मकालुको माथ बोकेर
चुरेको सिञ्चित बगरको
तिरैतिरको मेरो धरान
जहाँ साकेला र उधौँलीको
स्वर्णिमता महसुस गर्छु ।
जब नाङ्चुङहरू डोर्याउछन्
ढोल, झ्याम्टा, धनुर्बाणहरू
अनि पुजिन्छन्
कुखुराका फिलाहरू
सिल्ली नृत्यमा रम्दाको माझ
रम्य हुन्छ त्यो साँझ
त्यहाँ म धरान सम्झिन्छु र मग्न हुन्छु ।
रिपु मल्लको शहरदेखि आएको
पश्चिमे भ्रमर
बुद्धिकर्णको आत्माघरसँग
साइनो बढाउन खोज्छु
र विजयपुरको ऋतम्भरा जोगाउन खोज्छु
राई, लिम्बू र किरात संस्कृतिहरूमा
चण्डी पढ्ने सौख राख्छु ।
म धान नाच्दा, गौरा खेलको लय मिसाउन खोज्छु
अनि लान्छु, सुदूरको पूर्वीय भाका
सुदूरको पश्चिममा
जहाँ देउडाका बीचमा
पालमका हरफ भट्याउँछु
रिपु मल्ल र भीमदत्तका गाथाहरूका बीचमा
बुद्धिकर्णका बहादुरीका कथा गुन्छु ।
म जान्छु पाथीभराको यात्रामा
बिसौनीहरूमा सम्झिन्छु यार्सा गुम्बा टिप्दाका क्षणहरू
म खप्तड पुग्छु एकान्तबासमा
सम्झिन्छु हलेसी पुज्दाका पलहरू ।
तर अफसोच,
हाम्रा भावनाहरूमा फाँटो ल्याउँदै
राज्य मलाई दोहन गर्ने सोचिरहन्छ
पाइतालामूनिको कठपुतली बनाउने छद्म रच्छ
रैतीका जिजीविषा छोट्याउन खोज्छ
चुला चौका र मझेरीहरू निभाउन खोज्छ
सहअस्तित्वको राग मेटाउन खोज्छ ।
बक्खु र स्यमु भिरेर
“लौ नु दया भिन्तुना” भन्दै राजधानी छिर्न खोज्दा
मेरो अस्तित्वको प्रमाणपत्र खोजिन्छ
कुर्ता र धोतीमा सजिएर
चोमोलोङ्मा छिचोल्न पुग्दा
मेरो नागरिकताको नम्बर मागिन्छ ।
म सोच्छु मौनतामा र झस्किन्छु
हाम्रो सहिष्णुताको आकाशमा बसेर
कही कतै डढेलो लगाउने त होइन ?
शहीदको सालिकको काँधमा बसेर
परेवाले मेरो मृत्युको खबर सुनाउने त होइन ?
मेरो सद्भावको सुकिलो झण्डा
मेरो लासको कात्रो बनाइने त होइन ?
हुलाकीले पुलिन्दामा लगाएको लाहाछापजस्तै
देशद्रोहीको संगीन ट्याग भिराउने त होइन ?
No comments:
Post a Comment