Monday, November 11, 2019

रारा



तिम्रो कायाको सम्मोहनले
प्लवित मेरा नयनहरूमा
के तिलस्मी रोप्यौ हँ, रारा?
तिम्रो नीलिमाका लहरहरूमा
लहरमा परावर्तित लालिमाहरूमा
सर्वकालीन रङ्गिन छालहरूमा
शीतोष्ण प्राज्ञिक चालहरूमा
यसै यसै मग्न भएँ

कुनै बेला कि राधा तिमी, रारा भएपनि
कृष्णकि राधाजस्तै प्रेमको सुवास छरिरहन्छौ
मोहित पारिरहन्छौ हामीजस्ता भ्रमरलाई
हरेकपल्ट आफ्नो कामुकताले
भर्जिन रारा बनेर


सूर्यका आभायुक्त किरणहरूले
तिम्रा छालहरूमा
गतिशील लहरहरू सृजना गर्नु
नीलाम्बर आकाश
सेताम्य विशाल हिमालहरूलाई
आफ्नो विशाल छाती दिनु
तिम्रो सुन्दरताको उच्चता हो
वायुको वेगसँगै पिङ खेलिरहेझै लाग्छन् तिम्रा वरिपरि
खच्चड घोडाहरू
एकतमास तिम्रो छाया पछ्याइरहेझै लाग्छन्
धुलौटे गोरेटा घोडेटाका पदचापहरू
हावाले सल्लाका पात हल्लाउँदा सुसाएको सुसेली
डाँफेले चिरबिर चिरबिर गर्दै गाएको ध्वनिगीत
तिमीसँगै तिमी वरिपरि ढुकेर बसेका छन्
सुन्दरतामा तिम्रो एकछत्र राजको प्रमाण दिन

कालिमाको जतिसुकै मजेत्रो ओढेर आएको भएपनि
तिम्रो एक स्पर्शले शीतलता ओढाइदिन्छ
तिम्रो एक मुस्कानले स्वान्तसुखायःको वाणी छर्छ
तिम्रो एक हेराइले हर भ्रमरको जठराग्नि शान्त पार्छ
तिमीसँगको एक उत्तम भेटले सुचिन्तन थपिदिन्छ
तिमीसँगको एक सहवासले नूतन विचार सृजना गर्छ

कर्णालीको
अभावमा वैभव बनेर
आत्मविश्वास सामर्थ्य बोकाएकी छौ
विकट मुगुको दरिद्रता छोपेर
ऊर्जा सुन्दरताको लेपन लगाएकी छौ
खच्चड घोडाहरूसँग मितेरी लगाएरै भएपनि
आफ्ना रैतीहरूको गर्जो टारेकै छौ
साक्षी राखेकी छौ सिङ्गो मुर्मा गाउँलाई
जसको दरिद्रतालाई समेत आदिम सुन्दरता भराएकी छौ

कुनै दन्त्य कथाकी राजकुमारी जस्तै
तिम्रो बेजोड सुन्दरताले एक टक भएँ रारा,
मलाई तिमीमै समाहित गर ।।

दसैँ

अस्पतालको शैय्याबाट
उपचारको याचना गर्दै
दशाले थलिएका प्राणभीरुहरू
निस्सार छन् दसैँको उत्सवबाट

आफ्नै शरीरसँग
जीवन मरणको लुकामारी खेल्दै गरेकी
कोकिला परियारका निम्ति
दसैँको रौनक
उनको विकलाङ्ग शरीरको
पर्यायवाची मात्र भएको । 

दसैँको उल्लासमा
आफ्नो परिवारको रङ्गिन कलेवर थप्न
दोजिया श्रीमती आउन लागेको नयाँ खुसीका निम्ति
झोलाभरि नयाँ भोटो, लुगा खेलौना बोकेर
परदेशबाट घर आइपुगेका लहरे सार्की
जब अस्पतालको प्रसूति कक्षमा
मृत्युसँग सङ्घर्ष गर्दै गरेकी श्रीमती
मृत जन्मेको शिशुको साक्षी हुन्छन्
उनको दसैँको उल्लास छताछुल्ल पोखिन्छ

साँझको पेट पाल्न जङ्गल बारी छिर्दा
भालु आक्रमणमा परेकी धौलीमाया
गाईबस्तुको जोहो गर्न जाँदा
भीरबाट झरेर करङ भाँचेका नरपति
अस्पतालको आकस्मिक कक्षमा पल्टेर
टोलाइरहन्छन् दसैँ सम्झेर

कोकिला, लहरे सार्की, धौलीमाया नरपति जस्तैका
मनग्य कथा जीवनीहरूको तन्नम साक्षी भएर
परेला भिजाएका आँसु निन्याउरो अनुहारलाई छोपेर
उनीहरूलाई फगतको ढाडस आशा बाँड्दै हिँडेको
मेरा निम्ति दसैँ
यी यिनै परिवेशको साक्षीकर्ता भएर बित्छ
उनीहरूका आर्तपूर्ण यात्राको सहपाठी
मेरो निस्सार दसैँलाई तजबिजमा राखिरहन्छु
खिल्ली उडाइरहन्छु
आफूले आफैँलाई
जसरी उल्ल्याइँ रहन्छ
दसैँ, दशा देशको दिशाले हरेक साल