Monday, April 2, 2018

तिमी भएर

आजको संध्याकालको प्रहरमा
चन्द्रशालामा तिम्रो प्रतीक्षा गर्दै बसिरहेछु
अभिसारिकाझैं बनेर । 
मेरो वासकसज्जाको मोहनीले
कर्पूरद्रव बन्दै
उडाई ल्याउने छ तिमीलाई
मेरो समीप ।
हुन त मलाई कतिले
अस्थिरताको उपनाम देलान्
तर मेरो मनसाय निष्कलङ्क छ
जुन कुरा तिमीले पनि बुझ्छौ प्रिय ।
हुन त तिम्रो माया कुनै कुशिलव होइन
मैले थपडी बजाउनै पर्ने
तर तिम्रो मायाको आयतन देखेर
छक्क भने जरूर परेकी हुँ ।
तर पनि म वाजिनीवती हुन्छु कि कलहान्तरिता
म अझैँ अनिर्णयित छु ।
मलाई थाहा छ,
तिम्रो कुनै कुटिलताको क्रीत हैन
मेरो अभावले तिम्रो जिन्दगी
दुर्मनायित भएको छ,
थाहा छ मलाई ।
मेरो घोरविचरणले
तिम्रो अरण्यरोदन घनीभूत भएको छ
तिम्रो जिन्दगीको महान्धकार हावी भएको छ ।
मेरो महामतिको म अात्मश्लाघी त होइन
तर तिम्रो श्लाघा पनि त पचाउन सकिनँ ।
तर जे होस्,
प्रिय,
म प्राण हुँ भने तिमी वायु
म आकाश हुँ भने तिमी पृथ्वी
र यो रोदशीको मिलन
अत्यावश्यक लाग्यो मलाई ।
निमेषभरको वर्षाको भेलले
के गर्न सक्ला र हाम्रो मायाको प्रवेगलाई ।
खैर,
मेरो जिजीविषाको एक भाग
तिम्रो मायाको आयतनले भर्न
म राजी छु ।

Sunday, April 1, 2018

गुनासो

जिन्दगीका अनेक मोडहरूमा 
आइरहने सजीव यादहरूमा
म मेरो खुसीका आलापहरू देख्छु । 
पानीमा उठेका थोपाहरू
एकछिन उठेर बिलाएझैँ
बिलाउछन् रङ्गीन सपनाका इन्द्रेणीहरू
मनासिव जिन्दगीका घुम्तीहरू देखेर ।
के सम्बन्धका फेहरिस्तहरू
गुनासो गर्दैनन् र ?
तिम्रा निम्ति साँचेका हरेक शब्दहरूमा
तिम्रा शब्दहरूको बाक्लो उपस्थिति चाहने मेरा चाहहरू
किन बुझ्दैनन् तिम्रा परिभाषा
किन बुझ्दैनन् तिम्रा जीवनका परिवेशहरू ?
र पो गरिरहेका हुन् कि गुनासो आफैँसँग ?
प्यारी
स्वान्तसुखायःका उत्तम पाटाहरूमा
तिम्रो आकृति झल्किरहँदा
यादहरूको थुम्को तिम्रो प्रतीक्षा गरिरहन्छ
त के गुनासो गर्नु मनासिव यादहरूसँग ?
म जाँदैछु कुनै दूरतामा
जहाँ म छु
र सँगै तिम्रो मौनताका कणहरू छन्
जहाँ मेरो भाष्य छ
र सँगै तिम्रा अप्रस्फुटित लवजहरू छन् ।
शब्दका बनोटबाट निस्किने हरेक लवजहरूमा
हरपल भेटिरहने गुनासाहरू
यसमै त रहेछ
जिन्दगीको मीठास
आखिर हार्न जान्नेहरूसँग नै
सफलताका कथाहरू हुन्छन् ।

सम्बन्धहरूको जीविका


के छ सम्बन्धहरूको परिभाषा ? 
कुन भाष्य चिन्छन् बोल्छन् सम्बन्धहरू ?
कुन रूपणमा भौँतारिन्छन् ?
के छ तिनीहरूबीचको साइनो ?
के सम्बन्धहरू फूलझडी हुन् कि ?
हुन् कुनै लघुताभासका प्रयाय ?
वा हुन् चिरकालका सोपानहरू ?
म यदाकदा रनभुल्लमा पर्ने गर्छु ।
कस्तो आकृति कोर्छ सम्बन्धले ?
कस्तो प्रतिविम्ब आँकलन गर्छ ?
कुन जीविकामा बाँचिरहेका छन् सम्बन्धहरू ?
कुन उषाकालको कल्पना गर्छन् ?
कुन चुनढुङ्गामा अडिएका छन् ?
र कुन जुनकिरीको कुरा बुझ्छन् ?
के का आधार हुन् सम्बन्ध ?
विश्वासका कि प्रतिघातका ?
समर्पणका कि विश्वासघातका ?
के नयाँ सम्बन्धहरू
जीवनका ऐँजेरु हुन् कि ?
जोडघटाउका हिसाबहरू?
के सम्बन्धहरूमा
सरलता हुन्छ कि तरलता ?
केको आकृति झल्काउँछ सम्बन्धले
प्रगाढताको कि वितृष्णाको ?
सम्बन्धहरू
जोड्नका निम्ति हुन् कि तोड्नका निम्ति ?
जीवनका निम्ति हुन् कि जिउनका निम्ति ?
इमानका करारनामा हुन् कि आघातका ?
देखावटी कवज हुन् कि निःस्वार्थका प्रारूप ?
आदर्शका फूलबुट्टा हुन् कि व्यवहारिकताका ?
के छ सम्बन्धहरू बीचको साइनो ?
आलटालको छ कि सम्मानको ?
विचलनको छ कि ढाडसको ?
सद्भावको छ कि दुर्भावको ?
कसरी चलिरहेको छ
सम्बन्धहरूको जीविका ?
म अझैँ बिलखबन्दमा छु ।

सिरिया र सृष्टि




दिग्दिगन्तबाट आएका पुलिन्दाहरूमा
हुलाकीले लाहाछाप हानेजस्तै
आकाशबाट खसेका मृत्युपत्रहरूमा
एकएक गर्दै लालछाप हानिरहँदा
म ती धराहरूलाई सम्झन्छु
जसले जीवनको निर्माण गरे
र बसाए बस्ती
देखाए शैशवकालमा सपना
जिजीविषा र जिगीषाका
जसले सिकाए
इमानका करारनामा
र वीरताका कौशलहरू
जसले पढाए त्रिपिटक
बुद्ध र शान्तिका
र उजागर गरे
स्वाभिमानका लहरहरू ।

बच्चाहरूले खेलेका बालापनका खेलहरूमा
मधुमालती बनेका आत्माहरू
के सवार भएकै हुन् त
सदाका लागि वायुपङ्खी घोडामा ?
तिनीहरूले खेलेका डन्डीबियोका बियोजस्तै
उछिट्टिएर कहाँ पुगे होलान् निर्जीव संसारमा ?
आफ्नै सन्तानसँग लुकामारी खेल्दै गर्दा
कहिलेसम्म छोपिरहनेछिन् ती आमाले आँखाहरू
र पर्खिरहनेछिन् अङ्गालोमा बेर्न ?
भाँडाकुँडी खेल्दै गर्दा
बनेका दुलहा दुलहीहरू
कहिले बन्लान् यथार्थमा जीवनका सारथीहरू ?

यी सबै प्रश्नहरूका उत्तरको निर्माणमा
समर्पण गरेका हुँदा हुन्
सृष्टिकर्ताले आफ्नो सम्पूर्ण जीवन ।
आफ्नो समयका एकएक भागहरूमा
जीवनका सुरम्य पाटाहरू बिर्सिएका हुँदा हुन्
यही सुन्दर सृजनाका निम्ति ।
जुन कुनै सन्की शाषकको
भद्दा मजाक हुनसक्छ
जो यी सबै प्रश्नहरूको उत्तर
बन्दुकको नालबाट दिन रूचाउँछन् ।

यात्रा



जिन्दगीको अनामिक यात्री बनेर
जाँदैछु आज
कुनै अनामिक यात्रामा
दैनन्दिनका अनर्गल झोक र बोझलाई छोडेर ।
त्यो अनामिक यात्रामा
जहाँ आफ्नै कलेवर छन् दुनियाँसँग
आफ्नै नामहरू छन् यात्रा र यात्रीका
आफ्नै सृष्टिगोचर र प्रेक्षा छन्
सपना र उन्माद छन् ।
जसरी सर्वनाम नाम होइन
र नामको पर्यायवाची पनि होइन सर्वनाम ।
त्यसैगरी यात्रा घुम्नु होइन
र घुमाइको पर्यायवाची पनि होइन ।
यो त यदाकदाको सट्टामा प्रयोग हो
नामको सट्टामा सर्वनाम भएजस्तै ।

हो म त्यो अनामिक यात्रामा छु
जहाँ लौठसल्लाहरूले
एकआपसमा लुकामारी खेल्दा
मृगशावकहरू पनि मौन हुँदा हुन्
आफ्नो भोकलाई थाती राखेर ।
जहाँ मैना चरी र मुनाल
काकलीमा रमाइरहँदा
हावाका झोक्काहरू पनि डराउँदा हुन्
तिनीहरू बीचको प्रेमगीत उडाउन ।
जहाँ चित्त चौताराहरू
आफ्नो शालीनतामा एकाग्र हुँदा हुन्
कुनै कविको सृजना नबिग्रियोस् भनेर ।
जहाँ धीरोदात्तहरू
सजक हुँदा हुन् आफ्नो कर्मयोगमा
कुनै मर्यादापुरूषको मर्यादा कुण्ठित नहोस् भनेर ।
जहाँ न्याउली पनि सन्देह मान्दी हुन्
कुनै तपस्वीको साधना खल्बलिन्छ कि भनेर ।

हो म त्यो यात्रामा जाँदैछु
जसको न सुरू छ न त कुनै अन्त्य
जसको न कुनै नाम छ न कुनै वैशिष्ठ्यता
जसको न कुनै योजना छ न त कुनै शिल्प
जसको न कुनै भूगोल छ न कुनै इतिहास
त्यहाँ छ त केवल
यात्रा, यात्री र उसको परिवेश !!!
त्यहाँ छ त केवल
यात्रा, यात्री र उसको परिवेश !!!

धन्यवाद



जीवनका स्वप्नील गोरेटाहरूमा
तिम्रो आशले बाँचेका
हरेक फाल्साहरू सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

विचलनको दूरतामा अल्झिरहँदा
तिम्रो मीठास र मन्दमुस्कानले
सोझ्याएको तङ्ग्रन शरीर सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

हरेक चाड, पर्व र दिनहरूमा
सफलताका अनेकल बीजहरूमा
तिमीले दिएका बधाई र शुभकामनाका सन्देश सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

प्यारी तिमी
तिम्रो मौनता र लज्जाले दिएका
हरेक बहारका निम्ति धन्यवाद
जसकै भर परेर
मैँले आफ्नो सृजना तिखार्न सिकेँ
र यी कविता लेख्न सकेँ ।
त्यसैले धन्यवाद तिमीलाई
जसकै कारण
आज म कवि भएको छु ।

लज्जा


जिन्दगीको मोलतोलसँगै
जन्मिएको तिम्रो लजालुपन
खै किन बाधक छ
तिम्रै जिन्दगीको इन्द्रेणीका निम्ति ?
तिम्रै लजालुपनको दोबाटोमा
कि समाजको भय छ
कि तिम्रो मनको कसिङ्गर लज्जा छ ?
नत्र जिन्दगीको निस्सारतामा
किन रम्थ्यो होला र तिम्रो पाइला ?
नत्र जिन्दगीको कुटिलतामा
किन अडिन्थ्यो होला तिम्रो सास ?
यदि सीता लजाएकी भए
के उठाउन सक्थिन् त पिनाक धनुष ?
यदि पार्वती लजाएकी भए
के निस्किन्थ्यो र स्वस्थानी व्रतकथाको गौरवरूप ?
वा तिमी द्रौपतीको लज्जाबाट निस्किएको
भीमको प्रतिज्ञाको प्रतीक्षामा छौ ?
वा कुनै नयाँ प्रयोग हो जिन्दगीको
तिम्रो आफ्नै दिलग्गीको ?

प्यारी तिमी
'लज्जाचेत किमुभूषणै' भनेझैं
तिम्रो लज्जा साँच्चै तिम्रो भूषण हो कि
तिम्रो देखावटी अस्थिपञ्जरको प्रयोग ?
म रनभुल्लमा छु ।

तिम्रो माैनता



यात्राका अनर्गल चौघेराहरूमा
मैले नरोजिएको बाटो रोजेँ
र आज फरकपन भेट्दैछु ।
तिम्रो शालीनतामा
म मेरो यथेष्ट खुसी देख्छु ।
तिम्रा हरेक पदचापहरूमा
म मेरो सजीव आत्मा देख्छु ।
तिम्रा हरेक मन्दहाँसमा
म मेरा अप्रस्फुटित वाक्यहरू भेट्छु ।
तिम्रो सान्निध्यतामा
म मेरो साकारता भेट्छु ।
तिम्रो भलाद्मीपनामा
म मेरो निर्दोषपन भेट्छु ।
तिम्रा हरेक सोचाइहरूमा
म मेरो विश्वास भेट्छु ।
तिमीले रोजेका हरेक बाटाहरूमा
म मेरो सन्तुष्टि भेट्छु ।



तर तिमी मौन छौ
आफ्नै जिन्दगीका पाटाहरूसँग
जसरी मौन छ आकाश
क्षितिजका नागबेली प्रश्नहरूसँग ।
तर तिमी लजालु छौ
आफ्नै भविष्यका तरङ्गहरूसँग
जसरी लजालु छ लज्जावती
आफ्नै बगानका गुलाफहरूसँग ।
तर तिमी शान्त छौ
आफ्नै प्रगतिचापहरूसँग
जसरी शान्त छन् हिमालहरू
आफ्नै वीरगाथाहरूसँग ।

प्यारी तिमी
तिम्रो जिन्दगीको रौनकतामा
म मेरो आत्मविश्वास भेट्छु
म मेरो भविष्य भेट्छु
म मेरो खुसी र सफलता भेट्छु ।
त्यसैले त
तिम्रो जिन्दगीको निस्सारतामा
एउटा निस्तार लिएर आएको छु
के तिमी अझै मौन रहिरहन्छौ ?

बाँदरहरूको मेला


नेमुनिको नामले कल्पित देश
मञ्जुश्रीले छिचोलेको काठमाडौँ
सगर छुने माथ र शान्ति छर्ने बुद्धभूमिले
चौडा बनाएको हाम्रो गर्विलो छातीमा
तेञ्जिङका पदचाप परिरहँदा
हामी परजीवीको कल्पना गछौँ
र खोज्न थाल्छौँ छुट्टै आभास नयाँपनको
टुँडाल र शिखरका मण्डपमा
सङ्गमर्मरको लेप लगाउन खोज्छौँ ।
खुँडा र तरबार बोक्ने
दरिला पाखुराले
चरेश र रक्तचन्दन बोक्दा,
देश चिन्तन गर्ने वैचारिक मगजले
भाषणको काव्य लेख्न खोज्दा,
मेरो मानसपटलमा
बाँदरका प्रजातिहरू
झलझली नाच्न थाल्छन्
त्यसैले त
मैले यहाँ बाँदरहरूको मेला लगाउन खोजेको छु ।
आऊ यहाँ
यो मेलाको साक्षी बनेर जाऊ
र रोप आफ्नो छुट्टै इतिहास
तिमी यहीं बाँदरहरूको भीडमा
आफ्नो अस्तित्व खोज्न चाहन्छौ ?
वा आफ्नो छुट्टै गोरेटो कोर्छौ ?

मलाई कहिलेकाहीं सम्झनामा आउने
सद्दाम हुसेन र गद्दाफी
विन लादेन र इदि अमीन
यिनीहरू थिए थिएनन्
कुनै मेलाका हाकावाल ?
वा कसैको हाक्कहुक्कका
वेलगाम रिपु थिए ?
र पो अवनति प्राप्त गरे
प्रश्न अनुत्तरित छ ।

देशका उच्चासीनहरू हो
तिमीलाई थाहा छ छैन
हस्तिव्यूहको रचनाबारे ?
देशको जङ्गेपिल्लर जोगाउन
तिम्रो हसन्तिका हेर्न बाँकी छ
तिमी दु:शासन बन्ने वा अभिमन्यु ?
इतिहास भर्न बाँकी छ ।

तिम्रो विचारको युद्धमा
तिमी महावीर बन्ने वा वृक्षचर ?
तिमी चिन्तन गर्ने कि चिन्ता ?
तिमी मन फेर्ने कि मान्छे ?
तिमी वीरकर्म गर्ने कि विनष्ट ?

जिन्दगीको क्यानभासमा
मैले यौटा झार रोपेको छु
र प्रतीक्षारत छु
त्यो झार पीपल बन्छ वा पलाँस ?

हो मैले यहाँ
बाँदरहरूको मेला लगाएको छु
यो मेलालाई
हनुमानको बाँदर सेना बनाउने ?
वा ढेडु गुनीको लावा लस्कर ?
त्यो तिम्रा पदचापहरूले निर्क्योल गर्नेछ ।

गाह्रो



आजीवन जीवन जिउनुको गाह्रो
गएर सोध अश्वत्थमालाई
अनि बुन्ने छौँ आफ्ना रङ्गीन सपनाका इन्द्रेणी
अश्वत्थामालाई साक्षी राखेर ।

जीवन सृजनाको गाह्रो
प्रसव पीडामा थलिएकी आमालाई सोध
अनि बुझ्ने छौ मात्सल्य र त्यसले स्थापित गरेका
प्रेमका विनियमहरूलाई ।

दुई छाक टार्न जिन्दगी बन्धकी राखेर
एकसरो लुगाले लाज टालिरहेका
तन्नम रैतीलाई सोध
दारूण जिन्दगीको गाह्रो ।

समर्पण र त्यागको निष्ठाले
देशको इमान बचाएका सत्याग्रहीलाई सोध
नैतिकताको कलेवरसँग जोडिएको
जीवन सङ्घर्षको गाह्रो ।

यायावर जिन्दगीको पेचिलो सङ्घर्ष
प्रेमवासनाको मिहिन सङ्घर्ष
द्विविधाका अप्रस्फुटित वाक्यहरूको सङ्घर्ष
रोगीका निरोगिताका भावानुवित सङ्घर्ष
यी सबैसबै हुन् पर्यायवाची
कुटिल समयका
जसले गाह्रो जिन्दगीलाई अमूर्त बनाएका झन् ।


विवशता




धानबारीमा लहलह झुलेका बोटहरू हेर्दा
अगेनामा हरदम बलिराख्ने आगो देख्दा
अनि आकाशमाथि देखिने असीमित क्षितिज नियाल्दा
ऊ पनि बन्न खोज्छ तिमीजस्तै
तिम्रै हरदम
जो हरेकका जीवनको प्रेमगीत बनोस्
जो हरेकका जिजीविषाको भागिदार बनोस्
जो हरेकका खुसीहरूको कारण बनोस्
त्यसैले त उसका आफ्ना इच्छा छैनन्
त्यसैले त उसका आफ्ना आवश्यकता छैनन्
त्यसैले त उसका आफ्ना क्रिडाहरू छैनन्
तर अफसोच
ऊ निहत्था हुन्छ
अरूका निम्ति आदर्शको पगरी गुथ्छ
लटरपटर गर्ने एक हचुवा बन्छ
र समयको बोझ हुन्छ ।

जीन्दगीको क्यान्भासमा
समयसँगै उभिएको एक अस्थिपन्जर हो ऊ
जो सँग छ समाजको ऐना
जसले देख्छ समस्याको आँखीझ्याल
र निमिट्याउन खोज्छ हर लगामहरू
तर्सिन्छन् मान्छे
उसको रूपण देखेर
तर आफ्नै मनको दलनमा जलिरहन्छन्
अगेनामा जलेको आगोजस्तै ।

समयको रूपरेखामा
रमेश क्षितिजको कविताजस्तै
के शिखर चढ्नु मात्रै हो र जीवनको सफलता
वा शिखर उत्रिन जान्नु पनि हो सफलता ।

म किमंकर्तव्यविमूढ छु
आफैँसँग
उसको सन्ताप सम्झेर
अनि अठ्ठहाँस हाँस्न मन लाग्छ आफैँसँग
आफ्नो विवशता देखेर ।


मःमः



जीन्दगीका सजीव पाटाहरूलाई उकास्दै
मनका आदिम सभ्यतालाई मात खुवाउँदै
बनाइरहेछन् हरेक नश्वरलाई प्राकृतिक मःमः
जसरी बनाइन्छ चोकको पसलमा
चिकेन मःमः ।
अग्ला मान्छेहरूको प्रहसनजस्तो
निहत्था रैतीहरू सुप भइरहेछन्
चिकेन मःमः सँगै रसाएर खाएको सुप जस्तै ।

जिन्दगीका विनियमहरू
केवल छन् त मःमःका किमा जस्ता
जसरी अनेक किमामाथि
थपिन्छ नयाँ पत्र
आफ्नै आफ्नै किसिमको
रङ्गीविरङ्गी
त्यस्तै त छन् मान्छेका लेपनहरू
मगजका थुप्राहरू सुकिसक्दा पनि
शरिरका दोपट्टाहरू सजाइरहन्छन् ।
जेहोस् मान्छे चिनारी बनोस्
आफ्नै देश र सभ्यताको
आफ्नै कौशल र सौर्यको
जसरी थेगिदिएकै छ जुनीभरि
यही आदिम मःमः ले देशको चिनारी ।

देशद्रोही



मकालुको माथ बोकेर
चुरेको सिञ्चित बगरको
तिरैतिरको मेरो धरान
जहाँ साकेला र उधौँलीको
स्वर्णिमता महसुस गर्छु ।

जब नाङ्चुङहरू डोर्याउछन्
ढोल, झ्याम्टा, धनुर्बाणहरू
अनि पुजिन्छन्
कुखुराका फिलाहरू
सिल्ली नृत्यमा रम्दाको माझ
रम्य हुन्छ त्यो साँझ
त्यहाँ म धरान सम्झिन्छु र मग्न हुन्छु ।

रिपु मल्लको शहरदेखि आएको
पश्चिमे भ्रमर
बुद्धिकर्णको आत्माघरसँग
साइनो बढाउन खोज्छु
र विजयपुरको ऋतम्भरा जोगाउन खोज्छु
राई, लिम्बू र किरात संस्कृतिहरूमा
चण्डी पढ्ने सौख राख्छु ।

म धान नाच्दा, गौरा खेलको लय मिसाउन खोज्छु
अनि लान्छु, सुदूरको पूर्वीय भाका
सुदूरको पश्चिममा
जहाँ देउडाका बीचमा
पालमका हरफ भट्याउँछु
रिपु मल्ल र भीमदत्तका गाथाहरूका बीचमा
बुद्धिकर्णका बहादुरीका कथा गुन्छु ।

म जान्छु पाथीभराको यात्रामा
बिसौनीहरूमा सम्झिन्छु यार्सा गुम्बा टिप्दाका क्षणहरू
म खप्तड पुग्छु एकान्तबासमा
सम्झिन्छु हलेसी पुज्दाका पलहरू ।

तर अफसोच,
हाम्रा भावनाहरूमा फाँटो ल्याउँदै
राज्य मलाई दोहन गर्ने सोचिरहन्छ
पाइतालामूनिको कठपुतली बनाउने छद्म रच्छ
रैतीका जिजीविषा छोट्याउन खोज्छ
चुला चौका र मझेरीहरू निभाउन खोज्छ
सहअस्तित्वको राग मेटाउन खोज्छ ।


बक्खु र स्यमु भिरेर
“लौ नु दया भिन्तुना” भन्दै राजधानी छिर्न खोज्दा
मेरो अस्तित्वको प्रमाणपत्र खोजिन्छ
कुर्ता र धोतीमा सजिएर
चोमोलोङ्मा छिचोल्न पुग्दा
मेरो नागरिकताको नम्बर मागिन्छ ।

म सोच्छु मौनतामा र झस्किन्छु
हाम्रो सहिष्णुताको आकाशमा बसेर
कही कतै डढेलो लगाउने त होइन ?
शहीदको सालिकको काँधमा बसेर
परेवाले मेरो मृत्युको खबर सुनाउने त होइन ?
मेरो सद्भावको सुकिलो झण्डा
मेरो लासको कात्रो बनाइने त होइन ?
हुलाकीले पुलिन्दामा लगाएको लाहाछापजस्तै
देशद्रोहीको संगीन ट्याग भिराउने त होइन ?