Monday, June 30, 2014

देशको माैनता

सीमाको बाँधले जोडिएका
असङ्ख्य वस्तीहरू
सगर छुने चुचुराका फेदले 
कोरेका सीमा रेखाहरू
गतिशील नदीका भुगोलले
छुट्याइएका समथरहरू            
घनीभूत तृणभूमिले    
बनाएका साँधहरू
यिनै रेखाहरूबीच 
ठडिएको मेरो राष्ट्रियता 
र म ।

इतिहास साँचेर बसेका
कथित आदिवासीहरू
आफ्नोपन अपनत्व गरेका
तमाम रैतीहरू
बर्षौबर्ष मुठ्ठी बनेका
एउटै हूलमा मिसिएका
कयन् जातिहरू ।

आज आकाशवाणी भएछ 
अनि नदीशका ज्वारभाटाझैँ
मलिन आवाज चर्किएछन्
यहाँ नारा दिइएछ
आकाश छुने परिवर्तनको
जनताका छोराछोरी मालिक बन्ने कथाको
अनि उठाइएछ आवाज
तथाकथित दबिएका, हेपिएकाहरुको 
बिगुल बनेर ।

त्यहाँ नौलोपन झल्कन्छ
वाहवाहीको थपडी बज्छ 
अनि बल्ल आभाष गर्छन्
आफू दबिएको, हेपिएको कुरा
अरु कसैले सम्झाइदिएपछि
अनि त्यही सपनामा मिसिन्छन्,  मिसाइन्छन्
आफू मालिक हुने सपना देख्छन्
लहराउछन् आँखाहरू
सल्बलाउछन् ओठहरू
देख्न थाल्छन् फरक फरक
होचा नीचा बीजहरू, जातिहरू ।

कतै कसैलाई अपनत्व नभएको गुनासोे
अधिकार कुण्ठित भएको गुनासो
संविधानले नछुट्याएको 
अरुले नअलग्याएको
जीर्ण मानसिकताको बास ।

“श्रीमान् गम्भीर....” ले जोडेको पुरातन देशमा
अहिलेको  “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली” गुनेपनि
नेपाली मनहरू “सयौँ थुङ्गा फूलका हामी फरक फरक जातजाति” भन्न रुचाउँछन् 
अनि राष्ट्रियताका धर्षाहरु कोर्न खोज्छन्
सीमाका बाँध, सगर छुने चुचुरा
गतिशील नदी अनि घनीभूत तृणभूमिले
कोरेका सीमारेखाहरू बीच पनि
नयाँ रेखाहरु कोर्न थाल्छन् 
गणितीय ज्यामिति जस्तै
एउटै बिन्दुबाट कोर्न मिल्ने
अनगिन्ति रेखाहरू, कोणहरू
अनि कोरिन्छन् यिनै रेखाहरू
एकअर्का प्रति
मानवीय संवेदनाको उचाइभन्दा माथि ।

सायद आज देश नुहेको छ
यही त्रिविभोक्ष हेरेर
आफ्नो जिजिविषाको आयु गणना गर्दै
झोक्राएको छ
आफ्नो लुछाचुडी पछि बन्ने 
अनेकन् नयाँ रक्तबीज सम्झेर
आफ्ना आडमा रहेका चन्द्रसूर्य झोक्राएको देखेर
आफू पनि झोक्राएको छ
त्यसैले त ऊ आज मौन छ 
र सधैँसधैँ
सदा सदाका लागि 
मौन बसिरहने सङ्कल्प गर्दैछ ।

Monday, March 10, 2014

गर्मी

असङ्ख्य वस्तीहरूमा 
आशातीत हत्तलहरूमा 
खिसीको मनासिब 
विकरालताको पराकाष्ठा 
प्रचण्ड गर्मी 
ॐ सूर्य देवाय नम: भन्दै
सुत्रपातित दिन 
मिर्मिरेको झझल्को दिदै 
कान्ति फिजाएको रोष 
भएको छ कुनै 
प्रचण्ड प्रतापि 
प्रचण्ड गर्मी 
कयौँको आँश खोसिदिएको गर्मी 
कयौँका निम्ति चर्मको चर्माइ 
विद्यार्थीका निम्ति पढाइको तर्साइ
किसानको सासको फड्काइ 
यौवनाको प्रदर्शनको पर्खाइ 
हरेक पर्खाइ अनि हरेक वितण्डाको जड 
यही प्रचण्ड प्रतापि गर्मी ।।


Thursday, September 5, 2013

राष्ट्रियता

उत्तरमा हिमशैल छन् हिमगिरी सेता भुवाका सरी
चम्कन्छन् चहुँओर यी झुमिझुमि सर्वत्र प्रकाश गरी ।
सागर शील छ विश्वदर्पण यहाँ सर्वोच्च शिखर बनी

जलधारा सबका मुहान यिनी हुन् गौरब छ, मैछु धनी ।।



दक्षिणमा समतल धरातल सरी मैदानी भू–भागमा
फल्छन् अन्न फलादी ढेर धनको लाग्ने सधैँ हातमा ।
चौतर्फि वन कन्दरा यी हरिया डाँडा र काँडा सब
नेपाली हुनुको त गौरव भनी सम्झन्छु यी सब जब ।।


छत्तीस वर्ण र चार जात सबको फूलवारी मग–मग गरी
चम्किन्छन् वन कन्दरा र शैल गिरीका मानु ती मोति सरी ।
भाषा–भाषी विविध छन् तर पनि आभाष एकै हुने
सम्झन्छन् सब जाति मावन यहाँ भेदभाव छैनन् कुनै ।।


गोर्खाली भनिने बहादुरहरू गर्जन्छन् संसार भरी
नेपालीपनको अहम छ तिनमा झुक्दैनन् केही गरी ।
नालापानीको युद्ध होस् अथवा होस् युद्ध अंग्रेजसित
नेपाली कहिले झुकेन रणमा बहादुरीकै जीत ।।


भोजपुरे खुकुरी सधैँ चमकिने टोपी छ भक्तैपुरे
बैतडी चिउडी गुडै छ फलने इलामी चिया बरे ।
गैँडा हात्ती ती गर्जने चितवनै चौरी हिमालै महाँ
विविध जात र जातिका चरिवरि सर्वत्र छन् भूमिमा ।


सुन्दर भूमिको व्याख्या जहिले जहाँ जति गरे पनि
कमै हुन्छ स्वचिन्तनमा राष्ट्र प्रेम यति उति भनी ।
म मरे पनि मेरो देश बनोस यशोश्वसी
त्यसैले जप्दछौँ हामी, जननी जन्म भूमिश्चः स्वर्गादपि गरियसि............................. ।। २ ।।



Monday, November 5, 2012

वर्तमान अवस्थामा बाल अधिकारप्रति सरकारको दायित्व

वर्तमान अवस्थामा बाल अधिकारप्रति सरकारको उत्तरदायित्व सुन्दर, शान्त र विसालको उपमा गँँसिएको गौतम बुद्धको जन्मथलो र भगवान पशुपतिनाथद्वारा रक्षित मानिएको नेपालमा विगत १०–११ वर्षसम्म चलेको आन्तरिक द्वन्दले राष्ट्रलाई वर्षै पछाडि धकेलिदिएको छ । विविध जातजाति, धर्मसंस्कृति तथा सम्प्रदायका मानिसहरु भौगोलिक रुपमा विखण्डित परिवेशमा अवस्थित यस मुलुकभित्र बसोबास गर्दछन् । आर्थिक एवं सामाजिक रुपमा विभेदपूर्ण तरिकाले छरिएका राष्ट्र भित्रका मानवहरुले समानता, मौलिक हक, अधिकार र स्वतन्त्रताको चाहना गर्नु स्वभाविकै ठहर्छ । यसैको अभावमा चर्केको आन्तरिक द्वन्द्वमा सबैभन्दा बढी प्रभावित रहेको बालबालिकाहरुको अवस्था सम्बन्धमा द्वन्दरत पक्ष र सरकारी पक्षबाट उचित ध्यान दिइएको पाइदैँन, जसका कारण बालबालिकाहरु मारिनु, बेचिनु, देह व्यापर गर्न वाध्य हुनु र बालश्रममा लाग्नु परेको तितो यथार्थ छर्लङ्ग छ ।
नेपाल अधिराज्यको पछिल्लो जनगणना वर्ष २०५८ का अनुसार कुल संख्याको ४० प्रतिशत भन्दा बढी संख्या १६ वर्ष मुनिका बालबालिकाले ओगटेको पाइन्छ । नेपालमा हालसम्म बालबालिका सम्बन्धी शिक्षा, स्वास्थ्य, स्याहार सुसार जस्ता आधारभुत कुराहरुको अधिकारका सुनिश्चितताका लागि नियमहरु नबनेका होइनन् तर व्यवहारमा अभिभावक, समाज र राज्यले त्यसबारे उचित ध्यान पुर्‍याइएको पाइँदैन । जसका कारण बालबालिकाहरुले बाल अधिकारको उपभोग गर्न नपाई तपसिलका दुर्ब्यवहार भोगिरहनु परेको छ ।

१. अभिभावकबाट खान लाउन र शिक्षादिक्षासम्बन्धी उचित प्रबन्ध नपाउँदा विस्तापित हुनु परेको ।

२. उच्च आमदानी भएका वर्गहरु र समाजमा प्रतिष्ठित भनाउँदाहरुले गरिब, असहाय, बालबालिकाहरुलाई घरेलु नोकरको रुपमा काममा लगाउनु ।

३. गरिबी र बेरोजगारीका कारण १६ वर्षमुनिका बालिकाहरुलाई देह ब्यापारका लागि बेचिन बाध्य बनाउनु ।

४. हली र कमैयाका रुपमा बसेका व्यक्तिहरुका बालबालिकाहरुको जमिनदारहरुले श्रमशोषण गरिरहनु ।

५. होटल, कलकारखाना, उद्योगहरुमा कम ज्यालमा जोखिमपूर्ण काममा बालबालिकाहरुलाई लगाउनु ।

बाल अधिकार, बालबालिकाहरुको अवस्था हामी हाम्रो स्थानीय ठाउँमा स्पष्ट देख्न सक्छौं । काठमाडौँका प्रायःजसो होटलहरुमा बालश्रमिकहरु भाँडा माझिरहेका भेटिन्छन् । गाउँमा ठूला भनाउँदाहरुको घर खेतमा काम गर्ने र घर नोकरको रुपमा काम गरिरहेका छन् । यहाँ बुद्धिजीवी भनाउँदाहरुले बालबालिकाहरुलाई आफ्नो घरमा नोकर बनाएर राखेका छन् । यो अवस्था हेर्दा धनी, गरिब, उच, नीच सबैको रगत रातो भएको र सबैले समान रुपमा पढ्न लेख्न पाउनु पर्नेमा विपन्न वर्गका बालबालिकाहरु बञ्चित भएर बसेका छन् । बाल अधिकारको कुरा गर्ने गैरसरकारी संस्थाहरु डलर पचाउनमा व्यस्त छन् । सरकारी नेताहरु भाषण गर्नमा व्यस्त छन् र न्यायका ठेकेदारहरु ऐन कानुनका पानामा मात्र अधिकारको कुरा देख्छन् तर स्वयं आफैँ घरमा बालबालिका नोकर बनाएर राख्छन् । यो कुरा तपाईंहरुलाई पत्यार लाग्दैन भने यो जोखिमपूर्ण कुरा हो किनभने देशमा यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् । यसमा हामी एउटा वास्तविक घटना समेत लिन सक्छौं । आजभन्दा केही वर्ष अगाडि काठमाडौंमा एक न्यायाधिशले घरमा काम गर्न एउटी सानी बालिकालाई राखेका थिए जो पछि गएर न्यायाधिशकै छोराको बलात्कारको शिकार हुन पुगिन् ।


यसरी विस्तापित र बिखण्डित रहेका बालबालिकाहरुको अधिकारको रक्षा गर्न सरकारी पक्षबाट बालअधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धिका पारित नियमहरु पालना, बाल अधिकारको उलङ्घन गर्नेलाई उचित दण्ड दिइनुपर्ने, रोजगारीको व्यवस्था एवं निःशुल्क र सहज रुपमा सम्पूर्ण बालबालिकाहरुलाई शिक्षा र स्वास्थ्य उपचारको सुविधा प्रदान गरिनुपर्दछ । अभिभावक, द्वन्द्वरत पक्ष र राष्ट्रको नेतृत्व तहमा बसेका व्यक्तिहरुले “आजका वालक भोलिका कर्णधार” हुन् “राज्य संचालन गर्ने महान् हस्ती” हुन् भन्ने सोच राख्नु अपरिहार्य हुन आउँछ ।

यसका लागि समाजमा ठूलो क्रान्तिको आधिँ सृजना गरेर बालबालिकाको अधिकार दिलाउन र समानताको अनुभूति दिलाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट जुरमुराउन ढिला गर्नुहुँदैन र सबैले तपसिल कुराको मर्म बुझ्नुपर्छ ।

हाँस्ने खेल्ने बेला हाम्रो
पढ्ने लेख्ने उमेर हाम्रो
ननिमोठ निर्दयीहरु टाउको हाम्रो
नभाच दुष्टहरु हो ! हातखुट्टा हाम्रो

फरक नै के छ र ? ति तिम्रा लालाबाला र हामीमा
काटी हेर रगत रातै हुनेछ !
जन्म र मृत्य हेर, एक नास नै हुनेछ !!

                                                              

Tuesday, September 2, 2008

कुसुमकल्प महिमा

आयु वर्ष विवेक् सुरम्य अति हो रूपैै छ मन्दाकिनी 

कस्की हौ दुहिता तिमी भनिदेऊ छिटो गरी सँगिनी ।

तिम्रा वाणी लवज् समाई मनले सन्तोष मान्नैपर्यो

काया तिम्रो विभूषण सरी मनमोह शान्तै भयो ।।


नबयानिने कौमुदी भइगयौ सबका पाश्र्व तिमी

रोदन कर्कश पावक होम्यौ हे मेरी सौख्य मानुषी ।

सानन्द कर्पूर–द्रव बनिगयौ दिगङ्गना प्रमदा

भैग्यौ नयनाभिराम मनकि मेरी तिमी सर्वदा ।।


आदित्यैकन प्रचण्ड बनिग्यौ इन्दुसरह शीतल

शिक्षार्थीमा एकल मृदुल तिमी शतायु छौ जीवित ।

कैवल्यै अति छौ तिमी हे प्रमदा निलाम्बरै छाै तिमी

हर भ्रमरकन तिमीले बन्दछौ सज्जनबन्दिनी ।।


तिम्रो चञ्चमावट देखिलिया छैनौ तिमी पामर

फाल्सा तिम्रा अमर छन् बुझ्यौ नहुनु कभै कायर ।

तिम्रो मन्दहाँस सुरिलो छ पनि तोड्नु उनाऊ सबै

आखिर विद्धज्जन हुनु तिमी किरणकाञ्चन नभै ।।