Friday, September 9, 2016

आँसु




यदि आँसुको कुनै मूल्य हुन्थ्यो भने
सायद समुद्र पनि निष्प्राण रूने थिएन होला
हरेक निमेषमा बनेका वाफहरू
फेरि आएर उसकै माथमा थुप्रिएको
कहाँ चित खान्थ्यो र समुद्र ?
त्यही आँसु
कहिले नदी बनी बग्दो हो
कहिले खहरे बनी उर्लदो हो
त कहिले समुद्रझैँ स्थीर तर दूरगहिरो हुँदो हो ।
आँसु पनि सायद
आँखाका परेली वरपरै समाहित हुन्छन् होला
अनि सकिन्छन् त्यसमा भरिएका व्यथा, वेदना अनि मायाका अवशेषहरू
पुरिन्छन् होला हर भ्रमरका जिजीविषा
निमोठिन्छन् निहत्थाका न्याय पाउने आशाहरू
चुडिन्छन् होला अबोध तन्नमका विद्यार्जनका सपना
जसरी मेरा भावनाका ढिक्का फुटेर
तप्प तप्प बग्छन्
आँसुका बलीन्द्र धारा
म सम्झन्छु
ती स्मृतिहरूलाई
जसले यी आँसुको गर्भाधान गरे ।

यी आँसु त फगत हुन्
पानीका निर्जीव थोपा
आस्थाका कण
मार्गदर्शनका मुल्यहीन वस्तु ।
सायद आँसुको मूल्य हुन्थ्यो भने
कतिका घरवार चुँडिन्नथें होला
कतिका प्रेमासीन संसार भाँचिन्नथें होला
कतिका आस्था छट्पटाउन्नथे होला ।

खैर,
यी आँसु त केवल 
पानीका निर्जीव थोपा न हुन्
जसले तिमीलाई के नै पो फरक पार्न सक्थ्यो र ?

सपना


अन्तर्हृदयका भावसँग
पौँठेजोरी खोज्दै
म एकलयात्रीलाई
सपनाको यात्री बनाइदियौँ
ए सपना
मेरा अव्यक्त भावहरू
मेरा अप्रस्फुठित विचारहरू
मेरा स्वप्नील चाहनाहरू
अनि मेरा गम्भीर भावभङ्गीहरू
यी सबै सबै
तिमीले बोक्ने निधो गरेछौ ।
विद्यार्जनका अनेक चौबाटाहरूमा
विश्राम लगाउँदै
फेरि मुकुण्डे आशा फलाक्दै
तिमी त छौ
जो स्वप्नील असम्भवलाई
अवश्यम्भावी बनाउछौँ
तिम्रै यात्रामा मात्र भए पनि ।

हे सपना
सक्छौ भने नमार मेरा विपनाका सपनालाई
नरोक मेरा अन्तर्निहित मनोभावलाई
र नगराऊ मलाई तिम्रो विभीषण सपनाको यात्रा
किनकि
म सपना यात्री बन्न चाहन्न ।।।

सम्झना


सम्झनाहरूले सधैँ सधैँ
दिग्भ्रमित तुल्याइरहन्छ
आँखाका नागबेलीहरू रसाइदिन्छ 
हरेक कुइँनेटाहरूमा
जरा रोपिदिन्छ
हे सम्झना
के तिम्रो छुट्टै अस्तित्व छैन र ?
के तिमीले मगजका हरेक गिर्खाहरूसँग
लिसोझैँ चोप लाइरहनुपर्छ र ?
कृपया सम्झना
कि तिम्रा तरङ्गहरूका नागबेली
फलीभूत पार
होइन भने किन ऐंठेजोरी खोजिरहन्छौ ?
हर पल हर समय दैनन्दिन ?
कृपया आफ्नो अंशभाग छुट्याई जाऊँ
आफ्नै समानान्तर आकाशमा
निकै निकै पर
जहाँ हाम्रो अस्तित्व छुट्टा छुट्टै छ
भावविहीन, घतविहीन अनि
सम्झनाविहीन छ ।

Saturday, August 27, 2016

मोतीबिन्दु











निस्पट्टै भयो अन्धकार जगतमा अय्या र आत्थुकन
मोतीबिन्दु लिएर रोग जगमा पैदा भए मानव ।।

मोतीबिन्दु लिएर जन्म उसको हे दैव यो के गर्यौ
मोती हातमहाँ दिनु त उसको आँखा महाँ पो भर्यौ ।।

जन्मैजात हुने कुनकुनै, कोही त जन्मै पछि
थुप्रै रूप हुने सफेद रङको यो रोग नै दुर्गति ।।

के के सोच्दछ मानिस अहिले के दुर्दशा भैगयो
सारा सृष्टि गोचर गरने यो दृष्टि धीमा भयो ।।

धेरै पो छिरिगो प्रकाश अँखिया टल्किन्छ यो टलटल
देख्छु भन्दछ इन्द्रेणी उसले आँखा भयो खलबल ।।

कारण जानिकनै सुधार गरनु राम्रो विधि एक हो
खाने चुरोट, उमेर बढने वंशाणु यी केही हो ।।

जानु रोग निदान गर्नु सजिलै आँखा जँचाइकन
गर्लान् चिर र फार ति मनुहरू ज्योति फिराइदिन ।।

यो सुन्दर सृष्टि भोग गरने, सुन्दर यी आँखाले हो
मोतीबिन्दु हटाई स्वस्थ रहनु, यै आजको प्रातः हो ।।

Thursday, June 30, 2016

असार


गृष्म ऋतुको बिदाई सँगै
गर्मीले आहात भएकाहरू
मनोरम वर्षाको आशमा
बसेकाहरूको चित्त बुझाउदैँ
किसानहरूको भविश्यको दियो जलाउन
हराभरा वातावरणको आशमा बसेका
वातावरणविद्हरूको मनोकल्पनालाई साकार तुल्याउन
बाह्र महिना एक महिना भएर आउँछ असार हेर्दा ।

खेतबारी नियाल्दा तत, हाहा, झमझम र झुमझुम
आकास नियाल्दा बादलको घुम्टो वर्षाको झमझम
जंगलतिर हेर्दा हरियालीको शोभा
आशातित अनुहार नियाल्दा
भविश्यको उद्गम ।

अद्भूत अनमोल मोतिका दानाझैँ
झरझर परेका पानीका थोपा
अमृतसरी भै दिन्छन्
जीवन दायनीको रुप धारण गर्छन् ।

गर्मीको पसिना र आकासको असिना
शत्रुताको आभास प्रकट गर्दछन्
तर पनि हरेक प्राणी
असारे झरी र हिलोमय संसारको कल्पनामा
आसातित भएर बस्छन्
आउँला असार, रमाउँला असारमा 
र बिदाई गरौँला असारको भनेर ।।


Wednesday, November 11, 2015

खलङ्गामा हमलाः समीक्षा

आवरण चित्रमा मक्किएको, चर्चराएको घर । अनि किताबको शीर्षक “खलङ्गामा हमला” । यी दुबै हेर्दा लाग्छ यो कुनै छापामार युवतीको डायरी हो । तर १३५ पृष्ठ लामो त्यो संस्मरण पढिसक्दा लाग्छ, यो कुनै प्रगाढ ईच्छाशक्ति र दृढ आत्मविश्वास बोकेकी एक देशभक्त महिलाको कथा हो । दीनदुःखीको सेवामा होमिएकी एवम् तन्नम बस्तीका वेदनाहरूमा प्रलेप लगाउन जन्मिएकी एक युग महिलाको कथा हो । र यसका निम्ति यस पुस्तककी लेखिका राधा पौडेललाई नमन गर्नैपर्छ ।

   २०७० सालको मदन पुरस्कार प्राप्त पुस्तक “खलङ्गामा हमला” एक कर्मठ नर्सको डायरी हो । नाता सम्बन्ध र व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्रनिर्माणको प्राथमिक कार्यमा होमिएकी एक स्वास्थ्य सेवकको डायरी हो । सधैँ राज्यबाट अपहेलित एवं विकासनिर्माणमा समेत जर्जर अवस्थामा रहेको कर्णालीलाई आफ्नो कर्मथलो बनाई सामाजिक एवं स्वास्थ्य क्षेत्रमा एउटा पहलकदमी रोप्ने नर्सको डायरी हो “खलङ्गामा हमला” । देश जर्जर द्वन्द्वमा होमिएको अबस्थामा समेत नडगमगाई अविचलित रुपमा आफूलाई मार्गदर्शकको रुपमा उभ्याउन सफल राधा पौडेललाई बुझ्न र हरेक जिजीविषालाई आत्मसाथ गर्न एकपल्ट “खलङ्गामा हमला” पढ्नै पर्ने हुन्छ ।


   पुस्तकको बारेमा भन्नुपर्दा, पुस्तकको शीर्षकमा जनाईएको  “खलङ्गा” कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदरमुकाम हो । द्वन्द्वकालमा सरकारी सेना र माओवादी सेनाबीच खलङ्गामा  भएको भीडन्तले नै यस पुस्तकको शीर्षक जन्माएको हो । लमजुङ जिल्लामा जन्मिएकी राधाले आफ्ना गरीब बा लाई “हामी कति गरीब है बा” भनी सोध्ने बालमनोरथको प्रश्नको उत्तरमा “होइन, हामी भन्दा गरीब त कर्णालीका मान्छे छन्” भन्ने पाउँथिन् । अनि त्यही प्रश्न उनको जिन्दगीको मार्गदर्शक भएर बस्यो । सधैँ आफूभन्दा गरीब कर्णाली भन्ने उत्तर पाइरहँदा उनको मनमा कर्णालीबारे अनेकथरी प्रश्न उब्जिन्थे अनि कर्णाली कस्तो होला, “ हामी भन्दा गरीब मान्छे रहेछन् है” भन्ने मानसिकताले सताइरहन्थ्यो उनलाई । र त्यही “सताहा” उनका लागि जीवनको नवीन घुम्ती सावित भयो ।


   उनले लेखेको पुस्तकमा छुट्टै शीर्षकमा जुम्लाको भोगाइ, जुम्लीहरूको वास्तविक दशालाई बडो मार्मिक ढङ्बागबाट प्रस्तुत गरेकी छिन् । आफ्नै आँखा अगाडि युद्ध भइरहँदा उब्जित त्रासको वातावरण अनि जीवन र मृत्युको दोसाँधको मनोदशालाई निकै मर्माहक पारामा झल्काएकी छन् । यी विविध दोसाँध, विपत् एवम् क्षयकारी अवस्था रहेर पनि पूरा गाउँलाई दृढ आत्मविश्वासका साथ जिजीविषा दिन सक्नु उनको सबैभन्दा आकृष्ट कुरा हो । द्वन्द्वको घाउपश्चात् पनि जुम्लाबाट फर्किने सबैको आग्रहलाई लत्याउँदै फेरि जुम्लामै काम गर्न जानु एक महिलाको सलामी निर्णय हो ।

“खलङ्गामा हमला” त्यो कथानक हो जो भत्किएका मनहरूलाई पनि दिलग्गी दिनसक्ने अथक माने राख्छ । यो ऊर्जाको बिगुल हो जो सुतेका नश्वरलाई ब्युँझाउन सक्ने हेक्का राख्छ । र त मदन पुरस्कार गुठीले गरेको निर्णय उचित एवं विचारणीय छ र सयौँ भीडमा एक्लो टाकुरो साबित भयो “खलङ्गामा हमला” ।


   अन्तमा भन्नुपर्दा, यो राधा पौडेलको भोगाइको कथानक हो जो महिला भएर पनि ईच्छाशक्तिमा विश्वास गर्छिन् । पुस्तक पढिसक्दा, पुस्तकको लेखाइ एकदम सरल, सरस र कारुणिक छ । यस पुस्तकभन्दा निकै अघि लेखिएको नारायण वाग्लेको पुस्तक ‘पल्पसा क्याफे’ ले दर्शाएको द्वन्द्वको घाउलाई पनि उछिनेको भान हुन्छ र द्वन्द्वको मनोदशालाई झन् भावनात्मक तरिकाले उतारेको छ “खलङ्गामा हमला” ले । अपितु पुस्तक लेखाइमा देखिएको अलि ठाडोपनलाई चिर्न सकेको भए पुस्तकले अझ बढी भावना तरङ्गित गर्न सक्ने थियो जस्तो लाग्छ । त्यसैगरी आवरण चित्रको चर्चराएको भग्न घरको तस्बीरले शीर्षक अनुरुप खलङ्गामा हमलाको वर्णन गरे पनि अझै यसमा कर्णालीका कुनै तन्नमबस्तीका जनताको कारूणिक तस्वीर उतारेको भए अझ सशक्त हुने थियो कि ?

   यद्दपि छोटो, मीठो, सरल, सरस एवं कारूणिक गाथाले हरियो भरियो भएको “खलङ्गामा हमला” एक सशक्त लेखिकाको सशक्त प्रतिबिम्ब हो । र यो कथानक हरेक नेपालीको प्रतिध्वनि हो र यस पुस्तकको विचरणबिना पाठकको पाठकीय पठन अपूरो नै ठहर्छ ।


Thursday, October 22, 2015

दशैँ

देशको दशामा

दशैँ मनाउँदाको थकथक
अत्यास लाग्दो हुँदो रैछ साँच्चै 
समुद्रका ज्वारभाटाझैँ 
उद्देलित हुँदा रैछन्, मनका आतुरित बेगहरू
आकाशको चन्द्रमा साक्षी छ 
यी सबै विचान्तर देशान्तरहरूको 
हो, यसपालीको दशैँ 
खल्लो नै सही 
गोरखा दरवारको जमरा र टीका
पनि त पुगेन हनुमान ढोका यसपालि 
अनि मोदि चाचाजीको कुआशिर्वादले 
पनि त फलिफाप पारेकोछ 
के के बन्दी गरेर यसपालि ।
थाहा छ, संविधानको थकथकी
अनि निहत्था जनताको वीरगति 
भुकम्पले उब्जाएका घाउका डोबहरू
सुक्न कहाँ पो पाएका छन् र ? 
दशैँको उल्लास 
अनि टीका र जमराको आशिर्वाद थाप्न
कोशौ पारिको थकथकी यात्राका 
यात्रुहरूको थकथकी
र निहत्थाको मृत्युवरण 
पनि त थाहा छ 
अनि मोदी चाचाकै कुआशिर्वादले उब्जाएको 
अनिकालको संकट टार्न 
मट्टीतेलको यात्रा गराइरहेका यात्रुहरूको दुर्घटना
यी सबै सबै थाहा छ,
अनि कहाँ हुन्छ र रौनक
उल्लास र टीकाको 
हारको उद्दानमा 
विजयको प्रत्याभूतिको 
कहाँ कसरी मनाओस् दशैँ 
लालबहादुरले त्यो शुकुम्बासी झुपडीमा 
अनि उसकी अर्धाङ्गनीले आफ्नो माइतीको झुपडीमा 
दशैदशाको पोखरीमा
आफूले पगरेको बर्खी नउतार्दै 
अनि कसरी मनाऊ मैले दशैँ
आफ्ना दाजुभाइको यो हालत देख्दा देख्दै 
अनि कसरी मनाऊ मैले दशैँ
देशको यो दशामा
अनि बेचैन मनमा ।

म आशातीत छु
मैले उल्लास साथ मनाउने दशैँ
अनि टीका, जमरा र आशिर्वाद थाप्ने दशैँ
कुन बर्षको कुन दशैँ हुने हो 
कृपया 
बर्ष किटानीका साथ
पक्कै पनि लेखियोस्
नयाँ संविधानका नयाँ धाराहरूमा
पक्कै पनि लेखियोस्
नयाँ संविधानका नयाँ धाराहरूमा ।।।