Sunday, April 1, 2018

मःमः



जीन्दगीका सजीव पाटाहरूलाई उकास्दै
मनका आदिम सभ्यतालाई मात खुवाउँदै
बनाइरहेछन् हरेक नश्वरलाई प्राकृतिक मःमः
जसरी बनाइन्छ चोकको पसलमा
चिकेन मःमः ।
अग्ला मान्छेहरूको प्रहसनजस्तो
निहत्था रैतीहरू सुप भइरहेछन्
चिकेन मःमः सँगै रसाएर खाएको सुप जस्तै ।

जिन्दगीका विनियमहरू
केवल छन् त मःमःका किमा जस्ता
जसरी अनेक किमामाथि
थपिन्छ नयाँ पत्र
आफ्नै आफ्नै किसिमको
रङ्गीविरङ्गी
त्यस्तै त छन् मान्छेका लेपनहरू
मगजका थुप्राहरू सुकिसक्दा पनि
शरिरका दोपट्टाहरू सजाइरहन्छन् ।
जेहोस् मान्छे चिनारी बनोस्
आफ्नै देश र सभ्यताको
आफ्नै कौशल र सौर्यको
जसरी थेगिदिएकै छ जुनीभरि
यही आदिम मःमः ले देशको चिनारी ।

देशद्रोही



मकालुको माथ बोकेर
चुरेको सिञ्चित बगरको
तिरैतिरको मेरो धरान
जहाँ साकेला र उधौँलीको
स्वर्णिमता महसुस गर्छु ।

जब नाङ्चुङहरू डोर्याउछन्
ढोल, झ्याम्टा, धनुर्बाणहरू
अनि पुजिन्छन्
कुखुराका फिलाहरू
सिल्ली नृत्यमा रम्दाको माझ
रम्य हुन्छ त्यो साँझ
त्यहाँ म धरान सम्झिन्छु र मग्न हुन्छु ।

रिपु मल्लको शहरदेखि आएको
पश्चिमे भ्रमर
बुद्धिकर्णको आत्माघरसँग
साइनो बढाउन खोज्छु
र विजयपुरको ऋतम्भरा जोगाउन खोज्छु
राई, लिम्बू र किरात संस्कृतिहरूमा
चण्डी पढ्ने सौख राख्छु ।

म धान नाच्दा, गौरा खेलको लय मिसाउन खोज्छु
अनि लान्छु, सुदूरको पूर्वीय भाका
सुदूरको पश्चिममा
जहाँ देउडाका बीचमा
पालमका हरफ भट्याउँछु
रिपु मल्ल र भीमदत्तका गाथाहरूका बीचमा
बुद्धिकर्णका बहादुरीका कथा गुन्छु ।

म जान्छु पाथीभराको यात्रामा
बिसौनीहरूमा सम्झिन्छु यार्सा गुम्बा टिप्दाका क्षणहरू
म खप्तड पुग्छु एकान्तबासमा
सम्झिन्छु हलेसी पुज्दाका पलहरू ।

तर अफसोच,
हाम्रा भावनाहरूमा फाँटो ल्याउँदै
राज्य मलाई दोहन गर्ने सोचिरहन्छ
पाइतालामूनिको कठपुतली बनाउने छद्म रच्छ
रैतीका जिजीविषा छोट्याउन खोज्छ
चुला चौका र मझेरीहरू निभाउन खोज्छ
सहअस्तित्वको राग मेटाउन खोज्छ ।


बक्खु र स्यमु भिरेर
“लौ नु दया भिन्तुना” भन्दै राजधानी छिर्न खोज्दा
मेरो अस्तित्वको प्रमाणपत्र खोजिन्छ
कुर्ता र धोतीमा सजिएर
चोमोलोङ्मा छिचोल्न पुग्दा
मेरो नागरिकताको नम्बर मागिन्छ ।

म सोच्छु मौनतामा र झस्किन्छु
हाम्रो सहिष्णुताको आकाशमा बसेर
कही कतै डढेलो लगाउने त होइन ?
शहीदको सालिकको काँधमा बसेर
परेवाले मेरो मृत्युको खबर सुनाउने त होइन ?
मेरो सद्भावको सुकिलो झण्डा
मेरो लासको कात्रो बनाइने त होइन ?
हुलाकीले पुलिन्दामा लगाएको लाहाछापजस्तै
देशद्रोहीको संगीन ट्याग भिराउने त होइन ?

Thursday, January 18, 2018

धरा



पुस्तक समीक्षा




धरा, अर्थात धरती । धरा शब्दको दोस्रो अर्थ शब्दकोशमा थपिने भएको छ, “काव्यिक उत्कर्षको अनुपम नमुना” । र यसलाई थप्न बाध्य पारेको छ, डा नवराज लम्सालद्वारा लिखित महाकाव्य धराले ।
वर्षौंदेखि रेडियोमा सुनिएको जनप्रिय स्वर, मधुवनका स्रष्टा, प्रसारक, कवि एवं गीतकार डा नवराज लम्सालको काव्यिक क्षमताको उत्कर्ष हो धरा महाकाव्य । धरा उनको छैटौं कृति हो भने महाकाव्यका रूपमा दोस्रो । तर काव्यफाँटको उत्कृष्ट नमुना धरा नै हो भन्दा कुनै अत्युक्ति हुँदैन । धरा त्यो धरतीको कथा हो जुन पौरस्त्य देशहरूको वैचारिक नेतृत्वदाता र पूर्वीय ज्ञानधाराको आदिभूमि हो । डा लम्सालकै शब्दमा धरा त्यो धरणी हो जो वैरीको पाउ नपरेको कुमारी माटो मात्र होइन, विचार र भूगोलमा संसारकै सर्वोच्चता पनि हो ।
तर यति हुँदाहुँदै पनि यस धराका रैतीहरूमा चिन्तनभन्दा चिन्ता सर्वोपरी भएकोमा चिन्तित छन् कवि । २६ सर्गमा विस्तार गरेर लेखिएको धरामा, क्रमसँगै मिलाएर सर्गहरू राखिएका छन् । डा लम्साल सबैलाई आव्हान गर्छन्,
“देशमा देश खोज्दैछु
वंश वान्धवले सुन
यो धर्ती सबको भन्ने
नबुझ्ने सबले सुन ।”

डा लम्सालले आफैँलाई पनि कविताको विषय बनाएर महाकाव्यमा नयाँ प्रयोग त ल्याएका छन् नै, साथै आफूलाई जनस्तरमा समेत भिजाएका छन् । राष्ट्र अधोगति तर्फ जानुको दोषको हिस्सेदार आफू पनि हुँ भन्दै आफैँलाई कठघरामा उभ्याएका छन् । यस अर्थमा यो उनको इमानदारीको करारनामा पनि हो । उहाँ आफैँलाई प्रश्न गर्छन्,
“ए नवराज लम्साल
तँ कस्तो देश देख्दछस् ?
लेख्नैका लागि लेख्छस् कि
देखेकै सत्य लेख्दछस् ?”
हल्लैहल्लाको देश भन्दै भूपि शेरचनले गरेको व्यङ्ग्यलाई स्वीकार्दै डा लम्साल पनि नेपालीहरू सतही कुरामा मात्र रुमल्लिरहेकोमा निराश देखिएका छन् । हामी फगत बाँचेका मात्र छौँ र बाँच्नुकै निरन्तरतामा प्राप्तिको सरलरेखा भेट्टाउछौँ । सधैँ बिरोध मात्र गरिरहने, यो भएन त्यो भएन भन्दै एकअर्कालाई सरापिरहने नेपालीको बानीले आजित भएका छन् ।
अहिले मान्छेहरू आलस्यका दास भएको भन्दै सुतेको बाघको मुखमा मृग आफैँ नगएझैँ आफूले मिहिनेत नगरीकन केही कुरा पनि सम्भव नहुने भन्छन् । भनिन्छ पनि,
“उद्यमेन हि सिध्यन्ति कार्यणि न मनोरथै
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः”
शान्ति खोज्दै भौँतारिरहेको मान्छे सङ्कटपिच्छे फेरिन्छ, भीडबाट भागेपनि भीडमै निरन्तर हुन्छ र भीड खोजिरहेझैँ लाग्छ भन्दै सच्चिदानन्दको प्रसङ्ग पनि झिक्छन् र चित्तचौतारोको कुरा गर्दै पीपलसँग तुलना गर्न थाल्छन् ।
“सच्चिदानन्दको यो चित्तचौतारोमा
पीपलको फेदमा
र शान्ति मात्रै खोज्न हिँडेका हौ भने
सम्झ–
पीपलमुनि बस्दैमा सबै बुद्ध हुँदैनन्
बुद्ध हुँदैनौ तिमी पनि
जति बुद्ध जन्माए पनि बुद्ध हुन्न मै पनि
बुद्ध आफैँ पनि बुद्ध भएकामा खुसी नहोलान् अचेल, बुझ्यौ ।” 

कवि, काव्य र कविता बीचको अन्तरसंवादको सेरोफेरोमा टहलिएको छ धरा । उनले देशलाई आमाको संज्ञा दिएका छन् र सुनाएका छन् देशाटनका कलेवरहरू । अन्तरसंवादमै कवि कहिले राजधानी पुग्छन् त कहिले बसन्तपुर । कहिले मातातीर्थमा रुमल्लिन्छन् त कहिले प्रेमका उक्तिहरूमा । देशको खोजी गर्दै कहिले सडकयात्राहरूमा सविस्तार भेटिन्छन् त कहिले बस्तीको बयान गर्दै जन्मथलो धादिङ पुगेका भेटिन्छन् डा लम्साल ।
डा लम्साल राजधानी आउनेहरूलाई प्रश्न गर्छन्ः
“बेलाबेला आउँछन् मान्छेहरू
पल्टाउँछन् ढुङ्गा र खोज्न खोज्छन् इतिहास
ने मुनिको
मञ्जुश्रीको
गोपाल, आहिर, किराँत, मल्ल र शाहहरूको
इतिहास खोज्नेहरू शासककै मात्र खोज्छन्
खोज्छन् तिनकै तिथिमिति र राजपाटका कथा
तर किन खोज्दैनन्
यही ढुङ्गामा कुँदिएका जनताका पाइला–डाम ?”

मान्छेहरू भ्रमदौड र भागदौडमा रहेका छन् भन्दै भ्रम खाने, भ्रममा सुत्ने र भ्रममा बाँचेर भ्रममै मर्नेहरूको सपना सहरझैँ छ दिनहुँ यो काठमाडौँ सहर भन्दै आश्चर्यचकित हुन्छन् । यहीँ भाग दौडमै चमक र चाँदनी भेट्छन्, पौरख र वीरता देख्छन्, द्रव्य शाहले लिगलिगे दौडमा दौडेजस्तै यी कथाको पात्र हुने सपना बोकेर मान्छेहरू दौडिरहेका छन् ।
“देशसँग केही माग्नुअघि यत्ति भनिदेऊ
लेखक डा लम्साल
आज आफैँ
वीर र वैभवशाली हुने काम हामीले के के गर्यौ
देशकै छातीमा उभिएर यत्ति भन–
कति इन्च छाती दिएका छौ यो देश उभिन ?”

उनी प्रतिप्रश्न गर्छन्,
“हिजो देश बनेकामा आज गौरव गरेझैँ
भोलिले गौरव गर्ने काम हामीले के के गर्यौ ?”

त्यस्तै देश र सरकार भनेका फरकफरक कुराहरू हुन् । माग्नुको नाममा हामी देशसँग मागिरहेका छौँ र देश र सरकार एउटै हो भन्ने भ्रान्तिमा छौँ । सन्की शासकहरूको पागलपन र त्यसको क्षतिको जिम्मा सधैँ देशले नै लिनुपर्छ र ? भन्दै उनी भन्छन्,
“देशले नदिने के छ
के रोक्छ देशले कहाँ
छेक्ने शासक हुन् जान
के छेक्छ देशले यहाँ ।”

संसार अन्ततः प्रेममै अडिएको छ भन्दै प्रेम प्रसङ्ग जोड्छन् डा लम्सालः
“मलाई ताज महलमा विश्वास छैन
हृदयभन्दा ठूलो ताज महल कुन छ प्रेमको
मरेपछिको मुनामदन ! मर्नेलाई के अर्थ !
लैला मजनु वा रोमियो जुलियट
यी त केवल दुनियाँका रुन्चे प्रशंसा हुन्
प्रेम त बाँचेर गर्ने हो
प्रेम त हाँसेर गर्ने हो
तोडेर बन्धनहरू
पन्छाएर बाधाहरू
जिउँदैमा जोडिनुपर्छ धुकधुकी
जीवनभर तड्पेर मरेपछिको फुस्रो कथा के जीवन, के प्रेम ?
दुईचार कविको गन्थनको फूलजडी होइन
ब्युँझिएको चेतनामा खोज
असली प्रेमको दिव्य कथा !
र सम्पूर्ण देशभक्तिको विराट काव्यगाथा ।”



हामी आज ससाना कुरालाई लिएर विभाजित भएका छौँ कौरव र पाण्डव जस्तै । चिनोमा विवाद, चिन्हमा विवाद, पद्धतिमा विवाद, पहिचानमा विवाद र विवाद शृङ्खला कै शृङ्खलामा विवाद गरिरहेकाछौँ ।
देश बदल्न हिँडेकाहरू आफैँ बदलिए तर देश बदलिएन । के वर्तमानका मान्छेहरूसँग इतिहासबोध र भविष्यबोध नभएकै हो त ? देश हाँक्ने ड्राइभरले यात्रा सुरक्षित बनाउन नसक्दा सँगै हिँडिरहेका हामी यात्रुहरूको गन्तव्य के होला भन्दै चिन्ता व्यक्त गर्छन् कवि । 
यी तमाम चिन्ताका बाबजुत पनि दार्चुलाका दूरदराजदेखि ताप्लेजुङका तन्नमबस्तीसम्मका, तराईदेखि हिमालसम्मका, सम्पूर्ण जातजातिदेखि तिनका पहिचानसम्मका, ऐतिहासिक धरोहरदेखि इतिहास उत्खननसम्मका र त्यसभित्र अटाउने दार्शनिक चेतनाका कुरा बडो मार्मिक एवं कलात्मक पारामा झल्काएका छन् ।
राष्ट्रका अगाडि व्यक्ति केही पनि नभएको र एउटै राष्ट्रिय छातामा सबै अटाउनुपर्छ भन्ने अठोट छ । यही सहिष्णुता र अनेकतामा एकता जनाउँदै सबैको साझा म नेपाली हुँ भन्दै उनी भन्छन्,
“लार्के मै हुँ किसान हुँ मगर हुँ माली हुँ घर्ती म हुँ
थारू पश्चिम दाङ वा धनगढी सौका र डोट्याल हुँ
गुप्ता, यादव, झा र राजपुत हुँ, डोल्पो र ताङ्वे म हुँ
मै छन्त्याल कुमाल झाँगड दुरा बोटे र भोटे म हुँ
तोप्के, धानु, जिरेल, ताजपुरिया, हायू र ह्यल्मो म हुँ
जम्मै हुँ र त एक एक विजयी साझा र सङ्लो म हुँ । 





डा लम्सालको देशको परिकल्पना बृहत्तर छ । उनले एक आम नेपाली नागरिकको दृष्टिविन्दु बाट देश लेखेका छन् । नेपाली जनजीवनका मिहिन पक्षको उजागर गरेका छन् । उनी भन्छन्, मान्छेको चेतनास्तर माथि नउठ्दासम्म देश कदापि माथि उठ्न सक्दैन ।
डा लम्सालको अर्को सबल पक्ष भनेको देशका शीर्ष नेतृत्वलाई धरा मार्फत काव्यिक आँखाबाट देश चिनाउने प्रयत्न गर्नु हो । यसका निम्ति डा लम्साललाई धन्यवाद दिनैपर्छ । एउटा आम नेपालीको परिकल्पनामा रहेको देश र देश हाँक्ने रथीहरूको चिन्तनमा रहेको फरकपन पनि धराले समेट्ने प्रयास गरेको छ र स्मरण गराएको छ नेपाली कथाव्यथाहरू ।  धराले राजनीतिज्ञलाई पनि स्पष्ट संदेश दिएको छ, जनताका सपना, विश्वास र कलापूर्ण वाणी मिसिएपछि मात्रै कुनै पनि देश पूर्ण देश बन्छ । यसकै फलस्वरूप, एउटा खास राजनीतिक पार्टीको अभियानले मात्रै नपुगी कलासाहित्य, विज्ञान, दर्शन र बौद्धिक क्षेत्रमा समेत नवीन चिन्तन हुनुपर्छ भन्दै राजनीतिज्ञहरूले आत्मबोध गर्नु खुसीको कुरा हो ।
कविता र आमसञ्चारका माध्यमबाट देश र मान्छे पढेका डा लम्सालको सपनाको सुन्दर आकृति हो धरा । समालोचक महेश पौड्यालले भनेझैँ धरा, डा लम्सालको हृदयको कोमलता, व्यवहारको सरलता, अध्ययनको गाम्भीर्य र चिन्तनको उच्चताको समागम हो । रचनागर्भका सन्दर्भमा डा लम्साल भन्छन्, “जतिखेर नेपालीले नेपाली हुँ भन्न बिर्सेर गुरुङ, राई, लिम्बु, मधेसी, पहाडी भनेर चिनाउन थाले, त्यहीँबाट सुरु भयो धराको रचनागर्भ । अरू जाति हुन् भने नेपाली महाजाति । त्यसैले यो सबैभन्दा अगाडि आउँछ र त्यसपछि मात्रै अरू आउँछन् ।”
एउटा कविले विवरण र वर्णनका नीरस थुप्रोबाट कवितालाई जोगाएर त्यहीँभित्र चिन्तन उठाउनुपर्छ भनी स्वयं डा लम्साल भन्छन् । यस अर्थमा पनि धराको ओजन धेरै माथि रहेको छ । ठाउँठाउँमा प्रयोग गरिएका विम्ब एवं अलङ्कारले महाकाव्यलाई मीठासपूर्ण एवं कर्णप्रिय बनाएका छन् । गद्य एवं पद्य शैली, त्यसमाथि भिन्नाभिन्नै छन्दहरूको प्रयोगले काव्यको रोचकता त बढाएकै छन्, साथै श्राव्य पनि उत्तिकै बनाएका छन् । 


अन्तमा भन्नुपर्दा, जीवन र मानव महिमाका कवि, कोमलता र सरलताका कवि, कवि सँगसँगै गीतकार र कलापत्रकार डा लम्सालद्वारा रचित धरा महाकाव्य काव्यिक क्षेत्रको उच्चतम् नमुना हो । यो पुस्तक राष्ट्रिय मिलन, राष्ट्रिय चिन्तन एवं देशभक्तिको बेजोड दृष्टान्त हो । 

Tuesday, November 22, 2016

सल्लीपिरः हिमालका सीमान्तकृतहरूको गाथा


अनौठो नाम “सल्लीपिर”। पुस्तक विमोचन हुनुपूर्व नै किताबको बारेमा जानकारी पाएँ । नाम चलेका, चर्चित आख्यानकार नयनराज पाण्डेले लेखेको भन्ने सुन्दा पक्कै पनि गतिलै हुनुपर्छ भन्ने भयो तर शीर्षक हेर्दा भने त्यसलाई सावित गर्न अलिकति मन अन्कनाइरहेको थियो । तर लेखकका अघिल्ला औपन्यासिक कृति “उलार” र “लू” पढ्दा उनका बारे बनेको व्यक्तित्वले झक्झक्याइरहन्थ्यो र अन्ततः सल्लीपिरमा आफुलाई भिजाउन थाले ।
        शीर्षकको अर्थ अर्थात “भुई+मा झरेका सल्लाका सुकेका पात” । मेरो कल्पनामा थियो त्यो कथा पक्कै पनि प्रकृतिको वर्णन हुनुपर्छ । तर कथामा डुब्दै जाँदा मेरो कल्पनालाई लगाम लगाइदियो र लग्यो त्यो फरक, अकल्पनीय यथार्थको धरातलमा जुन मैले कल्पना पनि गरेको थिइनँ ।
        सल्लीपिर हिमाली क्षेत्रका सीमान्तकृतहरूको कथा हो । हिमाली क्षेत्रमा रहेको गरिबी, त्यहाँको भौगोलिक कठिनाई एवं त्यहाँका समस्याहरूलाई बडो मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् उपन्यासकार पाण्डेले । उपन्यासको कथामा प्रवेश गर्दा २ बालक पेमा र कर्माको बाल्यमित्रताबाट सुरु हुन्छ । पेमाका वुवाको कितावप्रतिको मोह र त्यसले निम्त्याएको घर कलहको मार्मिक चित्रण गरेका छन् । पेमाको दावासँगको बिहे, जीविकोपार्जनका निम्ति तिनीहरूको दैनन्दिनको सङ्घर्ष, हिमाल यात्राहरू, पढ्ने व्यग्र चाहना, त्यही मात्सल्य एवं पढाइप्रतिको विश्वासले काठमाडौँ सम्मको कठिन यात्रा र काठमाडौँदेखि फर्किदाको संघर्ष, यिनै यिनै कथावस्तुमा रुमल्लिएको छ सल्लीपिर ।
        उपन्यासको पहिलो चित्रित कुरा हो, त्यहाँका जनताको संघर्षपूर्ण जीवनी । हाम्रो काँचो मगजमा हिमाल भन्ने बित्तिकै उज्यालो कान्तिको प्रतिविम्ब सृजना हुन्छ, हिमालका मान्छेका सुखपूर्ण जीवन, सगरमाथा आरोहीका रोमाञ्चक कथाहरूमै रुमल्लिन्छौँ तर यथार्थमा त्यहाँको कष्ट हामीले कहिल्यै नबुझेका रहेछौँ । सदाकालको हिउँमय जीवन, भौगोलिक कठिनाई, अन्नपात, नुन, सरसामानको अभाव, यी सबै त्यहाँका सधैँका अफ्ठ्यारा हुन् । उनीहरूको जीवनको सहारा त केवल चौरीले गरेको छ, जसबिना त्यहाँको जीवनको कल्पना निकै ओजपूर्ण हुन्छ । तिब्बत जाने क्रममा जब दावा र उसका साथीहरू हिमपहिरोमा फस्छन्, एउटा साथीले भन्छ, “पहिला चौरी बचाऊ । अनि आफू बाँच । हिमालका तिमी जस्ता गरिब मान्छे भन्दा चौरी महत्पूर्ण हो । यी चौरी होइनन्, हाम्रा जीवन हुन् । हामी गरिब शेर्पा बाँच्ने आधार हुन् ।” यो उनीहरूको १–२ दिनको दैनिकी होइन, यो तिनीहरूको युगको कथा हो । जीवनमा धेरैपटक जमीनमा छँरिदै, पोखिदै र फेरि उठ्दै गरेका गोठाला हुन् उनीहरू । उपन्यासकारले मन दुखाउने किसिमले बोलेका छन्, त्यहाँका दुःखका लवजहरू । खुम्बुबासीहरू आफुलाई पशुसँग समेत तुलना गर्न पछि पर्दैनन् । भन्छन्, “हामी कहिले पो मान्छे भएका थियौँ र ? हामी त सिङ र पुच्छर नभएको पशु नै त हौँ नि ।” तथापि खुम्बुबासीहरू निडर छन् । उनीहरूमा भविष्यप्रति आशा भने जीवितै छ । उनीहरूका लागि अब दुःख, दुःख रहँदैन । उनीहरू भन्छन्, “हाम्रा आँसु हिउँका डल्ला भए पनि हाम्रा सन्तानले ती डल्लाहरू फोड्लान् नि ।”
        पेमाले आफू सानो हुँदा आफ्नो बुवा छिरिङलाई कथा सुनाउन भन्थिन् तर बुवाका कथाहरू जहिल्यै दुःखका हुन्थे । पेमा निराश भएर सोध्थिन्, “पालु(बुवा) यति दुःखी कथा किन सुनाएको मलाई ? तिमीले पढ्ने किताबमा के सुखको एउटा पनि कथा थिएन ?” वास्तवमा सुखका कथा भन्नका लागि त सुखको अनुभव बटुलेको हुनुपर्ने तर उनीहरूको जिन्दगीले सँधै दुःखको झोलामात्र
भि
¥यो, अनि बिचरा कहाँबाट भनोस् त सुखका कथाहरू ।

सल्लीपिरमा भिज्दै पाठक
        अर्को प्रसङ्ग यस उपन्यासले जोडेको महिला पात्र पेमालाई यस कथाको मुख्य पात्र बनाएर हो । दुःखलाई सजिलैसँग आत्मसात गर्ने, आफ्नो परिवार र कामप्रतिको उनको लगाव र जस्तोसुकै कठिन परिस्थितिमा पनि हिम्मत नहार्ने साहसी पेमाको संघर्षलाई बडो रोमाञ्चकारी ढङ्गले दर्शाएका छन् उपन्यासकारले । पेमाले किताबलाई तर्साउने भूतको संज्ञा दिन्थी, किनभन्दा उनकी आमाले उनलाई त्यसै सिकाउँदै आइरहेकी थिइन् । तर जब बिस्तारै उनले किताबको महत्व बुझिन्, छोरालाई जसरी पनि किताब सिकाउनुपर्छ भन्ने हेतुले र छोराको किताबप्रतिको मोहको तलतल मेट्न काठमाडौँसम्मको संघर्षपूर्ण यात्रा गर्छिन् ।
        कथानकको अर्को पाटो हो राजनीतिको फोहोरी खेल, त्यहाँका गरिब जनता माथिको उपेक्षा र उनीहरूकै नाममा भएको राजनीति । नेताहरू भोट माग्न मात्र त्यहाँका जनताको उठीबास लगाएरै भएपनि प्रयोग गर्ने तर चुनाव जितिसकेपछि चिन्दै नचिन्ने परम्परा ।
        सल्लीपिरले माओवादी जनयुद्दको सेरोफेरो पनि छोएको छ । सल्लीपीर पेमा र दावाको कथामा रुमल्लिरहदा माओवादी द्वन्दकाल चलायमान नै हुन्छ र त्यही सरकार पक्ष र माओवादी पक्षको भीडन्तले गरिब जनतामा पारेको असरको खुलेरै चित्रण गरेका छन् ।
        उपन्यासकार नयनराज पाण्डेले एउटा कुशल चित्रकारले झै चौरीखर्कको, सगरमाथा हिमक्षेत्रको कथा दुरुस्तझैँ उतारेका छन् । यस उपन्यासको अर्को सबल पक्ष भनेको त्यही खुम्बुक्षेत्रका रैतीहरूको जनजीविका, तिनीहरूको चालचालन, संस्कार, संस्कृतिमा भिजेर लेख्नु हो । लाग्छ उपन्यासकार नयनराज पाण्डे नभएर नयन शेर्पा हुन् र उनले आफूले जन्मदेखि भोग्दै आएका जीवनीलाई सजीव कथामा उतारेका छन् र यस उपन्यास मार्फत उनले चिनाएका छन् सबैलाई शेर्पा संस्कृति । उनी लेख्छन्, “हरेक घरमा भेटिन्थे झ्याली र डम्फूजस्ता बाजा, भेटिन्थे स्याब्रु नाचका निम्ति जतन गरेर राखिएका बक्खु, स्यमु, सिमला, हङ्जु र छ्याप्पा रेजी जस्ता रङ्गीन पोसाक र गहना ।” बडो सुन्दर ढंगले प्रस्तुत गरेका छन् यी संस्कार र संस्कृतिहरू ।
        अन्तमा भन्नुपर्दा, “सल्लीपिर” हिमाली र खुम्बुक्षेत्रका सल्लीपिरमा लडिबुडी खेल्दै हुर्केका वासीहरूको कथानक हो । एकातिर उपन्यासकारले “दरिद्राणां मनांसि उत्पधन्ते विलियन्ते च” को अर्थलाई यस कथामा स्पष्ट्याएका छन्, अर्थात “पानीमा उठेका थोपाहरू एकछिन् उठेर बिलाएझैँ गरिबका इच्छाहरू पनि बिलाएरै जान्छन्, तिनका सपनाहरू कहिल्यै पुरा हुँदैनन्” र त्यही अर्थलाई आफ्ना पात्रहरूमा झल्काएका छन् ।
        पाण्डेले आफ्नो अघिल्लो उपन्यास “लू” मा तराईको नेपालगञ्जको सेरोफेरोमा सीमामा बस्ने नेपालीहरूका समस्या इंकित गरेका थिए भने अहिले सल्लीपिरमा उनी हिमाल उक्लेका छन् र सजीव उतारेका छन् हिमालवासीहरूका समस्या र साथै उठाएका छन् हामीमाझ गौण रहेका चीनसँगका सीमा समस्याका कुरा समेत । यस अर्थमा पनि यस उपन्यासको सार्थकता झल्किन्छ ।
        सल्लीपिरमा उपन्यासकार पाण्डेले कथाहरु बुनेका छन् आफ्नै लयमा, ढंगमा र मिठासपूर्ण शब्दमा । ठाउँठाउँमा रहेका लयपूर्ण मनछुने कविताले उपन्यासको शोभा झङ्ग्याएका छन् । यद्दपि, उपन्यासकारले प्रयोग गरेका अधिक अलंकारले भने कथा पढ्दा कुनैबेला यथार्थ र कल्पनाको सीमारेखा छुट्याउन गाह्रो पर्छ । यसबाहेक किताबमा कुनै खोट देखाउन सकिनँ, खोट देखाउन सकिने ठाउँ देखिदैन ।
        “कहिले खस्ला हे खुम्बुका देवता, त्यस्तै एउटा प्वाँख, हामी गरिबहरूको बस्तीमा....” । यसरी आफ्नो उपन्यासको श्रीगणेश गरेका पाण्डे अन्ततः उपन्यासको इतिश्री पनि त्यही खुम्बुका देवताहरूलाई नै सम्झिदै गरेका छन् ।

        अन्तिममा भन्नुपर्दा, सरल, सरस, मीठासपूर्ण, कारुणिक यथार्थ गाथाले भरिपूर्ण सल्लीपिर एक सशक्त लेखकको सशक्त प्रतिबिम्ब हो । यो कथानक जहाँसुकै रहेका सीमान्तकृतहरूको समान दुःखको कथा, सामाजिक सहिष्णुता, एवं साहसपूर्ण संघर्षको गाथा हो । यस उपन्यासको रसोस्वादन बिना हरेक पाठकको जिजीविषाको प्रेरणा अपुरो नै रहनेछ ।

Friday, October 28, 2016

म, तिमी र समय


समयले माग्यो
मेरो कौतुहलता
मैले मागे तिम्रो समय
तिमीले भविष्यका लागि साँच्यौ ।


समय त्यही न हो
जसको म प्रतीक्षा गरिरहेछु
समय उही त हो 
जसको तिमीले सदुपयोग गरिरहेछौ ।



तिम्रो सुनौलो वर्तमानमा
समयकै त हात छ
जसरी मेरो अप्रत्याशीत आगतमा
समयकै लगाम छ ।
थाहा छ, तिमीले कल्पेको स्वप्नमा
समय रमाइरहेछ 
र रमाइरहेछाै तिमी सँगसँगै 
तर ऊ बेखबर छ, आफ्नो पावन्दीको ।
ऊ तौलिरहन्छ तिमी र मलाई
एउटै तराजुमा
यही सोच्दै, कि तिम्रो र मेरो अस्तित्व 
एउटै हो भनेर ।
समय त्यत्तिकै बलवान् रहेनछ ।।।

Monday, October 24, 2016

मैले कविता किन लेखेँ


मेरा कविता
तिमी पढ्नू भनेर लेख्छु
आफ्ना मनका अन्तरकुन्तर खोल्छु
आफूलाई पखाल्छु
यो सन्देश तिमीलाई पुर्याउन ।
मसँग बोल्ने शब्दहरू छैनन्
नत बोल्ने विषयहरू नै छन्
ती सबै विषयहरू
जहाँ म मेरा खुसीहरू लत्पतिएको देख्थेँ
ती सबैले उत्तर पाइसकेका छन्
स्वयम् बाट ।

मनमा असिमित पीडाहरू छन्
अनगिन्ती शब्दहरू छन्
कयन् भावहरू छन्
श्रेयस्कर स्मृतिहरू छन्
तर मेरो बोली फुट्दैन
म निःशब्द हुन्छु ।
पहिले, जब म बोल्थेँ
मेरो मगजले प्रसोधन गर्थ्यो
र मुखबाट प्रसारण गर्थ्यो
अहिले, मेरो मुटु प्रसोधन गर्न थालेको छ
र आँखाबाट प्रसारण गर्छ ।
आशा छ, तिम्रो प्रतीक्षा मात्र
मेरो कविता नहोस्
मेरो कविता मात्र
तिम्रो जीवनी नहोस्
समयले डोर्‍याउने दिनहरूमा
मैले मेरो उत्तर पाउनेछु
जब तिमीले कविताको अर्थ बुझ्नेछौ
तब मेरो थकित मगजले
चैनको सास फेर्नेछ
र मेरा खुसीहरू दोहोरिनेछन्
मेरो बोलीले गति लिनेछ ।
नेपथ्यमा तिमीले सधैँ
आफूलाई प्रश्न गरिरहनेछौँ
हरेक जिन्दगीको पात्र म नै किन भनेर ?

(यस कविताका पात्रहरू काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ )

Sunday, September 25, 2016

तिम्रो प्रतीक्षा


मलाई थाहा छ तिम्रो बाध्यता
तिमी भित्र गुम्सिएका  कुन्तरकान्तर
हर आवेश, हर भावभङ्गी, हर मनोभावहरू
यी सबै सबै थाहा छ
र त चित्त बुझाइरहेछु
अग्राख पलाउने प्रतीक्षामा ।

थाह छ, जलाधारबाट उम्रेका बाफहरूको तछाडमछाड
त्यसैले त कहिले,
गर्जिन्छ बादल बनेर
कहिले धरधरी रून्छ पानी बनेर
र अन्ततः रङ्गीन इन्द्रेणी बर्साइछाड्छ ।
हो त्यही इन्द्रेणीको कल्पनामा
कहिले मेरा सपनाहरू रून्छन्
कहिले सम्झनाहरू गिज्याउछन्
कहिले आँसुका भेल कालजयी भैदिन्छन्
र पनि म सम्हालिन्छु
त्यही घमाइलो दिन सम्झेर ।
मलाई थाहा छ राम्ररी
तिम्रा समस्याका बेलिविस्तार
तिम्रा मनमा पलाएका हरेक टुसाहरू
सम्बन्धका जालझेलमा अड्केका
तिम्रा वायूपङ्खी दुविधाहरू
र त चुप छु म
दीयो बल्ने प्रतीक्षामा
सपनाका चाङलाई साक्षी राखेर
सम्झनाको दलीनमा सुइरा रोपेर
र उडिरहेछु
बाध्यतामा बाँधिएको मुक्ताकाशमा
तिम्रो आगमनको प्रतीक्षा गरेर ।।