगो प्रकाश अँखिया टल्किन्छ यो टलटल
देख्छु भन्दछ इन्द्रेणी उसले आँखा भयो खलबल ।।

कारण जानिकनै सुधार गरनु राम्रो विधि एक हो
खाने चुरोट, उमेर बढने वंशाणु यी केही हो ।।

जानु रोग निदान गर्नु सजिलै आँखा जँचाइकन
गर्लान् चिर र फार ति मनुहरू ज्योति फिराइदिन ।।

यो सुन्दर सृष्टि भोग गरने, सुन्दर यी आँखाले हो
मोतीबिन्दु हटाई स्वस्थ रहनु, यै आजको प्रातः हो ।।

Thursday, June 30, 2016

असार


गृष्म ऋतुको बिदाई सँगै
गर्मीले आहात भएकाहरू
मनोरम वर्षाको आशमा
बसेकाहरूको चित्त बुझाउदैँ
किसानहरूको भविश्यको दियो जलाउन
हराभरा वातावरणको आशमा बसेका
वातावरणविद्हरूको मनोकल्पनालाई साकार तुल्याउन
बाह्र महिना एक महिना भएर आउँछ असार हेर्दा ।

खेतबारी नियाल्दा तत, हाहा, झमझम र झुमझुम
आकास नियाल्दा बादलको घुम्टो वर्षाको झमझम
जंगलतिर हेर्दा हरियालीको शोभा
आशातित अनुहार नियाल्दा
भविश्यको उद्गम ।

अद्भूत अनमोल मोतिका दानाझैँ
झरझर परेका पानीका थोपा
अमृतसरी भै दिन्छन्
जीवन दायनीको रुप धारण गर्छन् ।

गर्मीको पसिना र आकासको असिना
शत्रुताको आभास प्रकट गर्दछन्
तर पनि हरेक प्राणी
असारे झरी र हिलोमय संसारको कल्पनामा
आसातित भएर बस्छन्
आउँला असार, रमाउँला असारमा 
र बिदाई गरौँला असारको भनेर ।।