Friday, October 28, 2016

म, तिमी र समय


समयले माग्यो
मेरो कौतुहलता
मैले मागे तिम्रो समय
तिमीले भविष्यका लागि साँच्यौ ।


समय त्यही न हो
जसको म प्रतीक्षा गरिरहेछु
समय उही त हो 
जसको तिमीले सदुपयोग गरिरहेछौ ।



तिम्रो सुनौलो वर्तमानमा
समयकै त हात छ
जसरी मेरो अप्रत्याशीत आगतमा
समयकै लगाम छ ।
थाहा छ, तिमीले कल्पेको स्वप्नमा
समय रमाइरहेछ 
र रमाइरहेछाै तिमी सँगसँगै 
तर ऊ बेखबर छ, आफ्नो पावन्दीको ।
ऊ तौलिरहन्छ तिमी र मलाई
एउटै तराजुमा
यही सोच्दै, कि तिम्रो र मेरो अस्तित्व 
एउटै हो भनेर ।
समय त्यत्तिकै बलवान् रहेनछ ।।।

Monday, October 24, 2016

मैले कविता किन लेखेँ


मेरा कविता
तिमी पढ्नू भनेर लेख्छु
आफ्ना मनका अन्तरकुन्तर खोल्छु
आफूलाई पखाल्छु
यो सन्देश तिमीलाई पुर्याउन ।
मसँग बोल्ने शब्दहरू छैनन्
नत बोल्ने विषयहरू नै छन्
ती सबै विषयहरू
जहाँ म मेरा खुसीहरू लत्पतिएको देख्थेँ
ती सबैले उत्तर पाइसकेका छन्
स्वयम् बाट ।

मनमा असिमित पीडाहरू छन्
अनगिन्ती शब्दहरू छन्
कयन् भावहरू छन्
श्रेयस्कर स्मृतिहरू छन्
तर मेरो बोली फुट्दैन
म निःशब्द हुन्छु ।
पहिले, जब म बोल्थेँ
मेरो मगजले प्रसोधन गर्थ्यो
र मुखबाट प्रसारण गर्थ्यो
अहिले, मेरो मुटु प्रसोधन गर्न थालेको छ
र आँखाबाट प्रसारण गर्छ ।
आशा छ, तिम्रो प्रतीक्षा मात्र
मेरो कविता नहोस्
मेरो कविता मात्र
तिम्रो जीवनी नहोस्
समयले डोर्‍याउने दिनहरूमा
मैले मेरो उत्तर पाउनेछु
जब तिमीले कविताको अर्थ बुझ्नेछौ
तब मेरो थकित मगजले
चैनको सास फेर्नेछ
र मेरा खुसीहरू दोहोरिनेछन्
मेरो बोलीले गति लिनेछ ।
नेपथ्यमा तिमीले सधैँ
आफूलाई प्रश्न गरिरहनेछौँ
हरेक जिन्दगीको पात्र म नै किन भनेर ?

(यस कविताका पात्रहरू काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ )

Sunday, September 25, 2016

तिम्रो प्रतीक्षा


मलाई थाहा छ तिम्रो बाध्यता
तिमी भित्र गुम्सिएका  कुन्तरकान्तर
हर आवेश, हर भावभङ्गी, हर मनोभावहरू
यी सबै सबै थाहा छ
र त चित्त बुझाइरहेछु
अग्राख पलाउने प्रतीक्षामा ।

थाह छ, जलाधारबाट उम्रेका बाफहरूको तछाडमछाड
त्यसैले त कहिले,
गर्जिन्छ बादल बनेर
कहिले धरधरी रून्छ पानी बनेर
र अन्ततः रङ्गीन इन्द्रेणी बर्साइछाड्छ ।
हो त्यही इन्द्रेणीको कल्पनामा
कहिले मेरा सपनाहरू रून्छन्
कहिले सम्झनाहरू गिज्याउछन्
कहिले आँसुका भेल कालजयी भैदिन्छन्
र पनि म सम्हालिन्छु
त्यही घमाइलो दिन सम्झेर ।
मलाई थाहा छ राम्ररी
तिम्रा समस्याका बेलिविस्तार
तिम्रा मनमा पलाएका हरेक टुसाहरू
सम्बन्धका जालझेलमा अड्केका
तिम्रा वायूपङ्खी दुविधाहरू
र त चुप छु म
दीयो बल्ने प्रतीक्षामा
सपनाका चाङलाई साक्षी राखेर
सम्झनाको दलीनमा सुइरा रोपेर
र उडिरहेछु
बाध्यतामा बाँधिएको मुक्ताकाशमा
तिम्रो आगमनको प्रतीक्षा गरेर ।।

Tuesday, September 20, 2016

के म लायक छैन र ?


समय घन्किदै जाँदा
बारीका डील अनि हातका खील सम्झँदै
मौसमे न्वाँगी भित्र्याउँदा
लेकतिर बज्ने सोरठीको तालमा
मनखुस नाच्न,
के ऊ लायक छैन र ?

सबेरै गाईवस्तु हालेर
दिनको जोहोको सत्कार्य निम्ट्याएर
पानी नचल्ने काजीको आँगनको डीलमा रहेको
सुकुलमा थकान बिसाउँदै
भरपेट सम्म खान पनि,
के ऊ लायक छैन र ?

मनमा इच्छित प्रेमरागलाई
कल्पनाको बुट्यानमा सिँगार्न
अपनत्वको शब्दकोशमा
स्वीकार्यता पाउन,
के म लायक छैन र ?

Friday, September 16, 2016

रिस


सायद दुर्वासालाई पनि केही कारण थियो होला
आफ्नो रिसको प्रदर्शनीको
नत्र कहाँ उठ्थ्यो र ती बुझक्कीको रिस
विनासित्तिको प्रहसनबाजीको ।
सायद समुद्रका ज्वारभाँटा पनि
कहिलेकाही त गमक्क रिसाउँदा हुन्
आफ्ना रैतिका चर्तिकला देखेर
र त बजारिन्छ कहिलेकाही
सुनामीका छाल फलाक्दै ।
सायद मेरो रिस
नत भूमण्डलको क्षय थियो
न त दुर्वासाको दिग्विजयी रिस
भावनाका पत्रहरू फाट्दा
मनको उद्वेग नसम्हालिने रिस थियो होला
घत् दुख्दा मगजको संसोधित रिस थियो होला
आशाको दीप निभ्दाको पीडा थियो होला
सायद मेरो रिस
प्रेमासीन संसारका अबुझ चेतनाको अचेत बिम्बमा थियो कि
सम्बन्धहरूको प्रहसनले निम्त्याएको
भावनाको तिक्ष्ण प्रहारमा,
म निरन्तर सोच्दैछु ।।

Friday, September 9, 2016

आँसु




यदि आँसुको कुनै मूल्य हुन्थ्यो भने
सायद समुद्र पनि निष्प्राण रूने थिएन होला
हरेक निमेषमा बनेका वाफहरू
फेरि आएर उसकै माथमा थुप्रिएको
कहाँ चित खान्थ्यो र समुद्र ?
त्यही आँसु
कहिले नदी बनी बग्दो हो
कहिले खहरे बनी उर्लदो हो
त कहिले समुद्रझैँ स्थीर तर दूरगहिरो हुँदो हो ।
आँसु पनि सायद
आँखाका परेली वरपरै समाहित हुन्छन् होला
अनि सकिन्छन् त्यसमा भरिएका व्यथा, वेदना अनि मायाका अवशेषहरू
पुरिन्छन् होला हर भ्रमरका जिजीविषा
निमोठिन्छन् निहत्थाका न्याय पाउने आशाहरू
चुडिन्छन् होला अबोध तन्नमका विद्यार्जनका सपना
जसरी मेरा भावनाका ढिक्का फुटेर
तप्प तप्प बग्छन्
आँसुका बलीन्द्र धारा
म सम्झन्छु
ती स्मृतिहरूलाई
जसले यी आँसुको गर्भाधान गरे ।

यी आँसु त फगत हुन्
पानीका निर्जीव थोपा
आस्थाका कण
मार्गदर्शनका मुल्यहीन वस्तु ।
सायद आँसुको मूल्य हुन्थ्यो भने
कतिका घरवार चुँडिन्नथें होला
कतिका प्रेमासीन संसार भाँचिन्नथें होला
कतिका आस्था छट्पटाउन्नथे होला ।

खैर,
यी आँसु त केवल 
पानीका निर्जीव थोपा न हुन्
जसले तिमीलाई के नै पो फरक पार्न सक्थ्यो र ?

सपना


अन्तर्हृदयका भावसँग
पौँठेजोरी खोज्दै
म एकलयात्रीलाई
सपनाको यात्री बनाइदियौँ
ए सपना
मेरा अव्यक्त भावहरू
मेरा अप्रस्फुठित विचारहरू
मेरा स्वप्नील चाहनाहरू
अनि मेरा गम्भीर भावभङ्गीहरू
यी सबै सबै
तिमीले बोक्ने निधो गरेछौ ।
विद्यार्जनका अनेक चौबाटाहरूमा
विश्राम लगाउँदै
फेरि मुकुण्डे आशा फलाक्दै
तिमी त छौ
जो स्वप्नील असम्भवलाई
अवश्यम्भावी बनाउछौँ
तिम्रै यात्रामा मात्र भए पनि ।

हे सपना
सक्छौ भने नमार मेरा विपनाका सपनालाई
नरोक मेरा अन्तर्निहित मनोभावलाई
र नगराऊ मलाई तिम्रो विभीषण सपनाको यात्रा
किनकि
म सपना यात्री बन्न चाहन्न ।।।