Sunday, April 1, 2018

धन्यवाद



जीवनका स्वप्नील गोरेटाहरूमा
तिम्रो आशले बाँचेका
हरेक फाल्साहरू सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

विचलनको दूरतामा अल्झिरहँदा
तिम्रो मीठास र मन्दमुस्कानले
सोझ्याएको तङ्ग्रन शरीर सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

हरेक चाड, पर्व र दिनहरूमा
सफलताका अनेकल बीजहरूमा
तिमीले दिएका बधाई र शुभकामनाका सन्देश सम्झिँदा
म धन्य हुन्छु तिमीप्रति ।

प्यारी तिमी
तिम्रो मौनता र लज्जाले दिएका
हरेक बहारका निम्ति धन्यवाद
जसकै भर परेर
मैँले आफ्नो सृजना तिखार्न सिकेँ
र यी कविता लेख्न सकेँ ।
त्यसैले धन्यवाद तिमीलाई
जसकै कारण
आज म कवि भएको छु ।

लज्जा


जिन्दगीको मोलतोलसँगै
जन्मिएको तिम्रो लजालुपन
खै किन बाधक छ
तिम्रै जिन्दगीको इन्द्रेणीका निम्ति ?
तिम्रै लजालुपनको दोबाटोमा
कि समाजको भय छ
कि तिम्रो मनको कसिङ्गर लज्जा छ ?
नत्र जिन्दगीको निस्सारतामा
किन रम्थ्यो होला र तिम्रो पाइला ?
नत्र जिन्दगीको कुटिलतामा
किन अडिन्थ्यो होला तिम्रो सास ?
यदि सीता लजाएकी भए
के उठाउन सक्थिन् त पिनाक धनुष ?
यदि पार्वती लजाएकी भए
के निस्किन्थ्यो र स्वस्थानी व्रतकथाको गौरवरूप ?
वा तिमी द्रौपतीको लज्जाबाट निस्किएको
भीमको प्रतिज्ञाको प्रतीक्षामा छौ ?
वा कुनै नयाँ प्रयोग हो जिन्दगीको
तिम्रो आफ्नै दिलग्गीको ?

प्यारी तिमी
'लज्जाचेत किमुभूषणै' भनेझैं
तिम्रो लज्जा साँच्चै तिम्रो भूषण हो कि
तिम्रो देखावटी अस्थिपञ्जरको प्रयोग ?
म रनभुल्लमा छु ।

तिम्रो माैनता



यात्राका अनर्गल चौघेराहरूमा
मैले नरोजिएको बाटो रोजेँ
र आज फरकपन भेट्दैछु ।
तिम्रो शालीनतामा
म मेरो यथेष्ट खुसी देख्छु ।
तिम्रा हरेक पदचापहरूमा
म मेरो सजीव आत्मा देख्छु ।
तिम्रा हरेक मन्दहाँसमा
म मेरा अप्रस्फुटित वाक्यहरू भेट्छु ।
तिम्रो सान्निध्यतामा
म मेरो साकारता भेट्छु ।
तिम्रो भलाद्मीपनामा
म मेरो निर्दोषपन भेट्छु ।
तिम्रा हरेक सोचाइहरूमा
म मेरो विश्वास भेट्छु ।
तिमीले रोजेका हरेक बाटाहरूमा
म मेरो सन्तुष्टि भेट्छु ।



तर तिमी मौन छौ
आफ्नै जिन्दगीका पाटाहरूसँग
जसरी मौन छ आकाश
क्षितिजका नागबेली प्रश्नहरूसँग ।
तर तिमी लजालु छौ
आफ्नै भविष्यका तरङ्गहरूसँग
जसरी लजालु छ लज्जावती
आफ्नै बगानका गुलाफहरूसँग ।
तर तिमी शान्त छौ
आफ्नै प्रगतिचापहरूसँग
जसरी शान्त छन् हिमालहरू
आफ्नै वीरगाथाहरूसँग ।

प्यारी तिमी
तिम्रो जिन्दगीको रौनकतामा
म मेरो आत्मविश्वास भेट्छु
म मेरो भविष्य भेट्छु
म मेरो खुसी र सफलता भेट्छु ।
त्यसैले त
तिम्रो जिन्दगीको निस्सारतामा
एउटा निस्तार लिएर आएको छु
के तिमी अझै मौन रहिरहन्छौ ?

गाह्रो



आजीवन जीवन जिउनुको गाह्रो
गएर सोध अश्वत्थमालाई
अनि बुन्ने छौँ आफ्ना रङ्गीन सपनाका इन्द्रेणी
अश्वत्थामालाई साक्षी राखेर ।

जीवन सृजनाको गाह्रो
प्रसव पीडामा थलिएकी आमालाई सोध
अनि बुझ्ने छौ मात्सल्य र त्यसले स्थापित गरेका
प्रेमका विनियमहरूलाई ।

दुई छाक टार्न जिन्दगी बन्धकी राखेर
एकसरो लुगाले लाज टालिरहेका
तन्नम रैतीलाई सोध
दारूण जिन्दगीको गाह्रो ।

समर्पण र त्यागको निष्ठाले
देशको इमान बचाएका सत्याग्रहीलाई सोध
नैतिकताको कलेवरसँग जोडिएको
जीवन सङ्घर्षको गाह्रो ।

यायावर जिन्दगीको पेचिलो सङ्घर्ष
प्रेमवासनाको मिहिन सङ्घर्ष
द्विविधाका अप्रस्फुटित वाक्यहरूको सङ्घर्ष
रोगीका निरोगिताका भावानुवित सङ्घर्ष
यी सबैसबै हुन् पर्यायवाची
कुटिल समयका
जसले गाह्रो जिन्दगीलाई अमूर्त बनाएका झन् ।


विवशता




धानबारीमा लहलह झुलेका बोटहरू हेर्दा
अगेनामा हरदम बलिराख्ने आगो देख्दा
अनि आकाशमाथि देखिने असीमित क्षितिज नियाल्दा
ऊ पनि बन्न खोज्छ तिमीजस्तै
तिम्रै हरदम
जो हरेकका जीवनको प्रेमगीत बनोस्
जो हरेकका जिजीविषाको भागिदार बनोस्
जो हरेकका खुसीहरूको कारण बनोस्
त्यसैले त उसका आफ्ना इच्छा छैनन्
त्यसैले त उसका आफ्ना आवश्यकता छैनन्
त्यसैले त उसका आफ्ना क्रिडाहरू छैनन्
तर अफसोच
ऊ निहत्था हुन्छ
अरूका निम्ति आदर्शको पगरी गुथ्छ
लटरपटर गर्ने एक हचुवा बन्छ
र समयको बोझ हुन्छ ।

जीन्दगीको क्यान्भासमा
समयसँगै उभिएको एक अस्थिपन्जर हो ऊ
जो सँग छ समाजको ऐना
जसले देख्छ समस्याको आँखीझ्याल
र निमिट्याउन खोज्छ हर लगामहरू
तर्सिन्छन् मान्छे
उसको रूपण देखेर
तर आफ्नै मनको दलनमा जलिरहन्छन्
अगेनामा जलेको आगोजस्तै ।

समयको रूपरेखामा
रमेश क्षितिजको कविताजस्तै
के शिखर चढ्नु मात्रै हो र जीवनको सफलता
वा शिखर उत्रिन जान्नु पनि हो सफलता ।

म किमंकर्तव्यविमूढ छु
आफैँसँग
उसको सन्ताप सम्झेर
अनि अठ्ठहाँस हाँस्न मन लाग्छ आफैँसँग
आफ्नो विवशता देखेर ।


मःमः



जीन्दगीका सजीव पाटाहरूलाई उकास्दै
मनका आदिम सभ्यतालाई मात खुवाउँदै
बनाइरहेछन् हरेक नश्वरलाई प्राकृतिक मःमः
जसरी बनाइन्छ चोकको पसलमा
चिकेन मःमः ।
अग्ला मान्छेहरूको प्रहसनजस्तो
निहत्था रैतीहरू सुप भइरहेछन्
चिकेन मःमः सँगै रसाएर खाएको सुप जस्तै ।

जिन्दगीका विनियमहरू
केवल छन् त मःमःका किमा जस्ता
जसरी अनेक किमामाथि
थपिन्छ नयाँ पत्र
आफ्नै आफ्नै किसिमको
रङ्गीविरङ्गी
त्यस्तै त छन् मान्छेका लेपनहरू
मगजका थुप्राहरू सुकिसक्दा पनि
शरिरका दोपट्टाहरू सजाइरहन्छन् ।
जेहोस् मान्छे चिनारी बनोस्
आफ्नै देश र सभ्यताको
आफ्नै कौशल र सौर्यको
जसरी थेगिदिएकै छ जुनीभरि
यही आदिम मःमः ले देशको चिनारी ।

देशद्रोही



मकालुको माथ बोकेर
चुरेको सिञ्चित बगरको
तिरैतिरको मेरो धरान
जहाँ साकेला र उधौँलीको
स्वर्णिमता महसुस गर्छु ।

जब नाङ्चुङहरू डोर्याउछन्
ढोल, झ्याम्टा, धनुर्बाणहरू
अनि पुजिन्छन्
कुखुराका फिलाहरू
सिल्ली नृत्यमा रम्दाको माझ
रम्य हुन्छ त्यो साँझ
त्यहाँ म धरान सम्झिन्छु र मग्न हुन्छु ।

रिपु मल्लको शहरदेखि आएको
पश्चिमे भ्रमर
बुद्धिकर्णको आत्माघरसँग
साइनो बढाउन खोज्छु
र विजयपुरको ऋतम्भरा जोगाउन खोज्छु
राई, लिम्बू र किरात संस्कृतिहरूमा
चण्डी पढ्ने सौख राख्छु ।

म धान नाच्दा, गौरा खेलको लय मिसाउन खोज्छु
अनि लान्छु, सुदूरको पूर्वीय भाका
सुदूरको पश्चिममा
जहाँ देउडाका बीचमा
पालमका हरफ भट्याउँछु
रिपु मल्ल र भीमदत्तका गाथाहरूका बीचमा
बुद्धिकर्णका बहादुरीका कथा गुन्छु ।

म जान्छु पाथीभराको यात्रामा
बिसौनीहरूमा सम्झिन्छु यार्सा गुम्बा टिप्दाका क्षणहरू
म खप्तड पुग्छु एकान्तबासमा
सम्झिन्छु हलेसी पुज्दाका पलहरू ।

तर अफसोच,
हाम्रा भावनाहरूमा फाँटो ल्याउँदै
राज्य मलाई दोहन गर्ने सोचिरहन्छ
पाइतालामूनिको कठपुतली बनाउने छद्म रच्छ
रैतीका जिजीविषा छोट्याउन खोज्छ
चुला चौका र मझेरीहरू निभाउन खोज्छ
सहअस्तित्वको राग मेटाउन खोज्छ ।


बक्खु र स्यमु भिरेर
“लौ नु दया भिन्तुना” भन्दै राजधानी छिर्न खोज्दा
मेरो अस्तित्वको प्रमाणपत्र खोजिन्छ
कुर्ता र धोतीमा सजिएर
चोमोलोङ्मा छिचोल्न पुग्दा
मेरो नागरिकताको नम्बर मागिन्छ ।

म सोच्छु मौनतामा र झस्किन्छु
हाम्रो सहिष्णुताको आकाशमा बसेर
कही कतै डढेलो लगाउने त होइन ?
शहीदको सालिकको काँधमा बसेर
परेवाले मेरो मृत्युको खबर सुनाउने त होइन ?
मेरो सद्भावको सुकिलो झण्डा
मेरो लासको कात्रो बनाइने त होइन ?
हुलाकीले पुलिन्दामा लगाएको लाहाछापजस्तै
देशद्रोहीको संगीन ट्याग भिराउने त होइन ?