Monday, April 2, 2018

तिमी भएर

आजको संध्याकालको प्रहरमा
चन्द्रशालामा तिम्रो प्रतीक्षा गर्दै बसिरहेछु
अभिसारिकाझैं बनेर । 
मेरो वासकसज्जाको मोहनीले
कर्पूरद्रव बन्दै
उडाई ल्याउने छ तिमीलाई
मेरो समीप ।
हुन त मलाई कतिले
अस्थिरताको उपनाम देलान्
तर मेरो मनसाय निष्कलङ्क छ
जुन कुरा तिमीले पनि बुझ्छौ प्रिय ।
हुन त तिम्रो माया कुनै कुशिलव होइन
मैले थपडी बजाउनै पर्ने
तर तिम्रो मायाको आयतन देखेर
छक्क भने जरूर परेकी हुँ ।
तर पनि म वाजिनीवती हुन्छु कि कलहान्तरिता
म अझैँ अनिर्णयित छु ।
मलाई थाहा छ,
तिम्रो कुनै कुटिलताको क्रीत हैन
मेरो अभावले तिम्रो जिन्दगी
दुर्मनायित भएको छ,
थाहा छ मलाई ।
मेरो घोरविचरणले
तिम्रो अरण्यरोदन घनीभूत भएको छ
तिम्रो जिन्दगीको महान्धकार हावी भएको छ ।
मेरो महामतिको म अात्मश्लाघी त होइन
तर तिम्रो श्लाघा पनि त पचाउन सकिनँ ।
तर जे होस्,
प्रिय,
म प्राण हुँ भने तिमी वायु
म आकाश हुँ भने तिमी पृथ्वी
र यो रोदशीको मिलन
अत्यावश्यक लाग्यो मलाई ।
निमेषभरको वर्षाको भेलले
के गर्न सक्ला र हाम्रो मायाको प्रवेगलाई ।
खैर,
मेरो जिजीविषाको एक भाग
तिम्रो मायाको आयतनले भर्न
म राजी छु ।

Sunday, April 1, 2018

गुनासो

जिन्दगीका अनेक मोडहरूमा 
आइरहने सजीव यादहरूमा
म मेरो खुसीका आलापहरू देख्छु । 
पानीमा उठेका थोपाहरू
एकछिन उठेर बिलाएझैँ
बिलाउछन् रङ्गीन सपनाका इन्द्रेणीहरू
मनासिव जिन्दगीका घुम्तीहरू देखेर ।
के सम्बन्धका फेहरिस्तहरू
गुनासो गर्दैनन् र ?
तिम्रा निम्ति साँचेका हरेक शब्दहरूमा
तिम्रा शब्दहरूको बाक्लो उपस्थिति चाहने मेरा चाहहरू
किन बुझ्दैनन् तिम्रा परिभाषा
किन बुझ्दैनन् तिम्रा जीवनका परिवेशहरू ?
र पो गरिरहेका हुन् कि गुनासो आफैँसँग ?
प्यारी
स्वान्तसुखायःका उत्तम पाटाहरूमा
तिम्रो आकृति झल्किरहँदा
यादहरूको थुम्को तिम्रो प्रतीक्षा गरिरहन्छ
त के गुनासो गर्नु मनासिव यादहरूसँग ?
म जाँदैछु कुनै दूरतामा
जहाँ म छु
र सँगै तिम्रो मौनताका कणहरू छन्
जहाँ मेरो भाष्य छ
र सँगै तिम्रा अप्रस्फुटित लवजहरू छन् ।
शब्दका बनोटबाट निस्किने हरेक लवजहरूमा
हरपल भेटिरहने गुनासाहरू
यसमै त रहेछ
जिन्दगीको मीठास
आखिर हार्न जान्नेहरूसँग नै
सफलताका कथाहरू हुन्छन् ।

सम्बन्धहरूको जीविका


के छ सम्बन्धहरूको परिभाषा ? 
कुन भाष्य चिन्छन् बोल्छन् सम्बन्धहरू ?
कुन रूपणमा भौँतारिन्छन् ?
के छ तिनीहरूबीचको साइनो ?
के सम्बन्धहरू फूलझडी हुन् कि ?
हुन् कुनै लघुताभासका प्रयाय ?
वा हुन् चिरकालका सोपानहरू ?
म यदाकदा रनभुल्लमा पर्ने गर्छु ।
कस्तो आकृति कोर्छ सम्बन्धले ?
कस्तो प्रतिविम्ब आँकलन गर्छ ?
कुन जीविकामा बाँचिरहेका छन् सम्बन्धहरू ?
कुन उषाकालको कल्पना गर्छन् ?
कुन चुनढुङ्गामा अडिएका छन् ?
र कुन जुनकिरीको कुरा बुझ्छन् ?
के का आधार हुन् सम्बन्ध ?
विश्वासका कि प्रतिघातका ?
समर्पणका कि विश्वासघातका ?
के नयाँ सम्बन्धहरू
जीवनका ऐँजेरु हुन् कि ?
जोडघटाउका हिसाबहरू?
के सम्बन्धहरूमा
सरलता हुन्छ कि तरलता ?
केको आकृति झल्काउँछ सम्बन्धले
प्रगाढताको कि वितृष्णाको ?
सम्बन्धहरू
जोड्नका निम्ति हुन् कि तोड्नका निम्ति ?
जीवनका निम्ति हुन् कि जिउनका निम्ति ?
इमानका करारनामा हुन् कि आघातका ?
देखावटी कवज हुन् कि निःस्वार्थका प्रारूप ?
आदर्शका फूलबुट्टा हुन् कि व्यवहारिकताका ?
के छ सम्बन्धहरू बीचको साइनो ?
आलटालको छ कि सम्मानको ?
विचलनको छ कि ढाडसको ?
सद्भावको छ कि दुर्भावको ?
कसरी चलिरहेको छ
सम्बन्धहरूको जीविका ?
म अझैँ बिलखबन्दमा छु ।

सिरिया र सृष्टि




दिग्दिगन्तबाट आएका पुलिन्दाहरूमा
हुलाकीले लाहाछाप हानेजस्तै
आकाशबाट खसेका मृत्युपत्रहरूमा
एकएक गर्दै लालछाप हानिरहँदा
म ती धराहरूलाई सम्झन्छु
जसले जीवनको निर्माण गरे
र बसाए बस्ती
देखाए शैशवकालमा सपना
जिजीविषा र जिगीषाका
जसले सिकाए
इमानका करारनामा
र वीरताका कौशलहरू
जसले पढाए त्रिपिटक
बुद्ध र शान्तिका
र उजागर गरे
स्वाभिमानका लहरहरू ।

बच्चाहरूले खेलेका बालापनका खेलहरूमा
मधुमालती बनेका आत्माहरू
के सवार भएकै हुन् त
सदाका लागि वायुपङ्खी घोडामा ?
तिनीहरूले खेलेका डन्डीबियोका बियोजस्तै
उछिट्टिएर कहाँ पुगे होलान् निर्जीव संसारमा ?
आफ्नै सन्तानसँग लुकामारी खेल्दै गर्दा
कहिलेसम्म छोपिरहनेछिन् ती आमाले आँखाहरू
र पर्खिरहनेछिन् अङ्गालोमा बेर्न ?
भाँडाकुँडी खेल्दै गर्दा
बनेका दुलहा दुलहीहरू
कहिले बन्लान् यथार्थमा जीवनका सारथीहरू ?

यी सबै प्रश्नहरूका उत्तरको निर्माणमा
समर्पण गरेका हुँदा हुन्
सृष्टिकर्ताले आफ्नो सम्पूर्ण जीवन ।
आफ्नो समयका एकएक भागहरूमा
जीवनका सुरम्य पाटाहरू बिर्सिएका हुँदा हुन्
यही सुन्दर सृजनाका निम्ति ।
जुन कुनै सन्की शाषकको
भद्दा मजाक हुनसक्छ
जो यी सबै प्रश्नहरूको उत्तर
बन्दुकको नालबाट दिन रूचाउँछन् ।

यात्रा



जिन्दगीको अनामिक यात्री बनेर
जाँदैछु आज
कुनै अनामिक यात्रामा
दैनन्दिनका अनर्गल झोक र बोझलाई छोडेर ।
त्यो अनामिक यात्रामा
जहाँ आफ्नै कलेवर छन् दुनियाँसँग
आफ्नै नामहरू छन् यात्रा र यात्रीका
आफ्नै सृष्टिगोचर र प्रेक्षा छन्
सपना र उन्माद छन् ।
जसरी सर्वनाम नाम होइन
र नामको पर्यायवाची पनि होइन सर्वनाम ।
त्यसैगरी यात्रा घुम्नु होइन
र घुमाइको पर्यायवाची पनि होइन ।
यो त यदाकदाको सट्टामा प्रयोग हो
नामको सट्टामा सर्वनाम भएजस्तै ।

हो म त्यो अनामिक यात्रामा छु
जहाँ लौठसल्लाहरूले
एकआपसमा लुकामारी खेल्दा
मृगशावकहरू पनि मौन हुँदा हुन्
आफ्नो भोकलाई थाती राखेर ।
जहाँ मैना चरी र मुनाल
काकलीमा रमाइरहँदा
हावाका झोक्काहरू पनि डराउँदा हुन्
तिनीहरू बीचको प्रेमगीत उडाउन ।
जहाँ चित्त चौताराहरू
आफ्नो शालीनतामा एकाग्र हुँदा हुन्
कुनै कविको सृजना नबिग्रियोस् भनेर ।
जहाँ धीरोदात्तहरू
सजक हुँदा हुन् आफ्नो कर्मयोगमा
कुनै मर्यादापुरूषको मर्यादा कुण्ठित नहोस् भनेर ।
जहाँ न्याउली पनि सन्देह मान्दी हुन्
कुनै तपस्वीको साधना खल्बलिन्छ कि भनेर ।

हो म त्यो यात्रामा जाँदैछु
जसको न सुरू छ न त कुनै अन्त्य
जसको न कुनै नाम छ न कुनै वैशिष्ठ्यता
जसको न कुनै योजना छ न त कुनै शिल्प
जसको न कुनै भूगोल छ न कुनै इतिहास
त्यहाँ छ त केवल
यात्रा, यात्री र उसको परिवेश !!!
त्यहाँ छ त केवल
यात्रा, यात्री र उसको परिवेश !!!

धन्यवाद



जीवनका स्वप्नील गोरेटाहरूमा
तिम्रो आशले बाँचेका
हरेक फाल्साहरू सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

विचलनको दूरतामा अल्झिरहँदा
तिम्रो मीठास र मन्दमुस्कानले
सोझ्याएको तङ्ग्रन शरीर सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

हरेक चाड, पर्व र दिनहरूमा
सफलताका अनेकल बीजहरूमा
तिमीले दिएका बधाई र शुभकामनाका सन्देश सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

प्यारी तिमी
तिम्रो मौनता र लज्जाले दिएका
हरेक बहारका निम्ति धन्यवाद
जसकै भर परेर
मैँले आफ्नो सृजना तिखार्न सिकेँ
र यी कविता लेख्न सकेँ ।
त्यसैले धन्यवाद तिमीलाई
जसकै कारण
आज म कवि भएको छु ।

लज्जा


जिन्दगीको मोलतोलसँगै
जन्मिएको तिम्रो लजालुपन
खै किन बाधक छ
तिम्रै जिन्दगीको इन्द्रेणीका निम्ति ?
तिम्रै लजालुपनको दोबाटोमा
कि समाजको भय छ
कि तिम्रो मनको कसिङ्गर लज्जा छ ?
नत्र जिन्दगीको निस्सारतामा
किन रम्थ्यो होला र तिम्रो पाइला ?
नत्र जिन्दगीको कुटिलतामा
किन अडिन्थ्यो होला तिम्रो सास ?
यदि सीता लजाएकी भए
के उठाउन सक्थिन् त पिनाक धनुष ?
यदि पार्वती लजाएकी भए
के निस्किन्थ्यो र स्वस्थानी व्रतकथाको गौरवरूप ?
वा तिमी द्रौपतीको लज्जाबाट निस्किएको
भीमको प्रतिज्ञाको प्रतीक्षामा छौ ?
वा कुनै नयाँ प्रयोग हो जिन्दगीको
तिम्रो आफ्नै दिलग्गीको ?

प्यारी तिमी
'लज्जाचेत किमुभूषणै' भनेझैं
तिम्रो लज्जा साँच्चै तिम्रो भूषण हो कि
तिम्रो देखावटी अस्थिपञ्जरको प्रयोग ?
म रनभुल्लमा छु ।

तिम्रो माैनता



यात्राका अनर्गल चौघेराहरूमा
मैले नरोजिएको बाटो रोजेँ
र आज फरकपन भेट्दैछु ।
तिम्रो शालीनतामा
म मेरो यथेष्ट खुसी देख्छु ।
तिम्रा हरेक पदचापहरूमा
म मेरो सजीव आत्मा देख्छु ।
तिम्रा हरेक मन्दहाँसमा
म मेरा अप्रस्फुटित वाक्यहरू भेट्छु ।
तिम्रो सान्निध्यतामा
म मेरो साकारता भेट्छु ।
तिम्रो भलाद्मीपनामा
म मेरो निर्दोषपन भेट्छु ।
तिम्रा हरेक सोचाइहरूमा
म मेरो विश्वास भेट्छु ।
तिमीले रोजेका हरेक बाटाहरूमा
म मेरो सन्तुष्टि भेट्छु ।



तर तिमी मौन छौ
आफ्नै जिन्दगीका पाटाहरूसँग
जसरी मौन छ आकाश
क्षितिजका नागबेली प्रश्नहरूसँग ।
तर तिमी लजालु छौ
आफ्नै भविष्यका तरङ्गहरूसँग
जसरी लजालु छ लज्जावती
आफ्नै बगानका गुलाफहरूसँग ।
तर तिमी शान्त छौ
आफ्नै प्रगतिचापहरूसँग
जसरी शान्त छन् हिमालहरू
आफ्नै वीरगाथाहरूसँग ।

प्यारी तिमी
तिम्रो जिन्दगीको रौनकतामा
म मेरो आत्मविश्वास भेट्छु
म मेरो भविष्य भेट्छु
म मेरो खुसी र सफलता भेट्छु ।
त्यसैले त
तिम्रो जिन्दगीको निस्सारतामा
एउटा निस्तार लिएर आएको छु
के तिमी अझै मौन रहिरहन्छौ ?

बाँदरहरूको मेला


नेमुनिको नामले कल्पित देश
मञ्जुश्रीले छिचोलेको काठमाडौँ
सगर छुने माथ र शान्ति छर्ने बुद्धभूमिले
चौडा बनाएको हाम्रो गर्विलो छातीमा
तेञ्जिङका पदचाप परिरहँदा
हामी परजीवीको कल्पना गछौँ
र खोज्न थाल्छौँ छुट्टै आभास नयाँपनको
टुँडाल र शिखरका मण्डपमा
सङ्गमर्मरको लेप लगाउन खोज्छौँ ।
खुँडा र तरबार बोक्ने
दरिला पाखुराले
चरेश र रक्तचन्दन बोक्दा,
देश चिन्तन गर्ने वैचारिक मगजले
भाषणको काव्य लेख्न खोज्दा,
मेरो मानसपटलमा
बाँदरका प्रजातिहरू
झलझली नाच्न थाल्छन्
त्यसैले त
मैले यहाँ बाँदरहरूको मेला लगाउन खोजेको छु ।
आऊ यहाँ
यो मेलाको साक्षी बनेर जाऊ
र रोप आफ्नो छुट्टै इतिहास
तिमी यहीं बाँदरहरूको भीडमा
आफ्नो अस्तित्व खोज्न चाहन्छौ ?
वा आफ्नो छुट्टै गोरेटो कोर्छौ ?

मलाई कहिलेकाहीं सम्झनामा आउने
सद्दाम हुसेन र गद्दाफी
विन लादेन र इदि अमीन
यिनीहरू थिए थिएनन्
कुनै मेलाका हाकावाल ?
वा कसैको हाक्कहुक्कका
वेलगाम रिपु थिए ?
र पो अवनति प्राप्त गरे
प्रश्न अनुत्तरित छ ।

देशका उच्चासीनहरू हो
तिमीलाई थाहा छ छैन
हस्तिव्यूहको रचनाबारे ?
देशको जङ्गेपिल्लर जोगाउन
तिम्रो हसन्तिका हेर्न बाँकी छ
तिमी दु:शासन बन्ने वा अभिमन्यु ?
इतिहास भर्न बाँकी छ ।

तिम्रो विचारको युद्धमा
तिमी महावीर बन्ने वा वृक्षचर ?
तिमी चिन्तन गर्ने कि चिन्ता ?
तिमी मन फेर्ने कि मान्छे ?
तिमी वीरकर्म गर्ने कि विनष्ट ?

जिन्दगीको क्यानभासमा
मैले यौटा झार रोपेको छु
र प्रतीक्षारत छु
त्यो झार पीपल बन्छ वा पलाँस ?

हो मैले यहाँ
बाँदरहरूको मेला लगाएको छु
यो मेलालाई
हनुमानको बाँदर सेना बनाउने ?
वा ढेडु गुनीको लावा लस्कर ?
त्यो तिम्रा पदचापहरूले निर्क्योल गर्नेछ ।

गाह्रो



आजीवन जीवन जिउनुको गाह्रो
गएर सोध अश्वत्थमालाई
अनि बुन्ने छौँ आफ्ना रङ्गीन सपनाका इन्द्रेणी
अश्वत्थामालाई साक्षी राखेर ।

जीवन सृजनाको गाह्रो
प्रसव पीडामा थलिएकी आमालाई सोध
अनि बुझ्ने छौ मात्सल्य र त्यसले स्थापित गरेका
प्रेमका विनियमहरूलाई ।

दुई छाक टार्न जिन्दगी बन्धकी राखेर
एकसरो लुगाले लाज टालिरहेका
तन्नम रैतीलाई सोध
दारूण जिन्दगीको गाह्रो ।

समर्पण र त्यागको निष्ठाले
देशको इमान बचाएका सत्याग्रहीलाई सोध
नैतिकताको कलेवरसँग जोडिएको
जीवन सङ्घर्षको गाह्रो ।

यायावर जिन्दगीको पेचिलो सङ्घर्ष
प्रेमवासनाको मिहिन सङ्घर्ष
द्विविधाका अप्रस्फुटित वाक्यहरूको सङ्घर्ष
रोगीका निरोगिताका भावानुवित सङ्घर्ष
यी सबैसबै हुन् पर्यायवाची
कुटिल समयका
जसले गाह्रो जिन्दगीलाई अमूर्त बनाएका झन् ।


विवशता




धानबारीमा लहलह झुलेका बोटहरू हेर्दा
अगेनामा हरदम बलिराख्ने आगो देख्दा
अनि आकाशमाथि देखिने असीमित क्षितिज नियाल्दा
ऊ पनि बन्न खोज्छ तिमीजस्तै
तिम्रै हरदम
जो हरेकका जीवनको प्रेमगीत बनोस्
जो हरेकका जिजीविषाको भागिदार बनोस्
जो हरेकका खुसीहरूको कारण बनोस्
त्यसैले त उसका आफ्ना इच्छा छैनन्
त्यसैले त उसका आफ्ना आवश्यकता छैनन्
त्यसैले त उसका आफ्ना क्रिडाहरू छैनन्
तर अफसोच
ऊ निहत्था हुन्छ
अरूका निम्ति आदर्शको पगरी गुथ्छ
लटरपटर गर्ने एक हचुवा बन्छ
र समयको बोझ हुन्छ ।

जीन्दगीको क्यान्भासमा
समयसँगै उभिएको एक अस्थिपन्जर हो ऊ
जो सँग छ समाजको ऐना
जसले देख्छ समस्याको आँखीझ्याल
र निमिट्याउन खोज्छ हर लगामहरू
तर्सिन्छन् मान्छे
उसको रूपण देखेर
तर आफ्नै मनको दलनमा जलिरहन्छन्
अगेनामा जलेको आगोजस्तै ।

समयको रूपरेखामा
रमेश क्षितिजको कविताजस्तै
के शिखर चढ्नु मात्रै हो र जीवनको सफलता
वा शिखर उत्रिन जान्नु पनि हो सफलता ।

म किमंकर्तव्यविमूढ छु
आफैँसँग
उसको सन्ताप सम्झेर
अनि अठ्ठहाँस हाँस्न मन लाग्छ आफैँसँग
आफ्नो विवशता देखेर ।


मःमः



जीन्दगीका सजीव पाटाहरूलाई उकास्दै
मनका आदिम सभ्यतालाई मात खुवाउँदै
बनाइरहेछन् हरेक नश्वरलाई प्राकृतिक मःमः
जसरी बनाइन्छ चोकको पसलमा
चिकेन मःमः ।
अग्ला मान्छेहरूको प्रहसनजस्तो
निहत्था रैतीहरू सुप भइरहेछन्
चिकेन मःमः सँगै रसाएर खाएको सुप जस्तै ।

जिन्दगीका विनियमहरू
केवल छन् त मःमःका किमा जस्ता
जसरी अनेक किमामाथि
थपिन्छ नयाँ पत्र
आफ्नै आफ्नै किसिमको
रङ्गीविरङ्गी
त्यस्तै त छन् मान्छेका लेपनहरू
मगजका थुप्राहरू सुकिसक्दा पनि
शरिरका दोपट्टाहरू सजाइरहन्छन् ।
जेहोस् मान्छे चिनारी बनोस्
आफ्नै देश र सभ्यताको
आफ्नै कौशल र सौर्यको
जसरी थेगिदिएकै छ जुनीभरि
यही आदिम मःमः ले देशको चिनारी ।

देशद्रोही



मकालुको माथ बोकेर
चुरेको सिञ्चित बगरको
तिरैतिरको मेरो धरान
जहाँ साकेला र उधौँलीको
स्वर्णिमता महसुस गर्छु ।

जब नाङ्चुङहरू डोर्याउछन्
ढोल, झ्याम्टा, धनुर्बाणहरू
अनि पुजिन्छन्
कुखुराका फिलाहरू
सिल्ली नृत्यमा रम्दाको माझ
रम्य हुन्छ त्यो साँझ
त्यहाँ म धरान सम्झिन्छु र मग्न हुन्छु ।

रिपु मल्लको शहरदेखि आएको
पश्चिमे भ्रमर
बुद्धिकर्णको आत्माघरसँग
साइनो बढाउन खोज्छु
र विजयपुरको ऋतम्भरा जोगाउन खोज्छु
राई, लिम्बू र किरात संस्कृतिहरूमा
चण्डी पढ्ने सौख राख्छु ।

म धान नाच्दा, गौरा खेलको लय मिसाउन खोज्छु
अनि लान्छु, सुदूरको पूर्वीय भाका
सुदूरको पश्चिममा
जहाँ देउडाका बीचमा
पालमका हरफ भट्याउँछु
रिपु मल्ल र भीमदत्तका गाथाहरूका बीचमा
बुद्धिकर्णका बहादुरीका कथा गुन्छु ।

म जान्छु पाथीभराको यात्रामा
बिसौनीहरूमा सम्झिन्छु यार्सा गुम्बा टिप्दाका क्षणहरू
म खप्तड पुग्छु एकान्तबासमा
सम्झिन्छु हलेसी पुज्दाका पलहरू ।

तर अफसोच,
हाम्रा भावनाहरूमा फाँटो ल्याउँदै
राज्य मलाई दोहन गर्ने सोचिरहन्छ
पाइतालामूनिको कठपुतली बनाउने छद्म रच्छ
रैतीका जिजीविषा छोट्याउन खोज्छ
चुला चौका र मझेरीहरू निभाउन खोज्छ
सहअस्तित्वको राग मेटाउन खोज्छ ।


बक्खु र स्यमु भिरेर
“लौ नु दया भिन्तुना” भन्दै राजधानी छिर्न खोज्दा
मेरो अस्तित्वको प्रमाणपत्र खोजिन्छ
कुर्ता र धोतीमा सजिएर
चोमोलोङ्मा छिचोल्न पुग्दा
मेरो नागरिकताको नम्बर मागिन्छ ।

म सोच्छु मौनतामा र झस्किन्छु
हाम्रो सहिष्णुताको आकाशमा बसेर
कही कतै डढेलो लगाउने त होइन ?
शहीदको सालिकको काँधमा बसेर
परेवाले मेरो मृत्युको खबर सुनाउने त होइन ?
मेरो सद्भावको सुकिलो झण्डा
मेरो लासको कात्रो बनाइने त होइन ?
हुलाकीले पुलिन्दामा लगाएको लाहाछापजस्तै
देशद्रोहीको संगीन ट्याग भिराउने त होइन ?

Thursday, January 18, 2018

धरा



पुस्तक समीक्षा




रा, अर्थात धरती । धरा शब्दको दोस्रो अर्थ शब्दकोशमा थपिने भएको छ, “काव्यिक उत्कर्षको अनुपम नमुना” । र यसलाई थप्न बाध्य पारेको छ, डा नवराज लम्सालद्वारा लिखित महाकाव्य धराले ।
वर्षौंदेखि रेडियोमा सुनिएको जनप्रिय स्वर, मधुवनका स्रष्टा, प्रसारक, कवि एवं गीतकार डा नवराज लम्सालको काव्यिक क्षमताको उत्कर्ष हो धरा महाकाव्य । धरा उनको छैटौं कृति हो भने महाकाव्यका रूपमा दोस्रो । तर काव्यफाँटको उत्कृष्ट नमुना धरा नै हो भन्दा कुनै अत्युक्ति हुँदैन । धरा त्यो धरतीको कथा हो जुन पौरस्त्य देशहरूको वैचारिक नेतृत्वदाता र पूर्वीय ज्ञानधाराको आदिभूमि हो । डा लम्सालकै शब्दमा धरा त्यो धरणी हो जो वैरीको पाउ नपरेको कुमारी माटो मात्र होइन, विचार र भूगोलमा संसारकै सर्वोच्चता पनि हो ।
तर यति हुँदाहुँदै पनि यस धराका रैतीहरूमा चिन्तनभन्दा चिन्ता सर्वोपरी भएकोमा चिन्तित छन् कवि । २६ सर्गमा विस्तार गरेर लेखिएको धरामा, क्रमसँगै मिलाएर सर्गहरू राखिएका छन् । डा लम्साल सबैलाई आव्हान गर्छन्,
“देशमा देश खोज्दैछु
वंश वान्धवले सुन
यो धर्ती सबको भन्ने
नबुझ्ने सबले सुन ।”

डा लम्सालले आफैँलाई पनि कविताको विषय बनाएर महाकाव्यमा नयाँ प्रयोग त ल्याएका छन् नै, साथै आफूलाई जनस्तरमा समेत भिजाएका छन् । राष्ट्र अधोगति तर्फ जानुको दोषको हिस्सेदार आफू पनि हुँ भन्दै आफैँलाई कठघरामा उभ्याएका छन् । यस अर्थमा यो उनको इमानदारीको करारनामा पनि हो । उहाँ आफैँलाई प्रश्न गर्छन्,
“ए नवराज लम्साल
तँ कस्तो देश देख्दछस् ?
लेख्नैका लागि लेख्छस् कि
देखेकै सत्य लेख्दछस् ?”
हल्लैहल्लाको देश भन्दै भूपि शेरचनले गरेको व्यङ्ग्यलाई स्वीकार्दै डा लम्साल पनि नेपालीहरू सतही कुरामा मात्र रुमल्लिरहेकोमा निराश देखिएका छन् । हामी फगत बाँचेका मात्र छौँ र बाँच्नुकै निरन्तरतामा प्राप्तिको सरलरेखा भेट्टाउछौँ । सधैँ बिरोध मात्र गरिरहने, यो भएन त्यो भएन भन्दै एकअर्कालाई सरापिरहने नेपालीको बानीले आजित भएका छन् ।
अहिले मान्छेहरू आलस्यका दास भएको भन्दै सुतेको बाघको मुखमा मृग आफैँ नगएझैँ आफूले मिहिनेत नगरीकन केही कुरा पनि सम्भव नहुने भन्छन् । भनिन्छ पनि,
“उद्यमेन हि सिध्यन्ति कार्यणि न मनोरथै
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः”
शान्ति खोज्दै भौँतारिरहेको मान्छे सङ्कटपिच्छे फेरिन्छ, भीडबाट भागेपनि भीडमै निरन्तर हुन्छ र भीड खोजिरहेझैँ लाग्छ भन्दै सच्चिदानन्दको प्रसङ्ग पनि झिक्छन् र चित्तचौतारोको कुरा गर्दै पीपलसँग तुलना गर्न थाल्छन् ।
“सच्चिदानन्दको यो चित्तचौतारोमा
पीपलको फेदमा
र शान्ति मात्रै खोज्न हिँडेका हौ भने
सम्झ–
पीपलमुनि बस्दैमा सबै बुद्ध हुँदैनन्
बुद्ध हुँदैनौ तिमी पनि
जति बुद्ध जन्माए पनि बुद्ध हुन्न मै पनि
बुद्ध आफैँ पनि बुद्ध भएकामा खुसी नहोलान् अचेल, बुझ्यौ ।” 

कवि, काव्य र कविता बीचको अन्तरसंवादको सेरोफेरोमा टहलिएको छ धरा । उनले देशलाई आमाको संज्ञा दिएका छन् र सुनाएका छन् देशाटनका कलेवरहरू । अन्तरसंवादमै कवि कहिले राजधानी पुग्छन् त कहिले बसन्तपुर । कहिले मातातीर्थमा रुमल्लिन्छन् त कहिले प्रेमका उक्तिहरूमा । देशको खोजी गर्दै कहिले सडकयात्राहरूमा सविस्तार भेटिन्छन् त कहिले बस्तीको बयान गर्दै जन्मथलो धादिङ पुगेका भेटिन्छन् डा लम्साल ।
डा लम्साल राजधानी आउनेहरूलाई प्रश्न गर्छन्ः
“बेलाबेला आउँछन् मान्छेहरू
पल्टाउँछन् ढुङ्गा र खोज्न खोज्छन् इतिहास
ने मुनिको
मञ्जुश्रीको
गोपाल, आहिर, किराँत, मल्ल र शाहहरूको
इतिहास खोज्नेहरू शासककै मात्र खोज्छन्
खोज्छन् तिनकै तिथिमिति र राजपाटका कथा
तर किन खोज्दैनन्
यही ढुङ्गामा कुँदिएका जनताका पाइला–डाम ?”

मान्छेहरू भ्रमदौड र भागदौडमा रहेका छन् भन्दै भ्रम खाने, भ्रममा सुत्ने र भ्रममा बाँचेर भ्रममै मर्नेहरूको सपना सहरझैँ छ दिनहुँ यो काठमाडौँ सहर भन्दै आश्चर्यचकित हुन्छन् । यहीँ भाग दौडमै चमक र चाँदनी भेट्छन्, पौरख र वीरता देख्छन्, द्रव्य शाहले लिगलिगे दौडमा दौडेजस्तै यी कथाको पात्र हुने सपना बोकेर मान्छेहरू दौडिरहेका छन् ।
“देशसँग केही माग्नुअघि यत्ति भनिदेऊ
लेखक डा लम्साल
आज आफैँ
वीर र वैभवशाली हुने काम हामीले के के गर्यौ
देशकै छातीमा उभिएर यत्ति भन–
कति इन्च छाती दिएका छौ यो देश उभिन ?”

उनी प्रतिप्रश्न गर्छन्,
“हिजो देश बनेकामा आज गौरव गरेझैँ
भोलिले गौरव गर्ने काम हामीले के के गर्यौ ?”

त्यस्तै देश र सरकार भनेका फरकफरक कुराहरू हुन् । माग्नुको नाममा हामी देशसँग मागिरहेका छौँ र देश र सरकार एउटै हो भन्ने भ्रान्तिमा छौँ । सन्की शासकहरूको पागलपन र त्यसको क्षतिको जिम्मा सधैँ देशले नै लिनुपर्छ र ? भन्दै उनी भन्छन्,
“देशले नदिने के छ
के रोक्छ देशले कहाँ
छेक्ने शासक हुन् जान
के छेक्छ देशले यहाँ ।”

संसार अन्ततः प्रेममै अडिएको छ भन्दै प्रेम प्रसङ्ग जोड्छन् डा लम्सालः
“मलाई ताज महलमा विश्वास छैन
हृदयभन्दा ठूलो ताज महल कुन छ प्रेमको
मरेपछिको मुनामदन ! मर्नेलाई के अर्थ !
लैला मजनु वा रोमियो जुलियट
यी त केवल दुनियाँका रुन्चे प्रशंसा हुन्
प्रेम त बाँचेर गर्ने हो
प्रेम त हाँसेर गर्ने हो
तोडेर बन्धनहरू
पन्छाएर बाधाहरू
जिउँदैमा जोडिनुपर्छ धुकधुकी
जीवनभर तड्पेर मरेपछिको फुस्रो कथा के जीवन, के प्रेम ?
दुईचार कविको गन्थनको फूलजडी होइन
ब्युँझिएको चेतनामा खोज
असली प्रेमको दिव्य कथा !
र सम्पूर्ण देशभक्तिको विराट काव्यगाथा ।”



हामी आज ससाना कुरालाई लिएर विभाजित भएका छौँ कौरव र पाण्डव जस्तै । चिनोमा विवाद, चिन्हमा विवाद, पद्धतिमा विवाद, पहिचानमा विवाद र विवाद शृङ्खला कै शृङ्खलामा विवाद गरिरहेकाछौँ ।
देश बदल्न हिँडेकाहरू आफैँ बदलिए तर देश बदलिएन । के वर्तमानका मान्छेहरूसँग इतिहासबोध र भविष्यबोध नभएकै हो त ? देश हाँक्ने ड्राइभरले यात्रा सुरक्षित बनाउन नसक्दा सँगै हिँडिरहेका हामी यात्रुहरूको गन्तव्य के होला भन्दै चिन्ता व्यक्त गर्छन् कवि । 
यी तमाम चिन्ताका बाबजुत पनि दार्चुलाका दूरदराजदेखि ताप्लेजुङका तन्नमबस्तीसम्मका, तराईदेखि हिमालसम्मका, सम्पूर्ण जातजातिदेखि तिनका पहिचानसम्मका, ऐतिहासिक धरोहरदेखि इतिहास उत्खननसम्मका र त्यसभित्र अटाउने दार्शनिक चेतनाका कुरा बडो मार्मिक एवं कलात्मक पारामा झल्काएका छन् ।
राष्ट्रका अगाडि व्यक्ति केही पनि नभएको र एउटै राष्ट्रिय छातामा सबै अटाउनुपर्छ भन्ने अठोट छ । यही सहिष्णुता र अनेकतामा एकता जनाउँदै सबैको साझा म नेपाली हुँ भन्दै उनी भन्छन्,
“लार्के मै हुँ किसान हुँ मगर हुँ माली हुँ घर्ती म हुँ
थारू पश्चिम दाङ वा धनगढी सौका र डोट्याल हुँ
गुप्ता, यादव, झा र राजपुत हुँ, डोल्पो र ताङ्वे म हुँ
मै छन्त्याल कुमाल झाँगड दुरा बोटे र भोटे म हुँ
तोप्के, धानु, जिरेल, ताजपुरिया, हायू र ह्यल्मो म हुँ
जम्मै हुँ र त एक एक विजयी साझा र सङ्लो म हुँ । 





डा लम्सालको देशको परिकल्पना बृहत्तर छ । उनले एक आम नेपाली नागरिकको दृष्टिविन्दु बाट देश लेखेका छन् । नेपाली जनजीवनका मिहिन पक्षको उजागर गरेका छन् । उनी भन्छन्, मान्छेको चेतनास्तर माथि नउठ्दासम्म देश कदापि माथि उठ्न सक्दैन ।
डा लम्सालको अर्को सबल पक्ष भनेको देशका शीर्ष नेतृत्वलाई धरा मार्फत काव्यिक आँखाबाट देश चिनाउने प्रयत्न गर्नु हो । यसका निम्ति डा लम्साललाई धन्यवाद दिनैपर्छ । एउटा आम नेपालीको परिकल्पनामा रहेको देश र देश हाँक्ने रथीहरूको चिन्तनमा रहेको फरकपन पनि धराले समेट्ने प्रयास गरेको छ र स्मरण गराएको छ नेपाली कथाव्यथाहरू ।  धराले राजनीतिज्ञलाई पनि स्पष्ट संदेश दिएको छ, जनताका सपना, विश्वास र कलापूर्ण वाणी मिसिएपछि मात्रै कुनै पनि देश पूर्ण देश बन्छ । यसकै फलस्वरूप, एउटा खास राजनीतिक पार्टीको अभियानले मात्रै नपुगी कलासाहित्य, विज्ञान, दर्शन र बौद्धिक क्षेत्रमा समेत नवीन चिन्तन हुनुपर्छ भन्दै राजनीतिज्ञहरूले आत्मबोध गर्नु खुसीको कुरा हो ।
कविता र आमसञ्चारका माध्यमबाट देश र मान्छे पढेका डा लम्सालको सपनाको सुन्दर आकृति हो धरा । समालोचक महेश पौड्यालले भनेझैँ धरा, डा लम्सालको हृदयको कोमलता, व्यवहारको सरलता, अध्ययनको गाम्भीर्य र चिन्तनको उच्चताको समागम हो । रचनागर्भका सन्दर्भमा डा लम्साल भन्छन्, “जतिखेर नेपालीले नेपाली हुँ भन्न बिर्सेर गुरुङ, राई, लिम्बु, मधेसी, पहाडी भनेर चिनाउन थाले, त्यहीँबाट सुरु भयो धराको रचनागर्भ । अरू जाति हुन् भने नेपाली महाजाति । त्यसैले यो सबैभन्दा अगाडि आउँछ र त्यसपछि मात्रै अरू आउँछन् ।”
एउटा कविले विवरण र वर्णनका नीरस थुप्रोबाट कवितालाई जोगाएर त्यहीँभित्र चिन्तन उठाउनुपर्छ भनी स्वयं डा लम्साल भन्छन् । यस अर्थमा पनि धराको ओजन धेरै माथि रहेको छ । ठाउँठाउँमा प्रयोग गरिएका विम्ब एवं अलङ्कारले महाकाव्यलाई मीठासपूर्ण एवं कर्णप्रिय बनाएका छन् । गद्य एवं पद्य शैली, त्यसमाथि भिन्नाभिन्नै छन्दहरूको प्रयोगले काव्यको रोचकता त बढाएकै छन्, साथै श्राव्य पनि उत्तिकै बनाएका छन् । 


अन्तमा भन्नुपर्दा, जीवन र मानव महिमाका कवि, कोमलता र सरलताका कवि, कवि सँगसँगै गीतकार र कलापत्रकार डा लम्सालद्वारा रचित धरा महाकाव्य काव्यिक क्षेत्रको उच्चतम् नमुना हो । यो पुस्तक राष्ट्रिय मिलन, राष्ट्रिय चिन्तन एवं देशभक्तिको बेजोड दृष्टान्त हो ।